Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कहाँ हरायो मकवानपुरगढीको साढे ३०० वर्ष पुरानो मन्दिर ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक १९ २०८१
  • 2.8K
    SHARES

काठमाडौँ । देशको सबैभन्दा ठूलो गढी मकवानपुरगढीमा साढे ३ सय वर्ष पुरानो ऐतिहासिक चण्डिनीदेवीको मन्दिर अहिले अस्तित्वमा छैन । मकवानपुरगढीमा वि.स. १७०७ देखि १७३० सम्म शासन गरेका राजा मणिक सेनले निर्माण गराएको चण्डिनीदेवी मन्दिरको नामोनिशान छैन ।

मकवानपुरगढी गाउँपालिका–२ स्थित ऐतिहासिक मकवानपुरगढी दरबारको मूल गेटअगाडि करिब १०० मिटर पूर्व–उत्तर दिशामा चण्डिनीदेवीको मन्दिर रहेको ऐतिहासिक दस्तावेजबाट खुल्छ । प्रा. डा. रामप्रसाद उपाध्यायको नेपालको प्राचीन र मध्यकालीन इतिहास पुस्तक र देशका गढीहरुको इतिहास खोजकर्ता केदार न्यौपानेद्वारा लिखित मकवानपुरको परिचयमा तत्कालीन राजा माणिक सेनले चण्डिनीदेवी मन्दिर स्थापना गराएको पुष्टि सेनले लेखेको शिलालेखमा भेटिएको उल्लेख छ ।

न्यौपानेको मकवानपुर परिचयमा यो चण्डिनीदेवी मन्दिर जग्गा अतिक्रमणबाट गायब बनाइएको दाबी गरिएको छ । शिलाको लम्बाइ १० इन्च ४ लाइन र चौडाइ १ इन्च १० लाइनको छ । ‘चण्डिनीदेवी स्थान नै खनेर व्यक्तिगत संरचना र सडक बनाएकोले देवीको गुठी कहाँ छ भनी ४ वर्षदेखि मैले खोजतलास गरिरहेको थिएँ,’ न्यौपानेले पुस्तकमा भनेका छन् । उनले २०१५ सालसम्म मन्दिरमा पुजारी रहेको बताए ।

गढीबाट वि.सं. २०३६ सालमा हातहतियार बन्दुक, तोपहरु सबै सेनाले उठाएर लगेको भन्ने स्थानीयले बताएको उनले उल्लेख गरेका छन् । सेनाले सुरक्षा दिन छोडेपछि चण्डिनीदेवी स्थान, दरबार र अन्य मन्दिरहरु बेवारिसे हुन पुगेको दाबी पुस्तकमा गरिएको छ । मुकुन्द सेनका कान्छा छोरा लोहाङ सेनले मकवानपुरगढीमा राजधानी वि.सं. १६१० बाट बसालेका थिए ।

त्यसअघि यहाँ राजधानी थिएन । मकवानपुरको स्वतन्त्र राज्य निर्माण गरी राजधानी बनाउने लोहाङ सेन रहेको विभिन्न इतिहास लेखिएका पुस्तकमा दाबी गरिएका छन् । उनको मृत्युपछि छोरा राघव सेन राजा भएको पाइन्छ । उनका छोरा हरिहर सेन, शुभसेन, तीनका छोरा माणिक सेन र महिपति सेन मकवानपुरका राजा भए । राजा माणिक सेनले १७२० ताका चण्डिनीदेवी स्थापना गराएको न्यौपाने बताउँछन् ।

मन्दिरको जग्गा वरपर काठको मौलोसहित स्थापना गरिएको स्थानमा हात्तीले पानीखाने पोखरी मन्दिर जाने सिँडी थियो । राजाले पालेको एक दन्ते सेतो हात्तीले पानीखाने पोखरीमा घरटहरा निर्माण भएको स्थानीयहरु बताउँछन् । जग्गा नाप्ने नापी पिलरसमेत गायब पारिएको छ । समुदायद्वारा निर्मित गाउँघर क्लिनिक २०७० सालसम्म संचालन हुँदै आएको थियो ।

चण्डिनीदेवी मन्दिरको करिब १५ कठ्ठा जग्गा अतिक्रणमा परेको गढीका इतिहास खोजकर्ता न्यौपानेले बताए । ‘त्यो मन्दिरको गौतम थरका पुजारी वि.सं. २०१५ पछि तराई हिँडेकाले संकट आएको हो । सुरुमा सडक बनाउने भनेर जग्गा अतिक्रमणको प्रयास थालिएको थियो । पछि घरटहरा बने । त्यसपछि त यसको अस्तित्व नै मेटियो’, न्यौपानेले सुनाए ।

