काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धन भत्काउने षडयन्त्र भइरहेको बताएका छन् ।
काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘गठबन्धनमा रहेका दलहरुको बीचमा विश्वास छ । तर, गठबन्धन तोड्नका लागि भयंकर षडयन्त्रहरु भइरहेका छन्’ नेपालले भने ।
सत्तागठबन्धन तोड्ने प्रयास नेकपा एमालेले गरिरहेको उनको संकेत थियो ।
एमालेले अमेरिकी सहयोगसम्बन्धी सम्झौता संसदबाट अनुमोदन गर्ने बेलामै गठबन्धन तोड्न खोजेको तर, आफूहरु ब्याख्यात्मक घोषणामार्फत गठबन्धन बचाउन सफल भएको उनको भनाइ छ ।
‘एमसीसीका नाममा गठबन्धन तोड्ने प्रयास भएको थियो’ उनले थपे, ‘सुरुमा संसदमा लैजाने केपी ओली नै हो । अहिले निःशर्त समर्थन गर्ने पनि ओली नै हो ।’
अध्यक्ष नेपालले एमसीसीमा ब्याख्यात्मक घोषणा भएकाले पार्टीले उठाउँदै आएको एजेण्डा सम्बोधन भएको रुपमा बुझ्न समेत नेता÷कार्यकर्तालाई आग्रह गरेका छन् । ‘एमसीसीका विषयमा पार्टीले निर्णय गरिसकेको छ । पार्टीको निर्णय सबैले मान्नुपर्छ’ उनले भने ।
‘प्रतिस्पर्धामा हामीले जित्यौं, ओलीले हारे’
अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीसँगको लडाईं आफूहरुले जित्दै आएको पनि बताएका छन् ।
एमालेमै रहेर केपी ओलीविरुद्ध उम्मेदवार खडा गरेर बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यलाई जिताउन सफल भएको उनले बताए ।
बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित राम बहादुर थापाले दल तयाग गरेपछि खाली भएको पदमा भएको निर्वाचनमा एमालेबाट स्वयं बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाबीच प्रतिस्पर्धा भएको थियो ।
देवकोटालाई माधव नेपालको सिफारिसमा सत्ता गठबन्धनले साझा उम्मेदवारका रुपमा जिताएको थियो ।
‘एमालेमै रहेर राष्ट्रिय सभा सदस्यको निर्वाचनमा केपी ओलीसँग प्रतिस्पर्धा हामीले नै गरेको र हामीले नै केपी ओलीलाई हराएको हो,’ नेपालले भने ।
यस्तै, माधव नेपालले एमाले फुटाएर नयाँ पार्टी दर्ता गरेपछि भएको भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पनि एमालेका उम्मेदवारहरु सत्ता गवठबन्धनका उम्मेवारहरुसँग पराजित भएको सुनाए ।
यही प्रसंग जोड्दै नेपालले थपे, ‘केपी ओली र हाम्रो प्रतिस्पर्धामा हामीले जितेका छौं । जहाँ प्रतिस्पर्धा, त्यहाँ हामीले जित्यौं, केपी ओलीले हारे ।’