२५ चैत्र,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले (आज) मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकार पूर्ण तयारीका साथ जुटेको बताएका छन्।
उनले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको उनले बताएका हुन् ।
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
ओलीले कोभिड-१९ कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे चर्चा गरेका थिए।
यस्तो छ प्रधानमन्त्रीले देशवासीका नाममा गरेको सम्बोधन (पूर्णपाठ)
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
आज सिङ्गो मानवजाति कोभिड १९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा रहेका बिमारी सहित १३ लाखभन्दा बढीमा सङ्क्रमण फैलिएको छ । म यस महामारीमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सङ्क्रमितहरु निको भएर घर फर्किन सक्नुहोस् भन्ने कामना गर्दछु । हाम्रो पुस्ताले भोगेको सर्वाधिक गंभीर चुनौतीमध्येको यस महामारी विरुद्ध कठिन लडाइँमा रहेका सबै राष्ट्र र जनसमुदायप्रति नेपाली जनताको तर्फबाट ऐक्यवद्धता व्यक्त गर्दछु ।
नेपाल पनि कोरोना विरुद्धको लडाइँमा होमिएको छ। देशमा सङ्क्रमणको पहिलो केस पहिचान भएदेखि यता तपाई हाम्रो साझा प्रयत्नले संक्रमितहरुको संख्या ९ जनामा मात्र सीमित गर्न सकिएता पनि हामी उच्च जोखिममा छौं।
दुई सातादेखि मुलुक लकडाउनमा छ । यसबाट तपाइँहरुमा पर्न गएको असुविधाप्रति म संवेदनशील छु । दैनन्दिन ज्यालादारी गरेर गुजारा गर्नु पर्ने श्रमिकहरु सर्वाधिक मर्कामा हुनुहुन्छ । धेरै व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गर्नु परेको छ । विद्यार्थीहरुको पढाइ छुटेको छ । जेलमा यन्त्रणापूर्ण वर्षहरु र लामो एकान्तबास बिताएको मैले लामो समय एकान्तबासमा बस्दाको कठिनाइलाई सहजै अनुभूत गर्न सक्छु ।
तर नियन्त्रणका लागि हालसम्म कुनै खोप र उपचारका लागि कुनै औषधि पत्ता नलागेको यस महामारी विरुद्ध लकडाउन अपरिहार्य कदमहो भन्ने तपाइँहरु सबैलाई थाहा छ । लकडाउनकै कारण महामारीलाई फैलिन नदिने हाम्रो प्रयाशमा ठूलो सहयोग पुगेको छ । तर समस्या अझै यथावत छ र थप सावधानी अपनाइएन भने अझ भयावह बन्न सक्ने खतरा पनि छँदैछ । त्यसैले आजबाट थप ८ दिनको लागि लकडाउनको अवधि बढाउन हामी वाध्य भएका छौं । सबै कठिनाइहरु झेलेर यस अभियानमा पूर्ण साथ दिनु हुने तपाइँहरु सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दै बाँकी अवधिका लागि पनि यस्तै धैर्यता र सहयोगका लागि अनुरोध गर्दछु ।
सीमित पूर्वाधार, स्वास्थ्यसामग्री तथा उपकरणका बाबजुद चिकित्सक, स्वास्थ्यकर्मी तथा अग्रीम मोर्चामा संलग्न सबै राष्ट्रसेवकहरुले देखाउनु भएको कर्तव्यपरायणता सराहनीय छ । हाम्रै स्वास्थ्य रक्षाका लागि सुरक्षाकर्मीहरु दिउँसोको चर्को घाम होस् या रातिको अँध्यारो, निरन्तर सेवामा खटिइरहनु भएको छ । मित्र राष्ट्रहरुबाट प्राप्त सद्भाव एवं कतिपय अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाहरुले नेपालले चालेका कदम कतिपय विकसित मुलकको तुलनामा समेत प्रभावकारी रहेको भनेर गरेको विश्लेषणले तपाई हामीलाई यस महामारी बिरुद्ध लड्न थप हौसला मिलेको छ ।
यस्ता सङ्कटका बेला प्रदेश सरकार र स्थानीय तह एवं जनप्रतिनिधिहरुको भूमिका कति प्रभावकारी हुँदो रहेछ भन्ने स्पष्ट देखिएको छ । म आ–आफ्नो तहमा सङ्क्रमण फैलिन नदिन र विपन्न परिवारहरुलाई राहत पुर्याउन अहोरात्र खटिरहनु भएका जनप्रतिनिधिहरुप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु । यस क्रममा स्थानीय समुदायहरु र सामाजिक सङ्घसंस्थाहरुको क्रियाशीलता पनि उल्लेखनीय रहेको छ ।
बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा सरेको संक्रमण ९लोकल लेभल स्प्रेड० एकजनामा देखिएसँगै हामी महामारीको दोस्रो चरणमा प्रवेश गरेका छौं । यसले थप सजगता र सावधानीको माग गरेको छ । महामारीका विरुद्ध सरकारले रोकथाम, नियन्त्रण र उपचारको तीन सूत्रीय विधि अपनाएको छ ।
कोभिड(१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले समग्र कामको अगुवाइ गरिरहेको छ । यसका अतिरिक्त, आम जनसमुदाय, राजनीतिककर्मी, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीहरुको संयुक्त ‘कमाण्ड’को रुपमा ‘कोरोना संकट व्यवस्थापन केन्द्र सिसिएमसी स्थापना गरिएको छ । यसले युद्धस्तरमा कामको समन्वय, निर्देशन र सम्पादन गर्छ । पहिचान गर्ने, परीक्षण गर्ने र उपचार गर्ने सबै कामलाई समन्वयात्मक ढंगले सम्पादन गर्न यसका ४ संरचना अप्स खडा गरिएको छ । बिरामी ओसारपसार पिआरटीको उपयुक्त व्यवस्था गरिएको छ ।
सिसिएमसी, हामी सबैको साझेदारीमा सञ्चालन हुने संरचना हो । ।मुख्यमन्त्रीको संयोजनमा प्रदेश तहमा र स्थानीय तहको वडास्तरसम्मै यस संरचनाको सञ्जाल निर्माण गरिएको छ । स्थानीय तहका वडास्तरसम्म वडा अध्यक्षको संयोजनमा हुने संयन्त्रले आप्mनो वडामा सरकारद्वारा घोषित राहत वितरण गर्नेछ । बिरामी छन्÷छैनन्, औषधि–उपचार पाए÷पाएनन्, बेरोजगार विपन्नहरुले खान पाए÷पाएनन् त्यसको अनुगमन तथा व्यवस्थापन समेत गर्ने छ ।