काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपका सभापति पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ आज पनि सर्वोच्च अदालतमा जारी रहने भएको छ ।
मंगलबारदेखि सुरु भएको सुनुवाइ बुधबार संवैधानिक इजलास बसेका कारण प्रभावित भएको थियो । आज न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त रिटमाथिको सुनुवाइलाई निरन्तरता दिनेछ ।
पतिलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै रास्वपका सभापति पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी हुन् । लामिछाने हाल सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा थुनामा रहेका छन् । अदालतले यस विषयमा के निर्णय दिन्छ भन्नेमा सबैको चासो रहेको छ ।