Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवाले गठन गरेका विभिन्न विभाग खारेज गर्न माग गर्दै गगन थापालगाएत १२ केन्द्रीय सदस्यको दबाब !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २८ २०७७
  • 14.2K
    SHARES

देउवाले गठन गरेका विभिन्न विभाग खारेज गर्न माग गर्दै गगन थापालगाएत १२ केन्द्रीय सदस्यको दबाब !

 

नमुना दहाल कार्की !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको मुखमा धमाधम विभागहरू गठन गरेर महाधिवेशन निष्पक्षतामा प्रश्न उठाउने काम गरेको कांग्रेसका १२ जना केन्द्रीय सदस्यहरुले आरोप लगाएका छन्।

१३ औं महाधिवेशन सकिएको दुई महिनाभित्र गरिसक्नुपर्ने विभाग गठन सभापति देउवाले चार वर्षे कार्यकाल सकिएपछि थपिएको कार्यकालमा धमाधम मनोनित गरिरहेका छन्। यी विभाग २०७२ सालमै गठन हुनुपर्ने हो। तर सभापति देउवाले ३० भन्दा बढी विभाग गठन गरिसकेका छन्।

‘महाधिवेशनको औपचारिक प्रक्रिया शुरु भएपछि पार्टीका साथीहरुमा आपसी तिक्तता बढाएर पक्ष र विपक्ष खडा गर्नुको उद्देश्य के हो? यस कार्यबाट महाधिवेशनको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ र पार्टीका सबै तहको  मिति तोकिसके पश्चात् बिभिन्न नियुक्तिहरु गर्नु महाधिवेशन आचारसंहिताको ठाडो उलंघन गर्नु हो,’  केन्द्रीय सदस्यहरू  चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, कमला पन्त, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव, किरण यादव लगाएतका केन्द्रिय सदस्यहरुले मंगलबार निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ।

अहिले गठन गरेका विभागहरूले आफ्नो जिम्मेवारीअनुसार काम गर्न समय नपाउने पनि उनीहरूको भनाइ छ। ‘हामीले बनाएका विभागहरुले आफ्ना विभागीय काम कहिले गर्ने? विभाग गठनका कार्य तत्काल रोकिनु पर्छ र गठन गरिएका औचित्यहिन विभागहरु खारेज गरिनुपर्छ भन्ने हाम्रो माग छ,’ उनीहरूले विज्ञप्तिमा भनेका छन्।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जन न्युज नेपाल खवरसँग कुराकानी गर्दै १२ जना केन्द्रीय सदस्यले सहमतिमै धारणा सार्वजनिक गरेको जानकारी दिए।

यस्तो छ विज्ञप्ति:

नेपाली कांग्रेस आफ्नो चौधौं महाधिवेशनको संघारमा छ।

विधानतः चार वर्षको कार्यकालभित्र महाधिवेशन सम्पन्न हुन नसक्ने बिशेष परिस्थिती देखिएमा मात्र उपयोग गर्न पाइने एक वर्ष कार्यकाल थप्न सकिने वैधानिक सुविधा प्रयोग गरेर बढाइएको अवधिमा महाधिवेशनको प्रक्रिया प्रारम्भ गरिएको छ। निर्धारण गरिएको समय २०७७ फागुनभित्र कुनै पनि हालतमा महाधिवेशन सम्पन्न गर्नु पर्ने ऐतिहासिक दायित्व केन्द्रीय समितिको काँधमा छ।

यस्तो समयमा पार्टी भित्रको आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै पार्टी नेता बीच,नेता-कार्यकर्ताबीच र पुरानो एवं नयाँ पुस्ताबीचको सम्बन्धलाई सुमधुर तथा हार्दिक बनाउनु पर्ने दायित्व हामी सबैको हो।

