Jana Prahar

शुक्रबार, असोज ३० २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘बालेन’को जितले राजनीतिमा तरंग


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ १४ २०७९
  • 7.1K
    SHARES

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले सडकदेखि संसद्सम्म चर्चा पाएका छन् । सडकको चर्चा बधाई र आशामा केन्द्रित छ भने संसद्मा नेताहरूले संशयसहित चर्चा गरेका छन् । खासगरी नेताहरूले दलीय व्यवस्थासँग जोडेर बालेनको जितको अर्थ लगाइरहेका छन् । ठूला राजनीतिक दलका प्रमुखहरू समेत ‘बालेन’को जित सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्, त्यो पनि संशयका साथ । यसले ‘बालेन’को जितले राजनीतिमा तरंग ल्याएको सहजै अनुमान लगाउन सकिन्छ ।

पूर्व सभामुख दमननाथ ढुंगाना काठमाडौँ महानगरको नेतृत्व दलीय संयन्त्रभन्दा बाहिर जाँदा शीर्ष नेताहरू झस्किनु स्वाभाविक रहेको बताउँछन् । ‘राजधानीको नेतृत्वलाई भावी मुलुककै नेतृत्वका रूपमा हेरिन्छ । त्यसकारण स्वतन्त्र उम्मेदवार लोकप्रिय मतका साथ विजयी हुँदा शीर्ष नेताहरू झस्किनु स्वाभाविक हो’ ढुंगाना भन्छन्, ‘संसद्मा शीर्ष नेताहरूले बालेनको चर्चा गरेका छैनन्, संशय र कुण्ठा व्यक्त गरिरहेका छन् ।’

पूर्व सभामुख ढुङ्गानाले भने जस्तै संसद्मा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने अधिकांश सांसदहरू बालेनको जितबारे बोलिरहेका छन् । बालेनलाई बधाई दिन्छन्, सहकार्य गर्न तयार रहेको बताउँछन् । बालेन जस्ता स्वतन्त्र उम्मेदवारले जित्नु दलहरूप्रतिको अविश्वास हो भन्न पनि छुटाउँदैनन् ।

काठमाडौँ महानगरको नेतृत्वमा स्वतन्त्र उम्मेदवार विजयी भएपछि केन्द्रीय राजनीतिमा नै तरंग आएको छ । संघीय संसद्को बैठकमा सांसदहरू बालेको जितलाई देखाएर दलहरूप्रति जनतामा अविश्वास बढेको अभिव्यक्ति दिइरहेका छन् ।

बिहीबार प्रतिनिधिसभामा बोल्दै पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले दलहरू नसुध्रिए धेरै बालेनहरू जन्मिने चेतावनी दिए । अर्थात्, खनालको अभिव्यक्तिमा बालेनको जित राजनीतिक दलहरूका लागि खतरा हो भन्ने भाव झल्किन्थ्यो । उनले भनेका छन्, ‘राजनीतिक दल ठिक ढंगले चल्न नसके धेरै बालेन जन्मनेछन् ।’ बालेनजस्ता पात्रहरूले चुनाव जित्ने वातावरण थप मौलाए राजनीतिक दलहरूको अस्तित्व समाप्त हुँदै जाने उनको चिन्ता छ । ‘हामीले बेलैमा सोच्नुपर्ने हुन्छ । बालेनहरुले जित्दै गए राजनीतिक दलहरूको अस्तित्व समाप्त हुँदै जान्छ ।’ खनालले भने ।

नेता खनालले भने जस्तै समाजशास्त्री ममता शर्मा पनि पछिल्लो समय मतदाताहरूमा राजनीतिक दलका आधिकारिक उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारहरूप्रति विश्वास बढेको देखिएको बताउँछिन् ।

