काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री डा. मोहम्मद फिर्दोस आलमले पार्टीलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्याउने बताएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनमा मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएपछि उनले पार्टीभित्र सबैलाई समेटेर अघि बढ्ने बताएका हुन् ।
नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी र देशको आवश्यकता तथा जनताको चाहना बुझेको उल्लेख गर्दै आलमले उनको नेतृत्वमा कांग्रेसले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे ।
‘गगनकुमार थापा गतिशील व्यक्तित्व हुनुहुन्छ । उहाँले समाज र देश बुझ्नुभएको छ । पार्टीको आवश्यकता र नेपाली जनताको चाहना पनि बुझ्नुभएको छ । उहाँले सबैलाई मिलाएर पार्टीलाई नयाँ उचाइमा लैजानुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु,’ उनले भने ।
आलमले पार्टीभित्र विगतमा नेतृत्व तहबाट भएका कमी–कमजोरी सुधार गर्दै कांग्रेसले आफ्नो ऐतिहासिक पहिचानलाई निरन्तरता दिने बताए । मुलुकमा विभिन्न समयमा सङ्कट उत्पन्न हुँदा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि जनताको विश्वास कायम राख्ने गरी पार्टी अघि बढ्ने बताए ।
‘मुलुकको इतिहासमा जब–जब सङ्कट परेको छ, तब यो देशलाई सम्हालेकै नेपाली कांग्रेसले हो । कांग्रेसले जुन कल्चर बसालेको छ, आफ्नो पहिचान बनाएको छ, त्यो पहिचानलाई निरन्तरता दिँदै केही भएका कमी–कमजोरी सुधार गरेर अघि बढ्छौँ,’ उनले भने ।
पार्टीभित्र एकता कायम राख्नुपर्नेमा जोड दिँदै आलमले सानेपास्थित पार्टी कार्यालय सबै कांग्रेसजनको साझा थलो भएको बताए । पार्टी निर्माणमा सबैको योगदान र लगानी रहेको उल्लेख गर्दै उनले सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
‘पार्टी कार्यालय सानेपा सबै नेपाली कांग्रेसजनको हो । सबैको यसमा लगानी छ । सबै जना यहीँ आउनुहुन्छ र पार्टी एकढिक्का भएर अगाडि बढ्छ,’ उनले भने ।
सहमहामन्त्री आलमले सरकारलाई जनउत्तरदायी र जवाफदेही बनाउन कांग्रेसले निरन्तर खबरदारी गर्ने पनि बताएका छन् । सरकारका कमजोरी औँल्याउने, जनताका अपेक्षाअनुसार काम गर्न प्रेरित गर्ने र सरकारलाई जवाफदेही बनाउने काम कांग्रेसको प्रमुख जिम्मेवारी भएको उनको भनाइ छ ।
उनले वर्तमान सरकारप्रति जनताको अपेक्षा धेरै भए पनि ती अपेक्षाअनुसार काम हुन नसकेको टिप्पणी गरे । सरकारले जनताका आवश्यकता र चाहनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए ।
विशेषगरी चाडपर्वका बेला बजारमा हुने मूल्यवृद्धि नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्ने आलमको भनाइ छ । जनतालाई महँगीको मारबाट जोगाउन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख गर्दै उनले सरकारका कामकारबाहीमाथि कांग्रेसले निगरानी र खबरदारी जारी राख्ने बताए ।
आलमका अनुसार पार्टीभित्रको एकता सुदृढ गर्दै विगतका कमजोरी सुधार गर्ने र सरकारलाई जनताप्रति उत्तरदायी बनाउने विषय कांग्रेसका आगामी प्राथमिकतामध्ये रहनेछन् ।