चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका संरचनामा जडान गरिएका विद्युतीय तार वन्यजन्तुका लागि जोखिमपूर्ण बनेका छन् ।
विद्युतीय तारमा परेर हात्ती, गैँडालगायतका वन्यजन्तुले अनाहकमा ज्यान गुमाएका कारण विद्युतीय तार वन्यजन्तुका लागि अभिसाप बन्दै गएको छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश मगरले वि.सं २०६४ देखि हालसम्म निकुञ्जभित्र र बाहिरी मध्यवर्ती क्षेत्रमा करेन्ट लागेर दुई हात्ती, पाँच गैँडा र एक चितुवाको मृत्यु भइसकेको जानकारी दिए ।
तीमध्ये दुई हात्ती र एक गैँडा निकुञ्ज कार्यालय तथा नेपाली सेनाका संरचनामा जडान गरिएका बिजुलीका तारमा परेर मरेका हुन् ।
हात्ती प्रजनन केन्द्र खोरसोर, सौराहामा प्राकृतिक प्रजननमार्फत ३३ वटा छावा जन्माउन सहयोग गरेको रोनाल्डो नामको जङ्गली भाले हात्ती गत असोज ३ गते विद्युतीय तारमा परेर मरेको थियो ।
बरन्डाभार वनक्षेत्रको कुमाल ताल नजिकै चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ राखिएको नेपाली सेनाको पोस्टमा लगिएको बिजुलीको तारमा परेर रोनाल्डो मरेको हो ।
यसअघि २०६४ साल असोज २८ गते सौराहास्थित हात्ती प्रजनन केन्द्रमा रोमियो नामको जङ्गली भाले हात्ती पनि विद्युतीय तारबारमा करेन्ट लागेर मरेको थियो ।
त्यसैगरी, २०७५ साल कात्तिक १५ गते हात्तीका लागि निर्माण गरिएको ‘चेन फ्री कोरल’मा जडान गरिएको विद्युतीय तारमा परेर गैँडा मरेको थियो । उक्त गैँडा गोलाघाटबाट उद्धार गरी सौराहामा हुर्काइएको थियो ।
निकुञ्जको मध्यभागमा रहेको कसरामा निकुञ्जको मुख्यालय, निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेनाको नयाँ गोरख गणको मुख्यालय, सेनाकै श्री प्रकृति संरक्षण शिक्षालयलगायत निकुञ्जसँग सम्बन्धित कार्यालय छन् ।
ती संरचनामा विद्युत् आपूर्तिका लागि निकुञ्ज बाहिर करिब दुई किलोमिटर टाढा घैलाघारीबाट तार तानेर जडान गरिएको छ । सूचना अधिकारी मगरका अनुसार निकुञ्जभित्र विद्युत्का खम्बामाथिबाटै तार तानिएको छ ।
निकुञ्जमा रहेका ५८ वटा निकुञ्ज तथा सेनाका पोस्टमध्ये ३९ वटामा विद्युत् जडान गरिएको छ । ती पोस्टमा कतै नाङ्गो तार त कतै आवरणयुक्त विद्युत् तार प्रयोग गरिएको निकुञ्जले जनाएको छ ।
निकुञ्जभित्रका संरचनामा जडान गरिएका विद्युत्का तारमा परेर मात्र नभई आसपासका क्षेत्रमा लगाइएका विद्युतीय धराप तथा अन्य संरचनामा परेर पनि वन्यजन्तुको मृत्यु हुने गरेको छ ।
उपलब्ध विवरणअनुसार २०७३ साल साउन २४ गते मेघौलीस्थित होटल मेघौली सेराइको पछाडि राप्ती नदी किनारमा फलामको प्लेटफर्म बनाउने क्रममा खुला रहेको तारमा करेन्ट लागेर एक पोथी गैँडाको मृत्यु भएको थियो ।
वि.सं २०७९ असोज २७ गते मङ्गलपुरबाट उद्धार गरी कुमरोज मध्यवर्ती सामुदायिक वनमा छाडिएको ‘मङ्गलपुरे’ नामको वयस्क भाले गैँडा खैरहनी–१३ मा घिरौँलाको झालमा रहेको विद्युतीय तार टोक्दा करेन्ट लागेर मरेको थियो ।
वि.सं २०८१ साल साउन ८ गते भरतपुर महानगरपालिका–१६, भगोडीस्थित स्थानीयको मकैबारीमा बाली जोगाउन थापिएको विद्युतीय धरापमा परी एक पोथी गैँडाको मृत्यु भएको थियो ।
वि.सं २०८२ साउन २१ गते माडी नगरपालिका–१, अमलियामा धानबालीको सुरक्षाका लागि थापिएको विद्युतीय धरापमा परी एक भाले गैँडाको मृत्यु भएको थियो ।
यसैगरी, २०७५ साल चैत १० गते जगतपुरस्थित होटल टाइगल्याण्डको सेफ्टी ट्याङ्कमा परेर एक वयस्क पोथी गैँडाको मृत्यु भएको थियो भने २०७८ साल माघ ९ गते गोन्द्राङमा सडक विस्तारका क्रममा सडक छेउको खाल्डोमा परेर एक वयस्क भाले गैँडाको मृत्यु भएको थियो ।