काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’ लाई कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धको सुनुवाइको फैसला सुनाउने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज निर्णय सुनाउने जानकारी दिएको हो ।
संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए । ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।
गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि आजका लागि सुनुवाइ निर्धारण भएको थियो । गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ढकाललाई आममाफी दिन सिफारिस गर्नुपर्नाको कारणसहितको सम्पूर्ण सक्कल मिसिल असोज २४ गतेभित्र अदालतमा प्रस्तुत गर्न आदेश दिएको थियो ।
व्यक्ति हत्याको मुद्दामा जन्मकैद ठहर भएका रिगललाई संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफी विरुद्ध भारती शेर्पाले दायर गरेको रिटमा न्यायाधीश मनोज शर्माको इजलासले असोज १९ मा प्रारम्भिक सुनुवाई गर्दै पुर्ण इजलासमा निरन्तर सुनुवाई गरि मुद्दाको शीघ्र टुंगो लगाउन आदेश गरेको थियो ।
असोज २५ गते प्रधानन्यायाधीश विश्म्भर प्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा पेशी तोकी प्रारम्भिक सुनुवाइपछि हेर्न नमिल्ने भन्दै इजलास कात्तिक १४ गतेका लागि अर्को पेशी तोकेको थियो । नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा रिगललाई जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।