काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फका सबै नतिजा सार्वजनिक भइसकेका भए पनि समानुपातिकतर्फको मतगणनाले देशको राजनीतिक समीकरणलाई अझ रोचक बनाइरहेको छ। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिक मतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब ५० लाख मत प्राप्त गर्दै अन्य स्थापित दलहरूलाई निकै पछाडि पारेको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म कुल १ करोड ३ लाख ९६ हजार २७३ मत गणना भइसकेको छ। यसमध्ये रास्वपाले ४९ लाख ८७ हजार ७०७ मत प्राप्त गरेको छ। यो मत दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस को भन्दा झन्डै तेब्बर बढी हो।
प्रत्यक्षतर्फ ऐतिहासिक १२५ सिट जितेको रास्वपाले समानुपातिकको यो नतिजाका आधारमा थप ५८ सिट प्राप्त गर्ने सम्भावना देखिएको छ। यससँगै रास्वपा प्रतिनिधिसभामा दुई–तिहाइ बहुमत नजिक पुग्ने अवस्था देखिएको छ।
प्रत्यक्षतर्फ १८ सिटमा सीमित भएको नेपाली कांग्रेस समानुपातिकतर्फ पनि दोस्रो स्थानमै देखिएको छ। कांग्रेसले हालसम्म १६ लाख ९१ हजार ०७६ मत प्राप्त गरेको छ, जसका आधारमा उसले समानुपातिकबाट थप १९ सिट पाउने अनुमान गरिएको छ।
त्यस्तै, प्रत्यक्षमा ९ सिट जितेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समानुपातिकतर्फ १४ लाख ०७ हजार ९२३ मत प्राप्त गरेको छ। हालसम्मको ट्रेण्डअनुसार एमालेले समानुपातिकबाट थप १६ सिट हासिल गर्ने देखिएको छ।
यसपटकको निर्वाचनमा नयाँ दलहरूको उदय प्रमुख विशेषता बनेको छ। स्थापनाको छोटो समयमै प्रत्यक्षमा ३ सिट जितेको श्रम संस्कृति पार्टी ले समानुपातिकतर्फ ३ लाख ५५ हजार ७३७ मत प्राप्त गर्दै राष्ट्रिय पार्टीको मान्यता सुरक्षित गरेको छ। उक्त मतका आधारमा पार्टीले थप ४ सिट प्राप्त गर्ने सम्भावना रहेको छ।
अन्य दलहरूको मत विवरण पनि सार्वजनिक भएको छ। नेपाली कम्युनिस्ट पार्टी ले ७ लाख ६६ हजार ३९२ मत प्राप्त गर्दै थप ९ सिट पाउने सम्भावना देखिएको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २४ हजार ०५१ मत प्राप्त गरेको छ, जसका आधारमा उसले थप ४ सिट पाउन सक्ने देखिएको छ।
यसैगरी जनता समाजवादी पार्टी, नेपाल ले १ लाख ७० हजार ८९० मत, राष्ट्रिय परिवर्तन पार्टी ले १ लाख ६६ हजार ३३५ मत तथा जनमत पार्टी ले ७६ हजार १५१ मत प्राप्त गरेका छन्।
हालसम्मको मतगणनाअनुसार रास्वपा, कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाले ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ पार गर्दै राष्ट्रिय पार्टीको हैसियत सुरक्षित गरेका छन्। मतगणना अन्तिम चरणतर्फ बढ्दै गर्दा नयाँ दलहरूको सशक्त उपस्थितिले नेपालको संसदीय राजनीतिमा शक्ति सन्तुलन पूर्ण रूपमा फेरिने संकेत देखिएको छ।