काठमाडौं । एक्लाएक्लै चुनाव लड्ने घोषणा गरेका नेकपा एमाले र नेपाली कांग्रेसले केही क्षेत्रमा चुनावी तालमेल गरेका छन् । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका चार पदमा नेपाली कांग्रेस-नेकपा एमालेले चार पदमा घोषित रूपमै तालमेल गरेका हुन् ।
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले उपचुनाव हुने ४४ मध्ये ४० स्थानमा उम्मेदवारी दिएको छ । नेकपा एमालेले चार स्थानमा नेपाली कांग्रेसलाई समर्थन गरेको छ । ती चार स्थानमध्ये दुई वटा जिल्ला समन्वय सभापति, एक गाउँपालिका उपाध्यक्ष, र एक वडाध्यक्षको पदमा सूर्य चिन्ह बाहक उम्मेदवार छैनन् । ओखलढुंगा र कैलालीका जिल्लाका समन्वय सभापति पदमा नेकपा एमालेले नेपाली कांग्रेसलाई समर्थन गरेको छ । ओखलढुंगामा नेपाली कांग्रेसका नेता टेकराज भट्टराई निर्विरोध रुपमा जिसस सभापति बनेका छन् ।
कैलालीमा पनि नेपाली कांग्रेसकी टीका चौधरीको जित लगभग निश्चित छ । उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन नेकपा एमाले कैलाली अध्यक्ष यज्ञ ढुंगाना र कैलाली नेपाली कांग्रेस जिल्ला सभापति नारायणदत्त भट्टले संयुक्त हस्ताक्षर गर्दै नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेअनुसार आफ्नो पार्टीको उम्मेदवार नउठाएको नेकपा एमाले अध्यक्ष ढुंगानाको भनाइ रहेको छ ।
रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा समेत नेकपा एमाले र नेपाली कांग्रेसबीच सहकार्य भएको छ । यस क्षेत्रमा उपाध्यक्ष पदमा नेपाली कांग्रेसको रुख चिन्हबाट नेकपा एमालेका जिल्ला उपसचिव केशकुमारी तुलाचनले उम्मेदवारी दिएकी छिन् । स्थानीय नेताहरुबीचको सहमतिका आधारमा उम्मेदवारी दर्ता गरिएको हो । नेपाली कांग्रेसले पनि नेकपा एमालेका उम्मेदवार जीवन रोकालाई समर्थन गर्दै सोही सहकार्यलाई बल पुर्याएको देखिएको छ । सहकार्यले नेकपा माओवादी केन्द्रविरुद्ध नेकपा एमाले र नेपाली कांग्रेसबीच बलियो बनाएको छ । पुथा उत्तरगंगा नेकपा माओवादी केन्द्रको बलियो आधार क्षेत्र मानिन्छ ।
२०७९ को स्थानीय तह निर्वाचनमा त्यहाँ नेपाली कांग्रेस–नेकपा एमाले उम्मेदवार भन्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार दोब्बर मत ल्याएर विजयी भएका थिए । २ वर्षअघिको निर्वाचनमा यो गाउँपालिकामा नेकपा माओवादी केन्द्रकी भूपेन्द्र बुढा ४ हजार ५९ मत ल्याएर निर्वाचित भएकी थिइन् । नेपाली कांग्रेसका कमलाकुमारी मल्लले २ हजार १० र नेकपा एमालेका धर्म घर्ती बुढाले १ हजार ८ सय १२ मत प्राप्त गरेका थिए । पुथामा ११ हजार १८० मतदाता छन् । नेकपा माओवादी केन्द्रबाट विजयी बुढाको बागलुङमा भएको सवारी दुर्घटनामा ज्यान गएपछि उपनिर्वाचन हुन लागेको हो ।
रुकुमपश्चिममा पनि नेकपा एमाले र नेपाली कांग्रेसबीच उपचुनावमा सहकार्य भएको छ । सानीभेरी गाउँपालिका–५ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका मोतीराम खत्रीलाई नेकपा एमालेको समर्थन रहेको छ । यद्यपि नेकपा एमाले र नेपाली कांग्रेसले आम चुनावमा कुनै पनि गठबन्धन नगर्ने घोषणा गरेका थिए । विश्लेषकहरुका अनुसार, रुकुम क्षेत्रका साना दलहरुलाई प्रतिस्पर्धा गर्न कठिन बनाउने उद्देश्यले नेपाली कांग्रेस र नेकपा एमालेबीचको यो सहकार्य गरिएको हो । नेपाली कांग्रेस र नेकपा एमालेले नेकपा माओवादीको प्रभावलाई चुनौती दिन सहकार्य गरेको देखिएको छ ।
नेकपा एमालेका नेताहरु भने स्थानीय स्तरमा भएका यी निर्णयहरुलाई पार्टीको मूल नीतिसँग जोड्न नहुने तर्क गर्छन् । पार्टीको नीति अनुसार अझै पनि एकल प्रतिस्पर्धा नै गर्ने अडान छ। सत्तारुढ दलहरुबीचको यो सहकार्यको प्रवृत्तिलाई आगामी राष्ट्रिय चुनावमा पनि देख्न सकिन्छ कि भन्ने चासो बढेको छ। यसले बलियो क्षेत्रहरुमा अलगअलग प्रतिस्पर्धा गर्ने तर कमजोर क्षेत्रमा सहकार्य गर्ने रणनीतिलाई बल पुर्याएको छ। स्थानीय चुनावहरुमा नेकपा माओवादीविरुद्धको यो सहकार्यले, आगामी निर्वाचनमा दलहरुको गठबन्धन र सहकार्यको मापदण्डलाई पुनः परिभाषित गर्न सक्ने देखिन्छ ।