काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”का सभापति रवि लामिछानेको हिरासत बसाइ पुनः लम्बिएको छ । सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि गार्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्धक समेत रहेका रबि लामिछाने कम्तीमा बुधबारसम्म हिरासतमा रहनुपर्ने भएको हो ।
मंगलबार सरकारी बिदा भएकाले बुधबार मात्रै फेरि निरन्तर सुनुवाइ हुनेछ । उनीविरुद्ध काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि मुद्दा दर्ता भएको थियो । मुद्दाको बयानका लागि रबि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए । बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले आइतबार रवि लामिछानेलाई हिरासत पठाउने आदेश दिएका हुन् ।
सोमबार पनि रवि लामिछाने पक्षका वकिलहरूले बाहिरै राख्न अनुरोध गरेका थिए । तर, न्यायाधीश अधिकारीले आइतबारकै आदेशलाई निरन्तरता दिए । काठमाडौं जिल्ला अदालतमा सोमबार पीडित र सरकारी वकिलले बहस गरेका थिए । समय अभाव भएकाले प्रतिवादीको तर्फबाट भने बहस हुन सकेको छैन ।
उनको आदेशसँगै रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको थियो । रबि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो । बुधबार अदालतमा पेस गर्न आदेश दिएको छ ।
प्रहरीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको रबि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गरेको छ । स्वर्णलक्ष्मी सहकारीका साढे पाँच हजार बचतकर्ताको एक अर्ब १९ करोड संगठित रूपमा ठगी गरेको अभियोग छ ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा उहाँ बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले रबि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।