‘काठमाडौँमै पनि झण्डै चार दशकदेखि मेयरमै भोट मागिरहेका, विगतमा जितेर काम गरे पनि उम्मेदवार र बिलकुल नयाँ व्यक्ति पनि उम्मेदवार भए । त्यस्तोमा नागरिकले नयाँपन खोज्नु स्वाभाविक हो’ उनी थप्छिन्, ‘राजनीतिक दलहरूले एउटै व्यक्तिलाई पटक-पटक अवसर दिनु स्वतन्त्र उम्मेदवारको जितको आधार भएको देखिन्छ ।’

समाजशास्त्री शर्माले भने जस्तै ३० वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा देशैभर स्वतन्त्र उम्मेदवारको लहर बढेको पाउन सकिन्छ ।

काठमाडौँ महानगरपालिकामा मात्र नभई सुनसरीको धरान उपमहानलपारिका प्रमुखमा चुनाव लडेका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राई निर्वाचित भए । जनकपुरधाम उपमहानगरपालिका प्रमुखका पनि स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित भए । यता, कैलालीको धनगढी उपमहानगर प्रमुखका स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भए । महोत्तरीको बर्दिबास नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्री विजयी भए । उपप्रमुखमा पनि स्वतन्त्र प्यानलकै तारादेवी महतो निर्वाचित भइन् ।

समाजशास्त्री शर्माले भने जस्तै ३० वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा देशैभर स्वतन्त्र उम्मेदवारको लहर बढेको पाउन सकिन्छ ।

माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार कर्मा छोइवेल गुरुङ विजयी भए । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी विजयी भए । जुम्लाको चन्दननाथ नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत र खाँडाचक्र नगरपालिकाको प्रमुखमा कमलबहादुर शाही पनि निर्वाचित भए । भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार दौलथकुमार कुलुङ विजयी भए ।

भोजपुरकै मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा पनि स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्लदाली विजयी भए । हुम्लाको चङ्खेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही विजयी भए । मनाङको मनाङ ङिस्याङ गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ निर्वाचित भए । बाजुराको बुढीनन्दा नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी भए । बाजुराकै डिलासैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कुल ३ हजार ४९९ जनाले उम्मेदवारी दिँदा त्यस अन्तर्गत १ हजार ३ सय ९३ जनाको स्वतन्त्र उम्मेदवारी थियो ।

गाउँपालिका अध्यक्षका लागि देशभरबाट परेका २ हजार ३८७ उम्मेदवारीमध्ये १ हजार ३२ जनाको स्वतन्त्र उम्मेदवारी परेको थियो । उपमेयरमा देशभरबाट २ हजार १५८ जनाको उम्मेदवारी पर्दा ३९६ जनाको स्वतन्त्र उम्मेदवारी परेको थियो । देशभरबाट उपाध्यक्ष पदका लागि २ हजार ४०२ जनाको उम्मेदवारी पर्दा ३६४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । वडाध्यक्ष र स्वतन्त्रहरूमा पनि उस्तै उम्मेदवारी परेको थियो । देशका विभिन्न पालिकाहरूको वडा नेतृत्वमा पनि स्वतन्त्र उम्मेदवारहरू विजयी भएका छन् ।

देशका विभिन्न क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भए पनि ‘बालेन’को जितले भने केन्द्रीय राजनीतिमा नै तरंग ल्याएको छ । बालेनलाई पराजित गर्न मरिहत्ते गरेका ठूला राजनीतिक दलका नेताहरू नै निर्वाचन परिणामपछि बालेनसँग सहकार्य गर्न तयार रहेको अभिव्यक्ति दिन थालेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नै नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । लोकप्रिय मतसहित काठमाडौँको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै उनले यस्तो प्रस्ताव गरेका हुन् । ‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौँलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न हाम्रो पार्टी सदैव तत्पर रहेको छ,’ नेपालले सन्देश नै जारी गरेर भनेका छन् ।

