काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानूपातिक बन्दसूचीबाट ५५० जना उम्मेदवारको नाम हटाएको छ । जसमा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाएका ३६९ जनासमेत रहेका छन् ।
दलहरुले बन्दसूचीमा राखेका तर विभिन्न कारणले उम्मेदवार हुन अयोग्य भएकालाई आयोगले सूचीबाट हटाएको हो ।
आयोगले निर्वाचन कानून र आचारसंहिता उल्लंघनमा परी जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारीमा परेकाहरु, कालोसूचीमा रहेका र लाभको पदमा बसेकाहरुको नाम हटाएको हो ।
उमेर नपुगेकाहरुमध्ये प्रतिनिधिसभामा २३ र प्रदेशसभामा २९ जनाको नाम हटेको आयोगले जनाएको छ । दोहोरो उम्मेद्वारी परेकाले ६६ जनाको नाम हटेको छ ।
६ हजार ४ सय ५७ जना उम्मेदवार मध्ये जरिवाना नबुझाउने ३६९ जनासहित दाबी विरोधमा जाँचबुझ गरी ५४८ जना, लाभको पदमा बहाल रहेका एक जना र कालो सूचीमा रहेका एक जना गरी ५५० जनाको नाम बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ ।
