काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीहरूमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन्। बिहीबार, भक्तपुरको जनक शिक्षा सामग्री केन्द्रको मतपत्र छपाइस्थलमा अनुगमन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भण्डारीले केही उम्मेदवारविरुद्ध आयोगमा उजुरी परेको र त्यसबारे अनुसन्धान प्रक्रिया जारी रहेको जानकारी दिए।
उहाँले भन्नुभयो, “उम्मेदवारहरूले आवश्यक स्पष्टिकरण बुझाइरहेका छन्। आयोगले प्राप्त उजुरीको अध्ययन पछि आवश्यक निर्णय लिनेछ।” यसअघि पनि आयोगले आचारसंहिता उल्लङ्घन सम्बन्धी उजुरीहरूको समयमै छानबिन र कारबाही सुनिश्चित गर्दै आएको छ।
उक्त समयमा भण्डारीले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य सक्रिय रूपमा जारी रहेको जानकारी दिए। हालसम्म ७२ लाख ६० हजार मतपत्र छपाइ भइसकेको र ५ हजार ८ सय २५ बाकस प्याकिङ्ग भइसकेको आयोगले जनाएको छ।
निर्वाचनका लागि जम्मा २ करोड ३ लाख २३ हजार मतपत्र आवश्यक पर्ने बताइएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि आवश्यक २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको र ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ।
निर्वाचन आयोगले मतपत्र छपाइ, प्याकिङ्ग र वितरण प्रक्रियामा पारदर्शिता कायम राख्दै सुरक्षित र समयमै निर्वाचन सम्पन्न गर्ने योजना अघि बढाइरहेको छ। आयोगले उम्मेदवारहरूलाई पनि आचारसंहिता पालनामा सतर्क रहन र निर्वाचन प्रक्रियामा नागरिकले निर्धक्क मतदान गर्न सक्ने वातावरण सुनिश्चित गर्न आग्रह गरेको छ।