Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसारकै चर्चित सेफ कूक भर्जिनी भन्छिन्,-मेरो किचनमा महिला पुरुषको विभेद छैन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २६ २०७४
  • 5.5K
    SHARES

स्वीट्जरल्याण्डको कुटनीतिक शहर जेनेभामा संसारैभरी नाम कमाएको पाँच तारे होटल छ -ला रिजर्भ। झण्डै सय जना समूहको नेतृत्व गर्दै प्रमुख कूकको भूमिकामा छिन् भर्खरकी फ्रेन्च युवती भर्जिनी बासेलोत।

सानैमा लडाकू जेटको पाइलट भन्ने सपना बोकेकी अठ्तीस वर्षीया भर्जिनी बासेलोत संसारकै नामी सेफ हुन्। फ्रान्सको नोर्मान्दी गाउँको सामान्य परिवारमा जन्मिएकी भर्जिनी फ्रान्समा विशेष प्रतियोगिताबाट छनोट हुँदै उत्कृष्टलाई प्रदान गरिने विशेष सेफ कूकको उपाधि पाइन्।

नयाँ नयाँ खानाको परिकल्पना, समूहमा काम गर्ने खुबी, व्यवसायिक स्तरोन्नति जस्ता सबै कुरा हेरेपछि उत्कृष्ट कूकहरु मध्येबाट दिइने यो सम्मान विश्वमै निकै आदरको विषय मानिन्छ।

फ्रान्सको झण्डाको रंग अंकित पहिरन लगाउने अधिकार यो पुरस्कार प्राप्त गर्नेलाई मात्रै हुन्छ ।

जेनेभाको चर्चित र महंगो पाँचतारे होटलका ग्राहकहरु यसै पनि विशेष हुने नै भए । विभिन्न देशका सरकार प्रमुखहरु, नाम चलेका खेलाडी, गायक, व्यवसायी, लेखक र धनाढ्यहरुमाझ यो होटल चर्चित हुनुका पछाडि भर्जिनी बासेलोतको कौशलता जोडिएको छ।

संसारैभरी खाना बनाउने पेशा निकै सम्मानित पेशा हो । एकदमै व्यवस्तताका बीच उत्कृष्ट भोजन तयार गरेर दिने काम ख्याल ठट्टाको कुरो होइन । त्यसैले युरोप अमेरिकातिर सेफ कूकमा धेरैजसो पुरुषहरुकै बोलवाला छ । उनीहरुको नामैले पनि कतिपय ठूला तारे होटलहरुमा महंगो खाना खान जानेहरुको भीड लाग्छ ।

नारी दिवसको सन्ध्यामा भर्जिनी आफ्ना पुराना दिनहरुतिर फर्किइन्। बाबुको सानो रेष्टुराँ। सानैदेखि भान्सा, परिकारसँगै खेल्दै पेरिसभन्दा पर नोर्मान्दीमा बिताएका स्कूले दिनहरू।

लडाकू विमान चलाउने सपना बोकेर पढिरहेकी उनलाई फ्याट्ट कसैले भनिदियो, लडाइँका जेट चलाउने पुरूषले हो । महिला भएर पनि त्यस्तो सोँच्ने ?

कलिलो दिमाग। उनले बाटो बदलिन् । मनमनै वाचा गरिन् मैले जे गर्छु उत्कृष्ट गर्छु। सानैदेखि बाबुसँग रेष्टुराँको भान्सामा हुर्किएकी उनले कूक बन्ने अठोट गरिन्। हामीकहाँ आसिक दिँदा डाक्टर र इन्जिनियर बाहेक अर्थोक बनुन् भन्ने चलन छैन तर युरोपको कुरो भिन्दै छ । स्कूलको पढाइ सकेपछि एकदिन उनले बालाई आफू व्यवसायिक कूक बनेर देखाउने अठोट गरेको सुनाइन् र विभिन्न खानेकुरा बनाउन सिकाउने कलेजमा भर्ना भइन्।

पढाइसँगसँगै उनको दक्षता बढ्दै गयो। पढाइकै क्रममा उनी सपनाको शहर पेरिस आइपुगिन्। १९ वर्षकी भख्खरकी भर्जिनी। गाउँबाट काठमाडौं सपना बोकेर हिँडेजस्तो। त्यहाँको क्रिलोन होटलमा कूकको रुपमा छिरिन्। पुरुष भान्से । टिममा पुरुषहरुको बोलवाला । बेसरी काम गर्न सके एक महिना हो भन्थे अरूले। तर, त्यहाँ उनले अठार महिना काम गरेर देखाइन्। टिम प्रमुखको बराबरीमा काम गरेपछि उनमा आत्मविश्वास बढ्यो।

त्यसपछि उनी अझ चर्चित होटल खोज्न थालिन्। भेटियो पेरिसको तीनतारे चर्चित होटल ग्राँ भेफो। त्यहाँ पच्चिस जना सेफको कमान्डिङ गर्दै काम गर्ने अवसर मिल्यो।