यद्यपी यस कार्यमा सभापति अर्थात् नेतृत्वले अग्रणी भूमिका निर्वाह गर्नु पर्दछ। पार्टीभित्र देखिएका बिवाद र आपसी तिक्ततालाई समाप्त गरि साथिहरुका बीचमा भावनात्मक एकता कायम गरि महाधिवेशनलाई हौसला पूर्ण महोत्सवको रुपमा निर्धारित समयतालिकाभित्रै सम्पन्न गर्नु हामी सबैको साझा अभिभारा र कर्तव्य हो। तथापि यस कार्यमा पनि सभापतिकै ठोस र सकारात्मक पहलकदमी महत्वपूर्ण हुन्छ।

इतिहासको महत्त्वपूर्ण कालखण्डमा हाम्रो महाधिवेशन सम्पन्न हुँदैछ।

संसारभरि अस्विकृत अलोकतान्त्रिक विचारको बाहक राजनीतिक दल नेकपाको कुशासनमा लोकतन्त्र असुरक्षित छ। नयाँ पुस्ता राजनीतिसँग विकर्षित र टाढिएको छ। साँच्चै भन्ने हो भने सिंगो पुस्ता तनावग्रस्त भई बिरक्तिएर बसेको छ। र समकालिन राजनीतिप्रति उसको घृणाभाव झल्किन्छ।

यस महाधिवेशनले यी सबै पक्षलाई आश्वस्त तुल्याउँदै उत्पन्न तनाव, बिरक्ती र घृणाभावलाई अन्त्य गरी लोकतन्त्रको भविष्यलाई सुरक्षित तुल्याउँदै राजनीतिप्रतिको सम्मान, मर्यादा र प्रतिष्ठालाई पुनर्स्थापित गर्नु आजको प्रमुख आवश्यकता रहेको छ। यसका लागि पनि नेतृत्वकै अग्रसरता आवश्यक देखिन्छ।

यस घडीमा हामीले समयको पदचाप, पार्टीका साथिहरुको चाहना, नयाँ पुस्ताको आकांक्षा, राष्ट्रप्रतिको दायित्व र इतिहासको आवश्यकतालाई राम्ररी महसुस गर्न सक्नु पर्दछ। तर दुर्भाग्यवश हामी, हामीलाई प्राप्त ऐतिहासिक बिरासत र गौरवलाई जोगाउन र थाम्न असमर्थ हुँदै गएका छौं।

हामीप्रतिको नेपाली जनताको भरोसा कमजोर हुदै गएको छ। पार्टीको गौरवपूर्ण छवि, व्यक्तित्व र कान्ति ह्रासोन्मुख हुँदैछ। हाम्रा प्रातः स्मरणीय नेताहरुले रचेको गौरव गाथालाई थप गौरवपूर्ण बनाउने दायित्व विमुख हुन थालेको छ। हामी लोकतन्त्रको विधिसम्मत बाटो छाडेर आफ्नो र गुटको क्षुद्र स्वार्थमा केन्द्रित हुन थालेका छौं। र हाम्रो पार्टीको पहिचान र परम्पराको सट्टा अराजकता तर्फ उन्मुख भएका छौं। यसको जिम्मेदारी ले लिनु पर्दछ।

अहिले आएर सभापति ज्यूबाट पार्टीका विभिन्न विभाग गठनप्रति हाम्रो ध्यान गम्भीर रुपमा आकर्षित भएको छ।

पार्टी सभापति विधानको संरक्षक,पालक र कार्यान्वयनकर्ता पनि हो। कांग्रेसको गौरवपूर्ण इतिहासको भारी उहाँकै काँधमा छ। कस्तो कांग्रेस बनाउने, विधि पालनाको सुनिश्चितता कसरी गर्ने र नयाँ पुस्तालाई आन्तरिक लोकतन्त्रको पूर्ण अभ्यास स्थापित भएको पार्टी कसरी हस्तान्तरण गर्ने भन्ने दायित्व पनि उहाँकै हो।

