काठमाडौं — एकान्तकुना स्थित यातायात व्यवस्था कार्यालयबाट १५ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। सेवाग्राहीलाई हैरानी दिने र अवैध रूपमा रकम असुल्ने गतिविधि बढेपछि प्रहरीको संयुक्त टोलीले विशेष अपरेशन सञ्चालन गरेको हो।
जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटो को संयुक्त टोलीले उक्त कारबाही गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले ‘फास्ट ट्र्याक’मा काम गरिदिने भन्दै सेवाग्राहीसँग अतिरिक्त रकम लिने, अनावश्यक झन्झट सिर्जना गर्ने तथा सेवाप्रवाहमा अवरोध पुर्याउने गरेका थिए। यस्ता गतिविधिबारे गुनासो बढेपछि निगरानीसहित अपरेशन अघि बढाइएको थियो।
पक्राउ परेकाहरूलाई हाल सातदोबाटो स्थित प्रहरी वृत्तमा राखिएको छ र उनीहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्र ले पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।
यस कारबाहीलाई सेवाग्राहीमैत्री सेवा प्रवाह कायम गर्ने तथा बिचौलिया प्रवृत्ति नियन्त्रण गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।