यी र यस्तै दर्जनौं चासो, चिन्ता र जिज्ञासाहरू उनीमाथि केन्द्रित छ । यिनै सवालले उनलाई ‘हटकेट’ बनाएको छ । त्यसमा सोसल मिडिया (फेसबुक, टिकटक)ले बढी नै मलजल गरेको छ । यही मेसोमा विष्णु माझीका एकपछि अर्को माधुर्य गीतहरू सार्वजनिक भैरहेका छन् । उनको गीतमा यति धेरै माधुर्यता र मोहनी लगाउने क्षमता हुँदैन थियो भने शायद गुप्तवास बसे पनि उनको यति धेरै सोधीखोजी हुँदैनथ्यो होला । अवस्था यस्तो छ कि उनका हरेक गीतले श्राेता/दर्शकलाई अत्यधिक तानिरहेको छ ।
तीजमा ‘चरी जेलैमा’ले यत्रतत्र, सर्वत्र चर्चा पायो । अहिले उनको दशैं तिहार गीत सार्वजनिक भएको छ । बुधबार मात्रै सार्वजनिक गीतको बोल छ, ‘दशैं तिहार आइसक्यो’ । यस गीतले पुनः दर्शक/श्राेतालाई तान्ने आकलन गरिएको छ । सांगीतिक बजारमा फेरि केही दिन उनको गीतको बोलवाला बढ्ने संगीतकर्मीहरूकाे अनुमान छ । यतिसम्म कि नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेका अन्य केही गायक–गायिकाहरू यो गीत आएपछि ‘ब्याक’ भएका छन् ।
एक चलेका लोकगायकले जन न्युज नेपाल खबरसँग भने, ‘आज दशैं तिहार गीत सार्वजनिक गर्ने तयारी गरेका थियौं । तर, हिजो साँझ विष्णु माझीको गीत सार्वजनिक भएछ । अब आज र भोलि त्यस गीतको रेस्पोन्स हेरेर मात्र हाम्रो गीत सार्वजनिक गर्नुपर्ला ।’ तीज गीत ‘चरी जेलैमा’पछि आफ्नै म्युजिक कम्पनी (सपना म्युजिक इन्डष्ट्रिज)मार्फत सार्वजनिक भएको गीत हो– ‘दशैं तिहार आइसक्यो’ । यस गीतमा पनि विष्णु माझीकै श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत छ । विष्णु माझीको स्वर रहेको गीतमा महिमा आचार्यको कोरस गायन छ ।
सुन्दरमणिले गीतका शब्द लहर निकै सरल रूपमा उनेका छन् । उसो त उनी आफैंमा लोकदोहोरीका यस्ता स्रष्टा हुन्, जसले मौलिक, मर्मस्पर्शी गीत रचना गर्ने, संगीत भर्ने क्षमता राख्दछ । त्यहीअनुसारको भिडियो निर्माण गर्न सक्छन् उनी । उनका यसअगाडिका गीतले उनको क्षमता प्रमाणित भइसकेको छ । त्यसकै निरन्तरता हो, ‘दशैं तिहार आइसक्यो’ । यस गीतलाई विष्णुले निकै मज्जाले गाएकी छिन् । गीतमा दशैं तिहार आइसकेको र झल्को लाइसकेको जनाउँदै आफ्नो परदेशी मान्छेलाई गाउँमा बोलाइएको छ ।
गीतको भिडियो उत्तिकै राम्रो बनेको छ । भिडियोको मनमोहक दृश्यले जोकोहीलाई लोभ्याउन सक्छ । अडियोले जस्तै भिडियोले दर्शकलाई मोहित बनाउँछ । भिडियोमा शिव विकको कोरियोग्राफी निकै गज्जब देखिन्छ । शिव नेपाली म्युजिक भिडियो निर्देशनमा निकै सफल व्यक्ति हुन् । यसअगाडि विष्णुको ‘चरी जेलैमा’ गीतलाई पनि उनै शिवले कोरियोग्राफी गरेका थिए ।
सुन्दरमणिकै निर्देशन रहेको भिडियोमा प्रिया विष्टले अभिनय गरेकी छिन् । रोचक कुरा के भने, विष्णुको तस्वीर तथा भिडियोहरू सार्वजनिक नभएको अवस्थामा विष्णुका श्रीमान भने मिडियामा नआए पनि भिडियोमा देखिइरहेका हुन्छन् । यस गीतको भिडियोमा पनि सुन्दरमणिले अभिनय गरेका छन् । शम्भु चालिसेको छायांकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन् । भिडियोले युट्युबमा भ्यूजको गति बढाउँदै गएको छ । सार्वजनिक भएको २४ घण्टा नबित्दै भिडियोलाई ४ लाख ८० हजार भन्दा धेरैपटक हेरिसकिएको छ । टिकटकमा पनि यो गीतले चर्चा बटुल्दै गएको छ ।