Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पपुलर भोटको बलमा सांसद बने विश्वप्रकाश


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ७ २०७९
  • 2.6K
    SHARES

गत वैशाखको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतको अंकगणित उनको पक्षमा थिएन । यो क्षेत्रमा सत्ता गठबन्धनको भन्दा एमाले-राप्रपाको मत बढी थियो । तर विश्वप्रकाश भारी मतान्तरले निर्वाचित भए । त्यसको प्रमुख कारण पार्टी महामन्त्री भएपछि बढेको उनको राजनीतिक उचाइ त हो नै, एमालेको अन्तर कलह पनि सहयोगी बन्यो ।

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शेरबहादुर देउवा र डा. शेखर कोइराला दुवै समूहमा नपर्दा महामन्त्रीमा विश्वप्रकाश शर्माको प्रतिस्पर्धा एकदमै कठिन देखिएको थियो । तर, धेरैलाई चकित बनाउँदै उनले सहज जित निकाले । प्रदीप पौडेल, डा. प्रकाशशरण महत र डा. मिनेन्द्र रिजाललाई रोक्दै महामन्त्री बन्नुको आधार थियो, ‘पपुलर भोट’ । महाधिवेशन प्रतिनिधिहरुले पार्टी नेतृत्वमा युवालाई हेर्न चाहे र गगनकुमार थापासँगै विश्वप्रकाश पनि लोकप्रिय मतको बलमा निर्वाचित भए ।

महामन्त्री भएको वर्ष दिन नपुग्दै विश्वप्रकाशले ‘पपुलर मत’कै बलमा संसदको यात्रा तय गरेका छन् । शर्मा ३९ हजार ६२४ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलले २५ हजार ३४९ मत मात्र पाए ।

  • तेस्रो प्रयासमा संसद यात्रा तय

विद्यार्थी राजनीतिबाट आएका शर्मा २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पहिलो संसदीय प्रतिस्पर्धामा उत्रिएका थिए । झापा–१ मा एमालेका रविन कोइरालासँग उनी ६०० मत अन्तरले पराजित भए । लामो समय काठमाडौं बसेर राजनीति गरेका कारण त्यो चुनावमा उनलाई विपक्षीले ‘टुरिष्ट’ उम्मेदवारको संज्ञा दिएका थिए ।

निर्वाचनमा पराजित भएपनि उनले झापा केन्द्रित गतिविधि गरिरहे । २०७४ सालको निर्वाचनमा फेरि उम्मेदवार भए, तर वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता राम कार्कीसँग पराजित भए । मतान्तर पनि बढेर २ हजार ८६३ पुगेको थियो । तेस्रो प्रतिस्पर्धा पनि उनलाई सहज थिएन । गत वैशाखको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतको अंकगणित उनको पक्षमा थिएन । यो क्षेत्रमा एमालेले ३१ हजार २३२ मत पाएको थियो भने कांग्रेसले २४ हजार ५९ मत मात्र । उनलाई सत्तारुढ गठबन्धनमा रहेको माओवादी र एकीकृत समाजवादीको समर्थन त थियो, तर त्योभन्दा धेरै मत भएको राप्रपाले एमालेलाई साथ दिएको थियो ।

तर विश्वप्रकाश भारी मतान्तरले निर्वाचित भए । त्यसको प्रमुख कारण पार्टी महामन्त्री भएपछि बढेको उनको राजनीतिक उचाई त हो नै, एमालेको अन्तर कलह पनि सहयोगी बन्यो । एमालेले अन्तिम समयमा झापा–२ मा तयारी गरिरहेका अग्नि खरेललाई क्षेत्र नं १ को टिकट दिएको थियो । जबकी क्षेत्र नं. १ बाट एमाले क्षेत्रीय कमिटीले २०७० मा चुनाव जितेका रविन कोइरालालाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको थियो । स्थानीय स्तरमा भिजेका रविनले टिकट पाएको भए विश्वप्रकाशलाई चुनाव सहज हुने थिएन ।

