काठमाडौं । नागरिक उन्मुक्ति पार्टी “नाउपा”को पहिलो महाधिवेशन आजदेखि कैलालीको टीकापुरमा सुरु हुँदै छ । पुस २६, २७ र २८ गते हुने महाधिवेशनले पार्टीको नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने छ ।
“नाउपा”का संरक्षक रेशमलाल चौधरीका अनुसार महाधिवेशनको उदघाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सहित सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई बोलाइएको छ । भारतीय जनता पार्टी -भाजपा”को प्रतिनिधित्वसमेत उदघाटन समारोहमा हुने उनको भनाइ रहेको छ ।
महाधिवेशनमा ५२ जिल्लाबाट ८ हजार प्रतिनिधिहरु सहभागी हुने छन् । ती प्रतिनिधिहरुले ३९ जना पदाधिकारी र २४१ जना केन्द्रीय सदस्य चयन गर्ने चौधरीले बताएका छन् । मनोनित केन्द्रीय सदस्यहरुसमेत गरी “नाउपा”को केन्द्रीय समिति ५०१ सदस्यीय हुनेछ ।
टीकापुर घटनामा जन्मकैदको सजाय पाएर डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका बेला रेशमलाल चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको नेतृत्वमा “नाउपा” गठन गरी दुई वर्ष अघि निर्वाचन आयोगमा दल दर्ता गराएका थिए । त्यसयता रञ्जिता पार्टी अध्यक्ष र उनका श्रीमान् रेशमलाल संरक्षकको भूमिकामा छन् ।
रञ्जिता वर्तमान सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत छिन् । “नाउपा”को विधानमा एक व्यक्ति एक पदको व्यवस्था भएकाले अब रञ्जिताको सट्टा रेशम चौधरी पार्टी अध्यक्ष बन्न सक्ने अनुमान गरिएको छ ।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी कैद मिनाहा गरिदिएपछि रेशम गत जेठ १५ गते जेलबाट छुटेका थिए । उनलाई बाँकी कैद मिनाहा गरिदिने निर्णय विरुद्ध सर्वोच्चमा मुद्दा विचाराधिन रहेको छ ।