मन्दिरको शिलालेख दरबारभन्दा तल राजदेवी नजिकै भेटिएको छ । गाउँपालिकाले ४ वर्ष अघि नै राजदेवीमा शिलालेख फेला पारेको हो । चण्डिनीदेवी मन्दिर रहेको ठाउँमा अहिले नेपाल टेलिकमको टावर र त्यसको वरपर भौतिक संरचना निर्माण भएका छन् । आधा दर्जन घर टहरा निर्माण भएर होटल र पसल सञ्चालन भइरहेको छ । नेपाल टेलिकमले मकवानपुरगढी दरबारको मुख्य किल्ला नजिक राखेको टावर १३ वर्षपछि अर्थात् २०७६ वैशाखमा हटाएको थियो । यही टावरलाई चण्डिनीदेवीको मन्दिर भएको सार्वजनिक जग्गामा लगेर राखिएको थियो ।

टेलिकमलाई सार्वजनिक जग्गा भाडामा दिन स्थानीय राजेश थापाले मन्दिरको जग्गा अतिक्रमण गरेको दाबी मन्दिर संरक्षण गर्दै अतिक्रमित जग्गा फिर्ता ल्याउन अभियान चलाइरहेको चण्डिनीदेवी संरक्षण सरोकार संघर्ष समितिको छ ।

मन्दिर संरक्षण गर्दै अतिक्रमित जग्गा फिर्ता ल्याउन स्थानीयहरुले २०७७ बाटै राज्यको ढोका ढक्ढक्याउँदै आएका छन् । तर उनीहरुको पहलले साथर्कता पाउन सकेको छैन । १ पुस २०७७ मा स्थानीयहरुले मन्दिरको अतिक्रमित जग्गाको विषय छानबिन गर्न गाउँपालिकालाई भेलामार्फत निर्णय गरेर ध्यानाकर्षण गराएका थिए ।

गाउँपालिकाले जग्गा अतिक्रण गरेको आरोप लागेका स्थानीय थापालाई सार्वजनिक जग्गामा संरचना निर्माण नगर्न १५ मंसिर ०७७ मा पत्र काटेको थियो । २ नम्बर वडा कार्यालयलाई जग्गा अतिक्रमण रोक्न, बनेका संरचना हटाउन र सार्वजनिक जग्गा संरक्षण गर्न गाउँपालिकाले १४ मंसिर ०७७ मा पत्र लेखेको थियो । अतिक्रमित जग्गा फिर्ता ल्याउने गाउँपालिकाको भूमिका कागजमै सीमित बन्यो ।

२ नम्बर वडाअध्यक्ष बखानसिंह पाख्रिनले ०७७ सालमै भेला आयोजना गरेर अतिक्रमित जग्गा फिर्ता ल्याउन खोज्दा विवाद भएकोले कार्यान्वयनमा नगएको बताए । उनले पनि सार्वजनिक जग्गा अतिक्रमण भएको जानकारी दिए ।

स्थानीयद्वारा मन्दिरको करिब ७ कठ्ठा र गढीदरबारको करिब ८ बिगाहा जमिन अतिक्रमित भएको दाबी गरिएको छ । चण्डिनीदेवी मन्दिर मात्र नभई दरबारको उत्तरतर्फको ठूलो जग्गा अतिक्रमणमा परेको चण्डिनीदेबी संरक्षण सरोकार संघर्ष समितिका अध्यक्ष भिमसेन किङरिङ मगरले बताए । उनले चण्डिनीदेवीको मन्दिर भएको ठाउँमा निर्मित टेलिकमको टावर, घर टहरा हटाएर मन्दिुर स्थापना गर्न गाउँपालिकासँग अनुरोध गरेका छन् ।

२०७७ सालकै पहलले अतिक्रमण नरोकिएपछि मगरको अध्यक्षतामा ६ असोज ०८१ मा संघर्ष समिति बनेको छ । समितिको नेतृत्वमा डेढ सय बढी स्थानीयले हस्ताक्षर गरेर गाउँपालिका कार्यालयलाई २० असोज ०८१ मा पुनः ध्यानाकर्षण गराएका छन् । गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले ऐतिहासिक क्षेत्र संरक्षणमा कदम चाल्दै अतिक्रमित जग्गा फिर्ता ल्याउने विश्वास दिलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४