काठमाडौं । अभिनेता तथा महानायक राजेश हमालले सक्रिय राजनीतिमा लाग्ने विषय “पर्ख र हेर”मै रहेको बताएका छन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले अहिले चुनाव जितेर आएका व्यक्तिलाई पनि यही कुरा लागू हुने बताएका हुन् ।
“यदि अहिलेको राजनीति जुन हिसाबले चल्नुपर्ने हो, त्यसरी ठीक ढंगले चलेन भने म राजनीतिमा आउन सक्छु । आफूलाई हालैको चुनावमा उम्मेदवार बन्न दलहरुले प्रस्ताव राखेको खुलाउँदै महानायक राजेश हमालले अहिले उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुलाई पनि पर्ख र हेरको रुपमा आफूले लिएको बताएका छन् । उनले रास्वपा सभापति रवि लामिछानेलाई जनताको चाहनाअनुसार चल्न पनि सुझाव दिएका छन् ।
“डेलिभरी” हुने जनअपेक्षाका कारण नयाँ दलको उदाएको हमालको तर्क छ । ‘बाहिरबाट हेर्दा जनताले व्यक्तिलाई चाहेजस्तो देखिन्छ तर त्यसो होइन । व्यक्ति नेताको भाषण सुन्न जाने होइन । व्यक्तिको मुखबाट हाम्रो कुरा सुन्न आउँछ कि आउँदैन भनेर हो ।
महानायक राजेश हमालले कलाकारको रुपमा जनताले राजेश हमाललाई हेर्न आएको भ्रममा आफू नरहेको समेत बताएका छन् । ‘जनताले मलाई हेर्न होइन, मरुपी राजेश हमालबाट अपेक्षा गरेको मनोरञ्जन निस्कन्छ कि भनेर हो । मनोरञ्जन क्षेत्रमा लागेका पब्लिक फिगर कहिल्यै पनि भ्रममा नपरौं,’ उनले भने, ‘जनताले व्यक्तिलाई होइन, उक्त व्यक्तिबाट आफ्ना कुरा सम्बोधन हुन्छ कि हुँदैन भनेर हो ।
राजनीतिज्ञ र कलाकार हरेक समय सान्दर्भिक हुनुपर्ने उनले बताएका छन् । ‘मैले कलाकारिता गर्दा सोचिनँ कि राजेश हमाललाई नै हेर्न आएको हो । यो भ्रममा म कहिल्यै परिनँ । उहाँहरुले मबाट राख्ने अपेक्षालाई हेर्न आउनुभएको हो । त्यो सफल भयो भने उहाँहरुको नजरमा म सान्दर्भिक रहन्छु । जुन दिन डेलिभर गर्न सक्दिन, म सान्दर्भिक रहँदिन ।
हरेक कालखण्डमा नयाँ दल आउने र जाने भइरहेको उदाहरण प्रस्तुत गर्दै उनले समयसापेक्ष रुपमा सान्दर्भिक हुने मात्र टिक्न सक्ने समेत बताएका छन् । ‘२००७ सालदेखि नै पुराना र नयाँ दल आउने जाने क्रम जारी छ । हालैका चुनावबाट उदाएका दललाई लिएर म पर्ख र हेरको मुडमा छु,’ उनले भने, ‘राजनीति अटोपाइलटमा हुनुपर्छ, म्यानुअलमा होइन ।
उनले कुनै दलमा आबद्ध नभई स्वतन्त्र रुपमा राजनीति गर्ने समेत बताएका छन् । ‘दर्शकले चाहनुभयो भने सक्रिय राजनीतिमा आउँछु,’ उनले भने, ‘गरें भने स्वतन्त्र रुपमा राजनीति गर्छु ।’ पछिल्लो स्थानीय निकायको चुनावमा कुरा गर्दै हमालले आगामी पाँच वर्षमा आफू सक्रिय राजनीतिमा लाग्न सक्ने संकेत गरेका थिए ।
सन्तानको योजनाबारे सोधिएको प्रश्नमा उनले भने, “पत्नी मधु र मेरै सल्लाहअनुसार चलेको छ यो कुरा । चाहेको बेला एउटा फुटबल टिम पनि तयार हुनसक्छ । जे भइरहेको छ हाम्रै सल्लाहमा भइरहेको छ ।