तर झापा–२ को टिकट देवराज घिमिरेलाई दिन एमाले अध्यक्ष ओलीले अग्निलाई १ मा पठाए, त्यसले एमालेमा देखिएको असन्तुष्टिको लाभ समेत विश्वप्रकाशले लिए ।

  • राजनीतिक परिवारमा हुर्किएका विश्वप्रकाश

मेचीनगर नगरपालिकाको धुलाबारी घर भएका विश्वप्रकाश राजनीतिक पृष्ठभूमिको परिवारमा जन्मे हुर्केका व्यक्ति हुन् । उनका बुबा परशुराम भण्डारी पनि कांग्रेस नेता थिए । पञ्चायत कालमा पार्टी भूमिगत भएका बेला भण्डारी नेपाली कांग्रेस झापा जिल्ला समितिका सदस्य थिए । ‘राजनीतिक परिवारको सदस्य भएकाले पनि होला, उहाँमा सानैदेखि राजनीतिक चेतना थियो’ विश्वप्रकाश शर्माका सहपाठी इन्द्र बुढाथोकी भन्छन्, ‘मलाई अझै याद छ, कक्षा ४ मै पढ्दा उहाँको झोलामा राजनीतिक पर्चाहरु हुन्थ्यो ।’

धुलाबारी माविमा कक्षा ८ मा पढ्दा नेविसंघको इकाइ सभापति भए । राजनीतिमा शर्माको औपचारिक प्रवेश त्यहीँबाट भयो ।

२०४३ मा झापाको मेची क्याम्पसमा नेविसंघको सभापति बने भने २०४७ सालमा जिल्ला सभापति भए । त्यसको एक वर्षमा नेविसंघको केन्द्रीय सदस्यमा चुनिएका उनी २०५३ सालमा महामन्त्री र चार वर्षपछि सभापति बने । नेविसंंघमा दुई वर्षे कार्यकाल सकिनु एक साताअघि निर्वाचन गराएर गुरु घिमिरेलाई पद हस्तान्तरण गरे ।

२०६७ सालमा भएको कांग्रेसको १२ औं महाधिवेशनका क्रममा उनी पार्टीको झापा जिल्ला सभापतिको उम्मेदवार बने । तर झापाकै अर्का नेता कृष्ण सिटौला पक्षका उम्मेदवार उद्धव थापासँग झिनो अन्तरले पराजित भए । जिल्लामा पराजित भएका बेला शर्माले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेनन् भने १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिए ।

२०७४ को आम चुनावमा कांग्रेसले नराम्रो हार व्यहोरेपछि धनराज गुरुङ, गुरुराज घिमिरे, विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल लगायतका युवाहरुले नेतृत्व परिर्वतनको एजेण्डा उठाए । त्यसको काउन्टरमा सभापति देउवाले पुस २०७४ मा विश्वप्रकाशलाई पार्टी प्रवक्ता बनाए । राजनीतिबाहेक शर्माको गीत, संगीतप्रति पनि लगाव छ ।

विश्वप्रकाशले लेखेका र संगीत गरेका गीतहरु अञ्जु पन्त, राजेशपायल राई, प्रमोद खरेल, आनन्द कार्की, सुकमित गुरुङ लगायतका गायकले गाएका छन् ।  नेपालमा आयोजना हुने जेसिजका कार्यक्रममा बजाइने जेसिजको शीर्ष गीतको शब्द र संगीत विश्वप्रकाशकै हो । उनले समाजको विभिन्न पक्ष समेटिएको टेलिभिजन कार्यक्रम ‘ऐना’ पनि सञ्चालन गरे । ‘यसबाट राजनीतिकभन्दा समाजको फरक पाटो र आफ्नै अनुहार ऐनामा हेर्ने अवसर मैले पाएँ’, उनी भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४