Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्याग्दीको निर्वाचनमा नयाँ राजनीतिक भाष्य : विदेशमा रहेका सन्तानको आग्रहमा अभिभावकले बदले मत, स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २९ २०८२
  • 1.3K
    SHARES

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीले नेपाली राजनीतिमा एउटा नयाँ र रोचक भाष्य प्रस्तुत गरेको छ। अभिभावकको निर्देशनमा चल्ने सन्तानहरूले नै यसपटक आफ्ना अभिभावकको सोच परिवर्तन गराउँदै पुराना राजनीतिक दलका उम्मेदवारलाई पराजित गरी स्वतन्त्र उम्मेदवार महावीर पुनलाई विजयी गराउन महत्वपूर्ण भूमिका खेलेका छन्।

लाहुरेहरूको जिल्ला भनेर चिनिने म्याग्दीका धेरैजसो युवा अध्ययन, रोजगारी तथा व्यवसायका लागि विदेशमा छन्। तिनै विदेशमा रहेका युवाहरूले यसपटक गाउँमा रहेका आफ्ना अभिभावकलाई पुराना दलहरूबाट मत परिवर्तन गर्न आग्रह गरेपछि चुनावी परिणाममा ठूलो परिवर्तन आएको देखिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिई गत माघ ६ गते म्याग्दी पुगेर स्वतन्त्र उम्मेदवारी दिएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन स्वतन्त्र उम्मेदवारका रूपमा विजयी हुने देशकै एक्ला उम्मेदवार बनेका छन्।

नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमका अनुसार पुनको विजयमा उनको व्यक्तित्व, क्षमता र प्रचार शैली मात्र होइन, देश–विदेशमा रहेका म्याग्देली सन्तानहरूको भूमिका पनि महत्वपूर्ण रहेको छ।
उनले भने, “विदेशमा रहेका सन्तानहरूले अभिभावकसँग एकपटक आफ्ना कुरा सुन्न आग्रह गरे। वर्षौँदेखि जुन पार्टीलाई भोट दिँदै आउनुभएको छ, यसपटक त्यो मत महावीर पुनलाई दिनुहोस् भनेर अनुरोध गरेपछि धेरै अभिभावकले कांग्रेस, एमाले र नेकपालाई दिँदै आएको मत परिवर्तन गरेर पुनलाई दिएका हुन्।”

यो भनाइसँग बुद्धिजीवी तथा राजनीतिक समीक्षक राजु केसी पनि सहमत छन्। माउन्ट एभरेष्ट माध्यमिक विद्यालयका प्राचार्यसमेत रहेका केसीका अनुसार सधैँ अभिभावकको कुरा सुन्ने सन्तानहरू यसपटक भने आफ्ना अभिभावकको सोच परिवर्तन गराउन सफल भए।

उनले भने, “विदेशमा रहेका युवाको बढ्दो चेतना, देशको अवस्था र राजनीतिक दलका नेताहरूको गतिविधिप्रति बढ्दो निराशा नै मत परिवर्तनको मुख्य कारण बन्यो। युवाहरूले आफ्नो अनुभव र दृष्टिकोण अभिभावकलाई बुझाउन सके र अभिभावकले पनि त्यसलाई स्वीकार गरे।”

जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोबाका ७१ वर्षीय झकबहादुर गर्बुजाले पनि विदेशमा रहेका आफ्ना छोराको आग्रहपछि यसपटक मत परिवर्तन गरेको बताए।
उनले भने, “वर्षौँदेखि एउटै पार्टीलाई भोट दिनुभयो, के पाउनुभयो र? तपाईंहरू गाउँमा दुःख गर्ने, हामी विदेशमा रातदिन काम गर्ने अवस्था बदलिएको छैन। यसपटक भोट परिवर्तन गर्नुहोस् बुबा,” भन्ने छोराको भनाइले आफ्नो मन छोएपछि उनले महावीर पुनलाई भोट दिएको बताए।

राजनीतिक दल र नेताहरूप्रतिको निराशा तथा सन्तानहरूको आग्रहका कारण यसपटक म्याग्देली मतदाताले स्वतन्त्र उम्मेदवारलाई भारी मतले विजयी गराएका हुन्। प्रतिनिधिसभाका लागि एउटै निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुन १४ हजार ९३१ मतान्तरसहित विजयी भएका हुन्।

मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाका अनुसार पुनले २२ हजार ८५० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत पाएका छन्। त्यसैगरी नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी) ले ६ हजार ६७३ मत र नेकपाका अर्जुन थापाले ३ हजार ५३० मत प्राप्त गरेका छन्।

म्याग्दीमा स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। जिल्लामा ८६ हजार ३९७ मतदाता रहेकामा ४६ हजार २१५ मत खसेको थियो।

दलहरूको पकड क्षेत्रमै खुम्चियो मत

यसपटकको निर्वाचनमा कांग्रेस, एमाले र नेकपाले आफ्नो बलियो पकड रहेको दाबी गरेका क्षेत्रबाट समेत अपेक्षित मत नआएपछि ती दलहरू चिन्तित बनेका छन्।
धवलागिरि गाउँपालिकाको लुलाङ, मुदी, मराङ, ताकम तथा मङ्गला र अन्नपूर्ण गाउँपालिका एमालेको बलियो क्षेत्र मानिन्थ्यो। तर यसपटक लुलाङ बाहेकका अधिकांश वडामा एमाले कमजोर देखियो।

नेपाली कांग्रेसले मल्कवाङमा बढी मत ल्याए पनि अन्य वडामा खुम्चिएको देखिएको छ। जिल्लाभर प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता लिए भने समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धेरै वडामा अग्रता हासिल गरेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यसपटक स्वतन्त्र उम्मेदवार महावीर पुनको लोकप्रियता र रास्वपाको प्रभावले परम्परागत दलहरूको मतमा ठूलो गिरावट आएको देखिन्छ।

म्याग्दी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापाका अनुसार, “यसपटक स्वतन्त्रलाई प्रत्यक्षमा र रास्वपालाई समानुपातिकमा मत दिने प्रवृत्ति देखियो। अब दलहरूले पुरानै मतदातालाई फर्काउन निकै मेहनत गर्नुपर्नेछ।”

राजनीतिक समीक्षक यादव रिजालका अनुसार स्थानीय तहमा रहेका जनप्रतिनिधिले मतदातालाई विश्वास दिलाउन नसक्दा दलका उम्मेदवारले अपेक्षित मत प्राप्त गर्न सकेनन्।

आफ्नै कामले पहिचान बनाएका महावीर पुन

म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिई अत्यधिक मतले विजयी भएका महावीर पुन वैज्ञानिक, अनुसन्धानकर्ता तथा समाजसेवीका रूपमा परिचित छन्।
२०११ माघ ५ गते म्याग्दीको नागी गाउँमा जन्मिएका पुनले २०१२ मा सूचना प्रविधिमार्फत देश विकासका सम्भावनाको खोज र आविष्कार गर्ने उद्देश्यले “राष्ट्रिय आविष्कार केन्द्र” स्थापना गरेका थिए।

हाल चितवनमा बस्दै आएका ७१ वर्षीय पुनले सन् १९८९ मा नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर गरेका हुन्। उनले ग्रामीण क्षेत्रमा सूचना प्रविधिको विकास र विस्तारमा उल्लेखनीय योगदान दिएका छन्।

२०५८ देखि २०६४ सालको अवधिमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विद्यालयहरूमा कम्प्युटर शिक्षा सुरु गर्नुका साथै ताररहित इन्टरनेट सेवा विस्तार गरेर उनले विश्वकै ध्यानाकर्षण गराएका थिए।

ग्रामीण क्षेत्रमा सूचना प्रविधि विकासमा पुर्‍याएको योगदानका लागि उनले सन् २००७ मा एसियाको प्रतिष्ठित म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए। साथै उनले अशोका फेलोसिप, इन्टरनेट हल अफ फेम लगायतका सम्मान प्राप्त गर्नुका साथै नेपाल सरकारबाट गोरखा दक्षिण बाहु तथा गण्डकी प्रदेश सरकारबाट गण्डकी रत्न अवार्ड पनि प्राप्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४