पत्रपत्रिकामा उनको बारेमा चर्चा छापिन थाल्यो। ग्राहकहरुले खाइरहेको टेबुलमा बोलाएर टोपी फुकालेर, झुकेर विनम्रतापूर्वक कति राम्रो खाना बनाउनुभएको, तपाइँको बारेमा सुनिराखेका छौँ । प्रगति गर्नुहोला भनेर धन्यवाद दिन थाले। हत्पति लोलोपोतो मिलाउने हिसाबले मात्र ग्राहकहरुले भन्दैनन् । साँच्चिकै मीठो खाना र स्तरीय भयो भने मात्र ग्राहकहरुले स्याबासी दिने गर्छन्।

उनी आफैंले हजुरआमाले सानैमा दिनदिनै बनाएर ख्वाउने घरकै खाना तारे होटलमा बनाएर ग्राहकलाई ख्वाइन्। नोमान्दी भेकमा चल्ने अमिलो र स्थानीय तरकारी मिसाएर खालको खाना त्यतिन्जेलसम्म गाउँतिर खाने भनेर उतिसारो चिनिएको थिएन । उनले पेरिसमा चर्चित नै बनाइन्।

त्यसपछि पेरिसकै चर्चित पाँचतारे ल ब्रिस्तोमा उनले त्यतिखेर संसारैभरी नामी एरिक फ्रेन्सी र फ्रान्क लिओरीको टीममा काम गर्ने मौका पाइन् । सन् ०१० मा उत्कृष्ट पाँच सेफ कूकमा गनिएकी भर्जिनीले पछि त फ्रान्सकै उत्कृष्ट सम्मान हात पारिन् ।

व्यवसायिक रूपमा ठूला होटल र रेष्टुराँमा पुरूष सेफहरुकै हालिमुहाली हुँदा महिला सेफको रुपमा काम गर्दा अप्ठेरो हुँदैन? भन्ने प्रश्नमा उनले भनिन्, कस्तो गम्भीर प्रश्न । म महिला सेफ कूक भएकै कारण बढी ख्याल गरिएको पाउँछु। तर यसले मलाई झन् राम्रो खानेकुरा बनाउन उत्प्रेरित गरिरहेको हुन्छ। पुरुष सेफहरुले खाना तयार गरेर दिँदा खासै सोधखोज नहुने तर महिलाहरुले बनाउँदा अलि स्वाद खोज्ने चरित्र देख्दा अचम्म लाग्छ। यसले अलिकति दबाब दिएजस्तो भए पनि नयाँ नयाँ खालका परिकार अविष्कार गर्न यसले सघाउ पुगेको हुन्छ।

अहिले भर्जिनी बासेलोतसँग काम गरेको भन्ने बित्तिकै ठूला तारे होटलमा पनि काम पाइने भैसकेको छ युवायुवतिको निम्ति। फ्रान्स, अमेरिका, लण्डनदेखि विभिन्न ठाउँका युवायुवतिहरु उनीसँग सिक्न पाए हुन्थ्यो भनेर होटलमा काम पाउनको निम्ति आवेदन दिइरहेका हुन्छन्। निकै खट्नुपर्ने काम, दिन रात, छुट्टि पनि नभनी निकै तनावमा भान्साको काम गर्नुपर्ने हुँदा पुरुष र महिलाहरुमा केही फरक हुन्छ कि? भन्ने प्रश्नमा उनले भनिन्, किन फरक हुने ? मेरो किचनमा महिला र पुरुषमा कुनै विभेद छैन । के फरक हुन्छ र महिला पुरुषमा काम गर्नको निम्ति। दुवै उत्तिकै सक्षम र सबल हुन्छन् । महिलाहरु छिटो थाक्छन् कि ? प्रेसरमा काम गर्न सक्दैनन् कि भनेर कसैले सोच्छ भने गलत हो।

हरेक समय नयाँ नयाँ खाना बनाउने र त्यसलाई उत्कृष्ट रुपमा प्रस्तुत गरेर ग्राहकसम्म पुर्‍याउने उनको कलाको बारेमा फ्रान्स, स्वीट्जरल्याण्डको टेलिभिजन, पत्रपत्रिकामा आइरहेको हुन्छ। उनीसँग काम गरेर खारिएका नयाँ नयाँ सेफ कूकहरु न्यूयोर्कदेखि सिड्नी, हनोइदेखि लण्डनसम्म काम गरिरहेका छन् ।

शारीरिक रुपमा मात्रै फरक हो, मनमा दृढ इच्छाशक्ति भएर लाग्ने हो भने लक्ष्यमा पुग्न सकिन्छ । महिला र पुरुषको बीचमा उनको धारणा यत्ति छ।

तैपनि महिला भनेपछि संसारैभरीका मानिसहरुको दृष्टिकोण अलि फरक रहेको जस्तो अनुभूति उनले पनि गर्छिन्। यो दबाबले उनलाई झन् नयाँ उर्जा दिन्छ। खानेकुरामा सौखिन फ्रान्सका मानिसहरुमा मात्रै हैन संसारैभरीका मानिसहरुका निम्ति उदाहरण बनेकी छिन् भर्जिनी बासेलोत।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४