सभापति व्यक्ति होइन, संस्था हो। उहाँसँग पार्टीलाई गुट उपगुटमा बिभाजित रहनदिएर कांग्रेसको इतिहास,बिरासत,परम्परा र पद्दतिलाई उल्लंघन गर्ने सुविधा छैन।

अस्वस्थ भागबण्डालाई संस्कृति बनाएर पार्टीका संघर्षशील साथीहरुलाई समान अवसर र न्यायबाट बञ्चित गर्ने अधिकार पनि छैन। सिद्धान्त र व्यवहारको पटक्कै तालमेल नहुने गरी मनोगत चाहनामा पार्टी चलाउने विशेषाधिकार पनि छैन। आफ्ना समकालीन साथीहरु र पार्टीको ठूलो पंक्तिको चित्त दुखाएर एक्लै हिड्ने सहुलियत पनि छैन।

यसबाट गैरलोकतान्त्रिक शक्तिहरुसँग लोकतान्त्रिक मुल्य मान्यताको बिषयमा बहस गर्ने हाम्रो नैतिक धरातल अत्यन्त कमजोर हुन पुगेको छ।

हामी यतिबेला पार्टिको बाह्रौं महाधिवेशन पश्चात् तत्कालीन सभापति सुशील कोइरालाले पार्टिका विभागहरु गठन गर्दा बर्तमान पार्टी सभापति ज्युले राख्नु भएको तर्क रअसहमतिलाई स्मरण गरिरहेका छौं।

पदाधिकारी, समिति र बिभाग गठनमा दुई बर्ष मात्र ढिलो हुँदा बर्तमान सभापतिज्यू कै असहमति र बिरोधका कारण तत्कालिन निर्णय फिर्ता लिइयो अर्थात् कार्यान्वयन गरिएन। अनि अहिले कार्यकाल समाप्त भइसकेपछि गरिएका निर्णयहरु कसरी बैधानिक र उपयुक्त हुन सक्छन्? महाधिवेशन सम्पन्न भएको दुईमहिनाभित्र गरिनु पर्ने विभाग गठनको काम तत्काल किन भएन? हाम्रो सम्पूर्ण ध्यान र शक्ति मर्यादित, निष्पक्ष, विश्वसनीय र भब्य रुपमा महाधिवेशन सम्पन्न गर्नमा लगाउनु पर्ने होइन र?

हामीले बनाएका विभागहरुले आफ्ना विभागीय काम कहिले गर्ने? महाधिवेशनको औपचारिक प्रक्रिया शुरु भएपछि पार्टिका साथीहरुमा आपसी तिक्तता बढाएर पक्ष र विपक्ष खडा गर्नुको उद्देश्य के हो? यस कार्यबाट महाधिवेशनको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ र पार्टीका सबै तहको  मिति तोकिसके पश्चात् बिभिन्न नियुक्तिहरु गर्नु महाधिवेशन आचारसंहिताको ठाडो उलंघन गर्नु हो।

तसर्थ विभाग गठनका कार्य तत्काल रोकिनु पर्छ। र गठन गरिएका औचित्यहिन विभागहरु खारेज गरिनुपर्छ भन्ने हाम्रो माग छ। यसबाट मात्र महाधिवेशनको निष्पक्षताको सुनिश्चितता हुन सक्छ भन्ने हाम्रो स्पष्ट धारणा छ।

यस बिषयमा स्पष्ट हुनका लागि देशभरका साथिहरुलाई आग्रह समेत गर्दछौं। साथै अहिले देखिएका सम्पूर्ण चुनौतीको सामना गर्दै समाजले उठाएका शंका उपशंकाको निवारण गर्दै हर प्रश्नको जवाफ सहित राष्ट्र, लोकतन्त्र र पार्टीलाई सहि दिशा प्रदान गर्न आवश्यक पर्दा हामी नेतृत्व लिन समेत तयार छौं भन्ने कुरा स्पष्ट पार्न चाहन्छौं। 

जय नेपाल

 

चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादव।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४