काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्लेले आफूविरुद्ध सामाजिक सञ्जालमा झुटा तथा भ्रामक सामग्री फैलाइएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।
वाग्लेले झुटो विवरण तयार गरी आफ्नो मानमर्दन गर्ने तथा सामाजिक सद्भाव खल्बल्याउने उद्देश्यले सामग्री प्रचारप्रसार गरिएको आरोप लगाएका छन्। उनले त्यस्ता गतिविधिमा संलग्न व्यक्ति वा समूहको पहिचान गरी कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन्।
साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले वाग्लेबाट उजुरी प्राप्त भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, नक्कली सामग्री प्रसारण गर्ने तथा व्यक्तिगत प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यका गतिविधिबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।
उजुरीमा धर्म तथा व्यक्तिगत अवस्थाबारे भ्रम सिर्जना गराउने किसिमका सामग्री सामाजिक सञ्जालमा फैलाइएको उल्लेख गरिएको छ। यस्ता गतिविधिले सामाजिक सौहार्दता खल्बल्याउन सक्ने भन्दै वाग्लेले सम्बन्धित निकायलाई गम्भीरतापूर्वक छानबिन गर्न आग्रह गरेका छन्।
उजुरीमा भनिएको छ, “सामाजिक सञ्जालमा झुटा र भ्रामक समाचार सिर्जना गरी मानमर्दन र सामाजिक सौहार्दता खल्बल्याउने कुनियतले सामग्री प्रचारप्रसार गर्नेहरू पत्ता लगाई हदैसम्मको कारबाही गरिपाऊँ।”
वाग्लेले आफूलाई बागमती प्रदेशकी सांसद भनेर चिनाउने लक्ष्मी घिमिरे तथा मोहन लामा रूम्बाबाट प्रेषित सामग्रीले आफ्नो प्रतिष्ठामाथि आँच पुर्याउने खराब नियत देखिएको भन्दै ती सामग्रीप्रति पनि गम्भीर आपत्ति जनाएका छन्।
यस घटनाले चुनावी माहोलमा सामाजिक सञ्जालको प्रयोग, अफवाह र भ्रामक सामग्री नियन्त्रणको विषय पुनः चर्चामा आएको छ। पछिल्लो समय विभिन्न राजनीतिक व्यक्तित्व तथा उम्मेदवारविरुद्ध सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाउने घटनाहरू बढ्दै गएको भन्दै सरोकारवालाले सचेत रहन आग्रह गर्दै आएका छन्।
प्रहरीले उजुरीमाथि अनुसन्धान अघि बढाइसकेको जनाउँदै दोषी ठहरिए कानुनअनुसार कारबाही गरिने जनाएको छ। घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक हुने बताइएको छ।