काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदातालाई मतदानमा समान सहभागिता र कुनै पनि मतपत्र बदर नहुने गराउन साक्षरता अभियान जरुरी भएको बताएका छन् । निर्वाचन आयोगको आयोजना र क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) का संयोजनमा आयोजित एकदिने ‘निर्वाचन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ भर्चुअल उद्घाटन गर्दै उनले निर्वाचनमा एक मत पनि बदर नहुने गरी निर्वाचन साक्षरता अभियान जरुरी भएको बताए ।
‘निर्वाचन आयोग एक्लैले यो काम सम्भव छैन, यसमा सबैको सहकार्य जरुरी छ,’ उनले भने । निर्वाचनसम्बन्धी सूचनाको पहुँचमा सञ्चारमाध्यमको व्यापक प्रयोग गर्न तथा नागरिक आफैंले निर्णय गरेर मतदानमा सहभागी हुने वातावरण बनाउन जरुरी रहेको भन्दै थपलियाले आधाभन्दा बढी जनसंख्या रहेका महिला, जनजाति, सीमान्तकृत, साक्षरता तथा कम साक्षरता भएका ठाउँमा निर्वाचन शिक्षा जरुरी भएको बताए ।