काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर शान्तिपूर्ण रुपमा एकै चरणमा निर्वाचन सम्पन्न हुने दाबी गरेकी छन् । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षतर्फको मतपत्र छपाइको स्थलगत अनुगमन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले कुनै पनि जिल्लामा दोस्रो चरणको मतदान नहुने बताइन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, “मतपत्र छपाइको प्रक्रिया हेर्दा मलाई निकै उत्साह जाग्यो। मतदानका लागि सबै तयारी सम्पन्न भइसकेको छ, अब जनताले आफ्नो मतपत्र छाप्न मात्रै बाँकी छ। प्रेसका कर्मचारीहरूले एकदमै राम्रो काम गर्नु भएको रहेछ। निर्वाचनको चार खम्बामध्ये दुई खम्बा निर्वाचन आयोग हो। देशभर निर्वाचनको माहोल तयार भएको छ।”
उनी थपिन्, “तपाईहरु निश्चिन्त रहनुस्, चुनाव एकै दिन हुन्छ। दुई चरण हुने वाला कहीँ छैन। तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनेछ। कहीँ कतै कुनै अवरोध आउँदैन। फागुन २१ गते मौसम अनुकुल हुने विश्वास छ, र सबै तर्फबाट तयारी राम्रो भएको छ।”
प्रधानमन्त्री कार्कीले मतदान प्रक्रिया पूरा भएपछि नयाँ सरकार बन्ने र वर्तमान सरकारले शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण गर्ने पनि बताइन्। उनले भनिन्, “अब राम्रो हुन्छ। हामी सबैले मतदान गर्नेछौँ, त्यसको परिणाम आउँछ, त्यसपछि नयाँ सरकार गठन हुनेछ र हामी आफ्नो घर फर्कनेछौँ।”
मतपत्र छपाइको अनुगमनपछि गृहमन्त्री ओमप्रकाश अर्यालले पनि देशभर चुनावी माहोल बन्दै गएको बताए। उनले भने, “भदौ २३ गते मानवता संकटमा परेको थियो र २४ गते मुलुक गम्भीर संकटमा पुगेको थियो। अहिले राजनीतिक हिंसा र द्वन्द्व विस्तारै कम हुँदै गएको छ। देशभर निर्वाचनको वातावरण निर्माण भइरहेको छ। तोकिएकै मितिमा शान्तिपूर्ण निर्वाचन हुनेमा सबै ढुक्क हुन सक्नुहुन्छ।”
गृहमन्त्री अर्यालले वर्तमान सरकारले नागरिकको सुरक्षामा पूर्ण प्रतिबद्धता जनाएको पनि बताए। उनले आउँदो निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विगतको भन्दा सुदृढ सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए। निर्वाचन क्षेत्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको छ। अति संवेदनशील र संवेदनशील क्षेत्रहरूमा पूर्वतयारीसहित विशेष सुरक्षा प्रबन्ध लागू गरिने उनको भनाइ थियो।
अर्यालले थपे, “देश र नागरिकलाई कुनै हालतमा असुरक्षित हुन दिइने छैन। चुनावका क्रममा एक थोपा रगत पनि बग्न दिइने छैन। प्रधानमन्त्रीको प्रतिबद्धतालाई अङ्गिकार गर्दै सुरक्षा योजना तयार गरिएको छ। निर्वाचनमा कुनै अप्रिय घटना हुन नदिन सुरक्षा निकाय उच्च सतर्कतामा राखिएका छन्। जनताले निर्धक्क भएर मतदान गर्न सकून् भन्ने वातावरण सुनिश्चित गरिएको छ। हामीले देशभर एकै चरणमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेका छौँ।”
यसरी सरकारले चुनावी सुरक्षा र तयारीमा कडाइ गर्दै निर्वाचनको दिन देशभर शान्तिपूर्ण र व्यवस्थित मतदान सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको छ।