काठमाडौं । काठमाडौं उपत्यकाको सुरक्षा जिम्मेवारी पहिलोपल्ट महिलालेले नेतृत्व गर्ने भएकी छन् । प्रहरी अतिरिक्त महानिरीक्षक “एआईजी” किरण बज्राचार्यले सोमबार रानीपोखरीस्थित कार्यालयबाट सरुवा भएका एआईजी दीपक थापालाई बिदाइ गर्दै जिम्मेवारी सम्हालेकी हुन् ।
एआइजी किरण सुरक्षा संवेदनशिल मानिने काठमाडौ उपत्यका प्रहरी कार्यालयको पहिलो महिला प्रमुख बनेकी छन् । यसअघि किरणले एसपी हुँदा भक्तपुर र एसएसपी हुँदा ललितपुर प्रहरी प्रमुखको रूपमा काम गरिसकेकी छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय सरुवा हुनुभन्दा पाँच महिनाअघि उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो “सीआईबी” निर्देशकको रूपमा काम गरिसकेकी छन् । अहिले भने उनी प्रहरी मुख्यालयको कार्य विभागबाट सरुवा भएकी हुन् ।
यहाँ काम गरिरहेका एआईजी दीपक थापा सीआईबीमा सरुवा भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारीपछि एआईजी बज्राचार्यले सोमबार नै यस कार्यालयका अधिकारी तथा मातहतका कार्यालय प्रमुखहरूलाई निर्देशन दिएकी छन् ।
बज्राचार्यले भनिन्, ‘काठमाडौं उपत्यका प्रहरीको कार्यशैली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिविम्बको रूपमा रहने हुनाले उपत्यका प्रहरीले अति उत्कृष्ट तवरबाट कार्यसम्पादन गर्नुपर्छ । एआईजी बज्राचार्यले निकट भविष्यमा हुन सक्ने सुरक्षा चुनौतीलाई निस्तेज गर्न मातहतका कर्मचारीसँग समन्वय र सहकार्य गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित तवरले आफ्नो व्यावसायिकता प्रस्तुत गर्न पनि निर्देशन दिएकी छन् ।