काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीलाई तीव्रता दिँदै विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाइ तथा प्याकिङको काम सम्पन्न भएको जनाएको छ। आयोगका अनुसार निर्वाचन व्यवस्थापनलाई समयमै सम्पन्न गर्न मतपत्र उत्पादन, प्याकिङ तथा ढुवानीको प्रक्रिया तीव्र रूपमा अघि बढाइएको छ।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा र अछाम जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको छ। त्यस्तै बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा र सुनसरी गरी कुल २५ जिल्लाको मतपत्र छपाइ र प्याकिङ कार्य पूरा भएको आयोगले जनाएको छ।
यसैबीच ६० जिल्लाको मतपत्र छपाइ सम्पन्न भए पनि प्याकिङको काम अझै जारी रहेको आयोगले जानकारी दिएको छ। मतपत्र उत्पादनको काम अन्तिम चरणमा पुगेको बताउँदै आयोगले आवश्यक सुरक्षा र गुणस्तर मापदण्ड पालना गरी छपाइ भइरहेको जनाएको छ।
मतपत्र छपाइको सम्पूर्ण काम जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छ। आयोगका अनुसार त्यहाँ प्राविधिक जनशक्ति, सुरक्षा व्यवस्थापन तथा आवश्यक सामग्रीको पर्याप्त व्यवस्था गरिएको छ, जसले निर्वाचन सामग्री समयमै तयार पार्न सहयोग पुर्याएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भने पूर्ण रूपमा सम्पन्न भइसकेको छ। आयोगका अनुसार सो प्रणालीतर्फ कुल दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ, रुजु तथा ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भने दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने लक्ष्य रहेको छ। यही माघ १६ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरिएको थियो। हाल उक्त काम तीव्र गतिमा अघि बढिरहेको आयोगले जनाएको छ।
यसैबीच निर्वाचनसम्बन्धी जनचेतना र अभ्यासका लागि १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जानकारी दिएको छ। नमूना मतपत्रले मतदातालाई मतदान प्रक्रिया बुझ्न सहयोग पुग्ने विश्वास गरिएको छ।
निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन सबै तयारी समयमै सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ। मतपत्र छपाइ, ढुवानी, सुरक्षा व्यवस्थापन तथा मतदान केन्द्र तयारीलगायतका कामलाई प्राथमिकताका साथ अघि बढाइएको आयोगको भनाइ छ।