Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विपद्का बेला राज्यशक्तिको दुरुपयोग नगर्न सरकारलाई ओलीको सुझाव


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २७ २०८३
  • 1.1K
    SHARES

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला राज्यशक्तिको दुरुपयोग नगर्न सरकारलाई सुझाव दिनुभएको छ।

बाढी प्रभावित नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिन लागेको एमालेको सम्पर्क विशेष संगठन कमिटीको टोलीलाई बिदाइ तथा निर्देशन दिँदै अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न सुझाव दिनुभएको हो।

ओलीले राहत तथा उद्धारमा सहयोग गर्न चाहने संगठित संस्था, सामाजिक संघसंस्था तथा स्वयंसेवकलाई काम गर्ने सहज वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो। राज्यले सबै हेलिकप्टर आफ्नो नियन्त्रणमा राख्ने तर स्वयंसेवामा खटिएका अन्य संस्था तथा समूहलाई आवश्यक साधन प्रयोग गर्न नदिने व्यवहार उचित नभएको उहाँको भनाइ थियो।

उहाँले बाढी तथा अन्य विपद्बाट प्रभावित क्षेत्रमा उद्धार कार्यमा भइरहेको ढिलाइप्रति समेत सरकारको ध्यानाकर्षण गराउनुभयो। ११–१२ दिनपछि मानिसहरू आफैं सुरुङबाट बाहिरिनुपर्ने अवस्था आउनु गम्भीर लापरवाही भएको भन्दै उहाँले उद्धार कार्यलाई छिटो, व्यवस्थित र प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्नुभयो।

विस्थापित परिवारका सदस्यहरूलाई अलग–अलग शिविरमा राखिएको विषयमा पनि ओलीले सरकार संवेदनशील बन्नुपर्ने बताउनुभयो। बुबा एउटा शिविरमा र छोरी अर्को शिविरमा राखिएको उदाहरण दिँदै उहाँले विपद्का कारण विस्थापित परिवारलाई सम्भव भएसम्म एउटै स्थानमा राख्ने र परिवारका सदस्यहरूलाई सहज रूपमा भेट्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।

राहत तथा उद्धारमा खटिएका स्वयंसेवकहरूको स्वास्थ्य र सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने ओलीको भनाइ छ। स्वयंसेवकलाई स्वच्छ खाना, सुरक्षित बसोबास र आवश्यक स्वास्थ्य सावधानीको व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।

त्यस्तै, राहत तथा उद्धारको वास्तविक अवस्था सार्वजनिक गर्न खोज्ने नागरिक तथा स्वयंसेवकलाई प्रहरी परिचालन गरेर रोक्ने काम नगर्न पनि ओलीले सरकारलाई सुझाव दिनुभयो। प्रहरीको मुख्य जिम्मेवारी सरकारको कमजोरी लुकाउन नागरिकलाई रोक्ने नभई जनताको सुरक्षा गर्नु भएको उहाँले बताउनुभयो।

ओलीले सेना तथा प्रहरीलाई नियम, कानून र आफ्नो कर्तव्यको सीमाभित्र रहेर काम गर्न आग्रह गर्नुभयो। अनावश्यक र अनुचित आदेश पालना नगर्न आग्रह गर्दै उहाँले राज्यका सुरक्षा निकायले जनताबीच तनाव उत्पन्न हुने गतिविधिमा सहभागी हुन नहुने धारणा राख्नुभयो।

उहाँले सरकारमा रहेका व्यक्तिहरूले राज्यशक्तिको दुरुपयोग गरिरहेको भए त्यसलाई तत्काल रोक्नुपर्ने बताउनुभयो। विपद्को समयमा सरकार र राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै ओलीले एमाले सरकारलाई सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो।

जनता पीडामा रहेका बेला एमाले मूकदर्शक भएर बस्न नसक्ने बताउँदै उहाँले राहत तथा उद्धारका काममा पार्टीका नेता–कार्यकर्ता र स्वयंसेवक परिचालन गरिने जानकारी दिनुभयो। सरकारसँग मिलेर काम गर्न आफूहरू तयार रहे पनि सरकारले सहकार्यका लागि वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो।

ओलीले दुःख र विपद्का बेला राजनीतिक मतभेदभन्दा माथि उठेर सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो। सरकारलाई साथ दिन एमाले तयार रहेको तर सहयोग गर्न खोज्नेहरूलाई काम गर्ने वातावरणसमेत सरकारले उपलब्ध गराउनुपर्ने उहाँले बताउनुभयो।

यसैबीच, एमालेको टोली नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर राहत, उद्धार तथा पीडितको अवस्थाबारे स्थलगत जानकारी लिने र आवश्यक सहयोग गर्ने तयारीमा रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४