Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चितवनमा रविविरुद्ध ठगी मुद्दा मात्रै, छविसहित १२ जनालाई भने संगठित अपराध


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २२ २०८१
  • 3K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा” का सभापति रवि लामिछानेविरुद्ध चितवनमा ठगी सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय, चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलले लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लगेको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैंले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको बताए ।

उनले भने, ‘सहकारीको रकम गएका मध्ये एकभन्दा बढी कम्पनीमा सञ्चालक रहेकाहरुलाई पनि संगठित अपराधमा मुद्दा दर्ता भएको छ, लामिछाने भने एउटा कम्पनीमा मात्र सञ्चालक देखिन्छन् ।

सरकारी वकिलले लामिछानेसहित रामबहादुर खनाल, रविना रिमाल, विशाल तामाङ, नविन अछामी, कविता तामाङ, असरफ अली सिद्धिकीविरुद्ध ठगीमा मात्र मुद्दा दायर गरेको छ ।

मुलुकी अपराध संहिताको दफा २४९ मा रहेको ठगीको दफा १ र २ मा कसैलाई बेइमानीपूर्वक कुनै किमिसको हानी, नोक्सानी पुर्‍याए ठगी गरेको मानिने भनिएको छ ।

सरकारी वकिलले उल्लेख गरेको दफा २४९ को उपदफा ३ मा यस किसिमको ठगीमा संलग्नलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने मुलुकी अपराध संहितामा व्यवस्था छ ।

संगठित अपराध र ठगी दुवैमा मुद्दा दायर भएकाहरुमा जिबी राई, सागर केसी, हेमन्त अधिकारी, आशिष राना मगर, अनन्तबाबु राई, भूपेन्द्र राई, देवेन्द्र राई, दिनेश रोका, कुमार रम्तेल, छविलाल जोशी, दिपक लामा र नेत्रप्रसाद बाँस्तोला समेत गरी १२ जना छन् ।

चितवनको सहकारी प्रकरणमा बयान दिने क्रममा रविले अन्यत्रझैँ रकम ल्याउने क्रममा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् ।
अदालतमा दायर अभियोग पत्रमा सहकारीमा बचतकर्ताले राखेको रकममध्ये गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ, नेचर हब्र्स इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ८९७, जीबी ग्रुप अफ कम्पनिजमा ९ करोड २७ लाख ५० हजार ८५४, स्प्रिङउड रियलस्टेट एण्ड हाउजिङमा ६ करोड ८१ लाख ८८ हजार ७०३ रुपैयाँ गएको देखिएको छ ।

नेचर नेष्ट कम्पनीमा ६ करोड ५१ लाख १० हजार ३२२ र गोरखा ग्रुप अफ मल्टी इन्भेष्टमेन्ट– १७ लाख ५८ हजार रुपैयाँ गएको देखिएको छ ।

गोर्खा मिडियामा गएको रकममध्ये जिबी राई, छविलाल जोशी, रवि लामिछाने, कुमार रम्तेल र जिबी ग्रुप अफ कम्पनीबाट भराउनुपर्ने मागदाबी अभियोग पत्रमा गरिएको छ । अन्य कम्पनीमा गएको रकम समेत त्यसका सञ्चालकहरुबाट भराउनुपर्ने माग दाबी लिइएको छ ।

रवि लामिछानेले पहिले आफू सहकारीको रकम ल्याउने काममा संलग्न नरहे पनि सञ्चालक रहँदा खर्च भएको रकमको जिम्मेवारी लिन तयार रहेको सार्वजनिक रुपमै बताएका थिए । अहिले चितवनको सहकारी प्रकरणमा बयान दिने क्रममा उनले अन्यत्र झैँ रकम ल्याउने क्रममा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् ।

लामिछानेले टेलिभिजनमा रकम ल्याउने कार्यमा सञ्चालकका रुपमा जिबी राई नै जिम्मेवार रहेको भनेका छन्, ‘कम्पनीका चेकहरुमा हस्ताक्षर गर्ने व्यक्तिहरुमध्ये म एक भए पनि कम्पनीको लगानीकर्ता म थिइनँ, मेरो जिम्मेवारी भनेको ग्यालेक्सी फोरके टिभीमा प्रशारण हुने सामग्रीमा केन्द्रित थियो ।

“जीबीको निर्देशनमा जिम्मेवारी निभाएको थिएँ, ठगी गरेको छैन”

लामिछानेलाई सहकारी रकम अनियमिततामा जिम्मेवार बनाउनुपर्ने भन्दै एमाले सांसद् सूर्य थापाको नेतृत्वमा गठित संसदीय विशेष समितिले ४ असोज २०८१ मा प्रतिवेदन बुझाएको थियो ।

थापा नेतृत्वको समितिको प्रतिवेदनमा विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ गएको देखिएको भनिएको थियो ।

त्योमध्ये २२ करोड ४६ लाख रुपैयाँ सूर्यदर्शन, सुप्रिम, सानोपाइला, स्वर्णलक्ष्मी, समानता र सहारा सहकारीबाट जम्मा भएको देखिएको थियो भने ४३ करोड ७ लाख रुपैयाँ विभिन्न व्यक्तिका नाममा ऋण देखाएर गोर्खा मिडिया नेटवर्कमा जम्मा गरेको देखिएको निष्कर्ष निकालिएको थियो ।

प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयपछि गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीलाई ६ असोजमा पक्राउ परेका थिए भने रवि २ कात्तिकमा वनस्थलीस्थित पार्टी कार्यालयबाट समातिएका थिए ।

उनलाई कास्की जिल्ला अदालतले ६५ लाख, काठमाडौं जिल्ला अदालतले ६० लाख र रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटीमा छाडेको थियो । कास्की र काठमाडौं जिल्ला अदालतले उनलाई क्रमशः धरौटीमा छाड्ने आदेश दिएपछि लामिछानेले बाहिरै रहेर मुद्दाको प्रक्रियालाई सघाउने सुविधा पाएका छन् ।

चितवनमा मुद्दा दर्ता भएसँगै उनी अदालत हाजिर भएपछि उनको मुद्दामा थुनछेक बयान र बहस हुनेछ । त्यसपछि साधारण तारेखमा छाड्ने, धरौटी तोकेर छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा आदेश न्यायाधीशले गर्नेछन् । चितवनपछि पर्सामा पनि उनीविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता हुने क्रममा छ ।

अनुसन्धान अन्तिम चरणमा पुगेपछि केही दिनअघि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय, पर्सालाई सहयोग गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि त्यहाँ पठाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४