काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ । पार्टीले छानबिन निष्कर्षमा नपुग्दासम्म उनलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको हो ।
सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक श्रव्य सामग्री तथा सुनारमाथि उठेका प्रश्नप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रास्वपाले केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाएको छ ।
पार्टीका अनुसार सुनारसँग सम्बन्धित विषयमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनका आरोप सार्वजनिक भएका छन् ।
यी विषयलाई गम्भीर र संवेदनशील रूपमा लिएको उल्लेख गर्दै पार्टीले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरमा शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारेको छ ।
रास्वपाले सार्वजनिक भएका विषयमा राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वाससमेत व्यक्त गरेको छ । राज्यका निकायले गर्ने अनुसन्धानमा पार्टीले पूर्ण सहयोग गर्ने जनाएको छ ।
पार्टीले राज्यको स्वतन्त्र अनुसन्धान र आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चाल्ने बताएको छ । कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिने रास्वपाको भनाइ छ ।