पूर्वलडाकु कमाण्डर प्रकाश पाण्डे (प्रलोक) को नेतृत्वमा १० जनाको टोलीले अध्यक्ष प्रचण्डको सुरक्षा जिम्मा लिएको छ । प्रचण्डको सुरक्षामा खटाइएको सरकारी सुरक्षाकर्मीलाई सरकारले फिर्ता बोलाइए पछि यो टोली सार्वजनिक रुपमा अध्यक्ष प्रचण्डसँगै साथमा हिँडेको बताइन्छ ।
अध्यक्ष प्रचण्डको सुरक्षामा हिँडेका टोलीका सबै सदस्यहरु युवा संघमा आबद्ध रहेको बताइएको छ । नेकपा विभाजन हुन अघिसम्म प्रलोकको कमान्डमा रहेका सुरक्षाकर्मीहरु सुरक्षा सहयोगीको रुपमा मात्रै थिए । तर, नेकपा विभाजनलगत्तै सरकारले अध्यक्ष प्रचण्डको सुरक्षाका निम्ति खटाइएको सुरक्षाकर्मी फिर्ता लियोे त्यसपछि तत्काल प्रलोकको टोलीले सुरक्षा दिन थालेको बताइएको छ ।

सरकारले पूर्वप्रधानमन्त्रीहरुको सुरक्षाका निम्ति भनेर सुरक्षा दिँदै आएकोमा हाल अध्यक्ष प्रचण्डको सुरक्षामा सरकारतर्फबाट दुई जना नेपाल प्रहरीका र करिब १३ जना सशस्त्र प्रहरीका टोली गरी १५ जना मात्र रहेको जनाइएको छ ।
नेकपा विभाजनअघि अध्यक्ष प्रचण्डको सुरक्षामा नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ जना र सशस्त्रबाट इन्स्पेक्टरको कमान्डमा ४७ जना गरी ७३ सुरक्षाकर्मी खटिदै आएका थिए ।
यसरी हाल सरकारी तर्फबाट १५ र पूर्वलडाकुका सुरक्षाकर्मी गरी २५ जनाले मात्र उनको सुरक्षा गर्दै आएको जनाइएको छ ।