काठमाडौं । कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको हेर्दाहेर्दैमा राखिएको रिटमा आज (बिहीबार) सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । यसअघि निरन्तर सुनुवाई हुँदै आएको थियो । तर,सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
मंगलबार कुलमान घिसिङका तर्फबाट कानुन व्यवसायीहरूले र बुधबार हितेन्द्रदेव शाक्यका कानुन व्यवसायीले बहस गरेका थिए । यस्तै बुधबार सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले बहस गरेका थिए ।
बिहीबारको बहसमा हितेन्द्रदेव र सरकारी वकिलले बहस गरेपछि कुलमानका कानुन व्यवसायीहरूले जवाफी बहस गरेका थिए ।
बहस सकिएसँगै आदेश लेखनको काम भइरहेको छ भने आदेश आजै आउने बताइएको छ ।
घिसिङले आफ्नो पदाधिकार बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीको अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् ।शाक्यले भने चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै त्यतिबेला रिट दायर गरेका थिए ।
कुलमानलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएपछि सडक र सदनमा सरकारको विरोध समेत गरिएको थियो ।