काठमाडौ । अन्तर्राष्ट्रिय मुद्रा कोषले (आईएमएफ)मार्फत नेपालको लागि २८२.४२ मिलियन एसडीआर (३९५.९ मिलियन अमेरिकी डलर करिब रू.४६ अर्ब ७० करोड) बराबरको शून्य ब्याज दरको सहुलियतपूर्ण क्रण स्वीकृत गरेको छ ।
उक्त क्रण सहायतामध्ये ११० मिलियन अमेरिकी डलर बराबर रकम तत्काल पहिलो किस्तामा प्राप्त हुनेछ र बाँकी रकम विभिन्न किस्तामा क्रमशः प्राप्त हुने अर्थ मन्त्रालयले जनाएको छ ।
‘अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने उक्त सहायता नेपालको आवश्यकता र प्राथमिकताका आधारमा बजेटमा समावेश गरी खर्च गर्न सकिनेछ । उक्त कोषसँग भएको प्रारम्भिक छलफलका आधारमा चालू आवको बजेटमा समेत उक्त स्रोत कायम गरिएको छ,’ कोषले भनेको छ ।
कोभिडका कारण उत्पन्न असहज परिस्थितिलाई सामना गर्न नेपाल सरकारले अख्तियार गरेको नीति र प्रयासको अन्तर्राष्ट्रिय मुद्रा कोषको बोर्डका कार्यकारी निर्देशकहरुले उच्च प्रशंसा गर्दै परिपूरकको रुपमा उक्त सहयोग प्रदान गरेको जानकारी गराएका छन् ।
