काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी–२० लिगका क्रममा लागि विवादस्पद कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता गर्दा त्रुटि भएको स्वीकार गरेका छन् । तर आफूहरुको नियत गलत नभएको उनको दाबी छ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टी–२० लिगमा भएको प्रतियोगितामा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको अनुसन्धानले देखाएको छ । नेपाली क्रिकेटर आदिल आलम र पूर्व क्रिकेटर मोहबुब आलम पक्राउ परेका छन् भने उनीहरुसहित १० जनाविरुद्ध मुद्दा चलाउने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को तयारी छ ।
क्रिकेट संघले बिहीबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चतुरबहादुर चन्दले अञ्जानमा त्रुटि भएको बताए । उनका अनुसार क्यानले २०२० जनवरीमा एमओयू गरेको थियो भने एक वर्षपछि पहिलो सम्झौता गरेको थियो । राष्ट्रिय खेलकदु परिषद् (राखेप)को अनुमति लिएर मात्र सम्झौता गर्नुपर्नेमा त्यसको पालना नभएको स्वीकार गरेका उनले भने, ‘तर राखेपले अनुमति नदिएसम्म हामीले कुनै पनि काम गरेनौं ।
सम्झौताअनुसार काम अघि बढाउन रणनीतिक साझेदार सेभेन थ्री स्पोर्टसलाई दबाव दिन नसक्नु कमजोरी भएको उनले बताए । चन्दले भने, ‘श्रम स्वीकृति पनि ढिला भयो । यसले एकपछि अर्को विवाद आयो । यसमा आयोजक क्रिकेट संघको पनि त्रुटि रह्यो ।
उनले प्रतियोगितामा नकारात्मक काम मात्र नभएको दाबी गरे । प्रतियोगिता भएको, नेपाली खेलाडीहरुले ८० प्रतिशत पैसा पाएको र अरु पनि पाउने क्रममा रहेको उनको दाबी छ ।
राखेपको छानबिन समितिले निलम्बनसम्म कारबाही गर्न सिफारिस गरेको छ नि भन्ने प्रश्नमा उनले क्रिकेट संघलाई पुरानै (निलम्बन) अवस्थामा फर्काउन खोजेको हो भनेर प्रश्न गरेका छन् । आफ्नो नेतृत्वको कमिटी आईसीसीको रोहबरमा चुनिएर आएको र यसलाई चुनावबाट आउने अर्को कमिटीले मात्र प्रतिस्थापन गर्न सक्ने उनले बताए ।
क्रिकेट संघका अध्यक्ष चन्दले स्पट फिक्सिङमा क्यानका कुनै पनि पदाधिकारीको संलग्न भए कारबाही भोग्न तयार रहेको बताए ।