काठमाडौं । रामेछाप जिल्ला निर्वाचन कार्यालय रामेछापले मतदान स्थल थपघट गरेको छ । जिल्लामा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कूल ९१ वटा मतदान स्थल रहेका थिए ।
आउदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि भने जिल्लामा मतदान स्थल हेरफेर तथा थपघट गरेर कूल ९७ वटा पुगेको जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहले जन प्रहारलाई बताए । “पाएक नपरेका र मतदाता थोरै भएका केही मतदान स्थलहरुलाई फेरबदल र थपघट गरेर माथि सिफारिस गरेका छौं शाहले जन प्रहारलाई भने ।”
जिल्ला निर्वाचन कार्यालय रामेछापले शुक्रबारदेखि लागू हुने गरी मतदाता नामावली संकलनको काम भने स्थगित गरि सकेको छ ।
प्रमुख शाहका अनुसार आंशिक पाँच वटा मतदान स्थललाई फुटाएर पाएक पर्ने नयाँ ठाउँमा कामय गरिएको हो । जसअनुसार खाँडादेवी गाउँपालिका वडा नं ९ पिङखुरीको नवदुर्गा आधारभुत माध्यमिक बिद्यालयमा थपेको छ ।
त्यस्तै दोरम्बा शैलुङ् गाउँपालिकाको वडा नं ४ को खारपानीमा कायम रहेको मतदान केन्द्र अपुग भएको भन्दै दार्जा आधारभुत विद्यालयमा थपिएको छ ।
त्यस्तै रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीको वडा कार्यालय भवनमा कायम रहेको मतदान केन्द्र अपाएको परेको भन्दै वडाबाट पूर्ण रुपमा हटाएर महेन्द्र ज्योती आधारभुत विद्यालय र जनकल्याण माध्यमिक बिद्यालय च्यास्कुमा थप कायम गरिएको प्रमुख शाहले जानकारी दिएका छन् ।
आठ वटै स्थानीय तहका नगरिकहरुको मतदान गर्ने अधिकारको सुनिश्चित गर्ने उद्देश्यले कायम रहेका मतदान केन्द्रहरुलाई व्यवस्थित, सुरक्षित र सहज बनाउन लागेको आयोगले लिखु तामाकोशी गाउँपालिका वडा नं ३ नागदहको वडा कार्यालयमा रहेको मतदान केन्द्रलाई फुटाएर झटेस्वा माध्यमिक बिद्यालय नागदहमा कायम गरिएको प्रमुख शाहले बताएका छन् ।
साथै जिल्लाका आठ वटा स्थानीय तहका विभिन्न मतदान केन्द्रको गरी ८ वटा मतादान स्थलको नाम पनि परिवार्तन गरेको छ । निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा गर्ने तयारीमा जुटेको आयोग बताउछ ।
गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा जिल्लामा कूल एक लाख ७८ हजार ८ सय ६७ जना कूल मतदाता रहेकोमा एक लाख १७ हजार २ सय ४२ जनाले मतदान गरेका थिए । यो संख्यामा आउदो निर्वाचनमा थपिन सक्ने आयोगको भनाई रहेको छ ।