महानगरको नेतृत्व मात्रै लिएर काम गर्न सकिँदैन भन्ने मनोविज्ञान नेताहरूमा छ त्यही मनोविज्ञानले महानगरपालिकाका अन्य पदाधिकारीहरूले भूमिका खेले भने समस्या हुन सक्ने कतिपयको आशंका छ ।

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह परिवर्तनको सङ्केत भएको बताउँछन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमाथि बोल्दै नेता महतोले बालेन शाह समाज र राजनीति परिवर्तनको सङ्केत भएका बताएका हुन् ।

मुलुकमा विकास र लोकतन्त्र कमजोर हुनुमा सबै राजनीतिक दल भागीदार भएको टिप्पणी गर्दै उनले पनि दलहरू नसुध्रिए परिवर्तनको संकेतहरु आउने अर्थात्, बालेनहरुले जित्नेक्रम अझ तीव्र हुने बताए । ‘लोकतन्त्र कमजोर र भ्रष्टाचारतन्त्र बलियो भएको छ । स्थानीय तह निर्वाचनले पनि लोकतन्त्र कमजोर पार्ने काम गरेको छ । यस्तोमा बालेनहरुले जित्नु परिवर्तनको सङ्केत हो’ नेता महतोले भने ।

नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा बालेन्द्र शाहको विजयले राजनीतिक दलहरूलाई दबाब दिएको बताउँछन् । बालेनको जितले बदलिएको समयअनुरूप राजनीतिक दल, नेतृत्व, व्यक्ति, प्रवृत्ति र पद्धति सबैले आफूलाई बदल्नुपर्ने समय आएको सन्देश दिएको उनको भनाइ छ ।

मुख्य दलको शैली र प्रस्तुतिप्रति असन्तुष्ट मतदाताले वैकल्पिक राजनीतिको नारा र दल नरोजेको शर्माको भनाई छ । शर्मा भन्छन्, ‘अवस्थाप्रति रुष्ट मतदाताले व्यवस्थाकै विकल्प खोज्न चाहनेलाई रोजेनन् । नत्र वैकल्पिक राजनीतिको नारासहितको दल र उम्मेदवारको उपस्थिति मैदानमा थियो अनि व्यवस्थाकै विकल्पको नारासहितको दल र उम्मेदवार पनि मैदानमा थिए ।’

काठमाडौँका मतदाताले दिएको सन्देश गहन रूपले आत्मसात् गर्नुपर्ने शर्मा भनाई छ । ‘मतदाताले विजयी बनाइसकेपछि बालेन एक्लै हुन् वा एक्लै छन् नसोचौँ । जनताको काममा जन निर्वाचित मेयरलाई सघाऔँ,’ उनले भनेका छन् ।

नेता शर्माले बालेनलाई सघाउ भनेका छन् । बालेनको चुनौती यही हुन सक्ने कतिपयको आकलन छ । अर्थात्, महानगरको नेतृत्व मात्रै लिएर काम गर्न सकिँदैन भन्ने मनोविज्ञान नेताहरूमा छ त्यही मनोविज्ञानले महानगरपालिकाका अन्य पदाधिकारीहरूले भूमिका खेले भने समस्या हुन सक्ने कतिपयको आशंका छ । तर, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य स्वतन्त्रबाट जितेर काम गर्न सक्दैन भन्नु गैर जिम्मेवार कुरा भएको बताउँछन् ।

‘ठुला दलका नेताले स्वतन्त्र उम्मेदवारले काम गर्न सक्दैनन् भन्नु उनीहरूले केही राम्रो काम गर्न प्रयास गर्नेछन् तर हामी त्यसलाई फेल गरिदिनेछौँ भन्नुसरह हो’ आचार्य थप्छन्, ‘सिधै काम नै गर्न सक्नुहुन्न भनिदिने ? कसरी भन्न सकेको होला ?’ असल काम गर्नेलाई सहयोग गर्ने र स्वेच्छाचारी हुन खोजे रोक्ने प्रयास गर्दा दलहरूलाई उनको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४