काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निमोनिया संक्रमण भएपछि अस्पताल भर्ना भएका छन्। शनिबार उनलाई ललितपुरस्थित अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको छ।
प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार पछिल्ला तीन दिनदेखि रुघाखोकी र ज्वरोबाट पीडित रहेका प्रचण्डको स्वास्थ्य परीक्षणका क्रममा हल्का निमोनिया संक्रमण देखिएपछि चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको हो।
“रुघा, खोकी र ज्वरोका साथै हल्का निमोनियाको समस्या देखिएपछि उहाँलाई अस्पतालमा राखेर उपचार भइरहेको छ,” आचार्यले जानकारी दिए।
उनका अनुसार प्रचण्डको स्वास्थ्य अवस्था स्थिर रहेको छ र उपचारपछि क्रमिक रूपमा सुधार भइरहेको छ। चिकित्सकहरूको निगरानीमा उनको उपचार जारी रहेको बताइएको छ।
अस्वस्थताका कारण प्रचण्ड शुक्रबार संघीय संसद्को बैठकमा उपस्थित हुन सकेका थिएनन्। सोही बैठकमा सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो।
पार्टी निकट स्रोतका अनुसार चिकित्सकहरूले केही दिन आराम गर्न सुझाव दिएका छन्। स्वास्थ्यमा सुधार देखिएसँगै आवश्यक चिकित्सकीय परामर्शपछि मात्रै सार्वजनिक कार्यक्रममा सहभागी हुने जनाइएको छ।
प्रचण्डको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले शुभकामना व्यक्त गरिरहेका छन्।