Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेलाई बाहेक गरेर माओवादीसँग मिल्ने निर्णयमा सहमति छैन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर १३ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । चुनावी नतिजा सार्वजनिक भइरहँदा सत्तारुढ गठबन्धनमा रहेको माओवादी केन्द्र र एकीकृत समाजवादीले फेरि पार्टी एकताको सम्वाद थालेका छन् । सोमबार मात्र दुई दलका शीर्ष नेताहरुबीच पूर्व सहमतिअनुसार पार्टी एकता प्रक्रिया अघि बढाउन छलफल भएको छ ।

तर माओवादीसँग पार्टी एकता गर्ने नेतृत्वको तयारीप्रति एकीकृत समाजवादीमा असन्तुष्टि देखिएको छ ।

पार्टीमा तेस्रो वरियतामा रहको नेता मुकुन्द न्यौपाने, एमालेलाई बाहेक गरेर माओवादीसँग मिल्न नहुने बताउँछन् । देशमा एउटा कम्युनिस्ट पार्टी हुनुपर्छ भन्ने आफ्नो मत रहेको भन्दै उनले भने, ‘त्यसरी (एकता) गर्ने हो भने ठिकै छ, नत्र एमालेलाई किन बाहेक गर्ने ?

यदि आफूहरुको मतलाई नसुनि एकता गरे आफू चाहिँ माओवादीसँग नजाने न्यौपानेले बताएका छन् ।

प्रस्तुत छ, एकीकृत समाजवादीका नेता न्यौपानेसँग गरेको कुराकानी :

तपाईं आजको पार्टी बैठकमा किन नजानुभएको ?

एकदमै छोटो समयको अन्तर पारेर मोबाइलमा म्यासेज पठाइयो । त्यसरी त मिटिङमा जाने समय नै पुग्दैन । हेटौंडा आउनुपर्ने भएकाले म पनि हिँडे ।

तपाईं केही समयदेखि पार्टी नेतृत्वभित्र असन्तुष्ट हो ?

निर्णय गर्दाखेरि नेतृत्वले धेरै कुरा विचार पुर्‍याउनुपर्छ । अहिले जुन गठबन्धनमा बस्ने काम भइरहेको छ, यसलाई मैले ठगबन्धन भन्ने गरेको छु । किनभने कांग्रेसमाथि भरोसा गर्न सकिँदैन भनेर मैले पहिल्यै भनेको थिएँ । माओवादीको पनि एउटा पक्षमाथि भरोसा गर्न सकिँदैन ।

मेरो कुरा सुन्ने काम भएन । उल्टै स्थानीय चुनाव सकिएपछि एकीकृत समाजवादीले एमाले बाहेकका कम्युनिस्टहरुसँग एकता गर्ने निर्णय भयो । जुन पार्टीमा मनमोहन अधिकारीदेखि मदन भण्डारीसम्म एक ठाउँ आएर पार्टी चलाए, त्यो पार्टीलाई बाहेक गरेर कम्युनिस्ट एकता कसरी हुन्छ ? मेरो भनाइ एमाले, माओवादीसहित सबै कम्युनिस्टसँग एकताको लागि कुरा गरौं । तर मलाई मिटिङको थाहै नदिई खुसुक्क एमालेबाहेक मिलाएर एकता गर्ने भन्ने पास गरेछन् साथीहरुले । आम कार्यकर्ताको गुनासो थियो, स्थानीय चुनावमै हामीलाई माओवादीबाट असहयोग भयो । अहिले आम कार्यकर्तालाई थाहै नभई पार्टी एकता भन्दै हिँड्न हुन्छ ?

त्यसैले तपाईँ बैठकमा नजानुभएको ?

खबरै ढिलो आउँछ भन्या । कसरी मिटिङ भ्याउन सकिन्छ ? पार्टीको बैठक भन्ने कुरा पनि अकस्मात् बस्ने कुरो हो र !

तपाईंका अरु असन्तुष्टि के हुन् ?

समानुपातिकको सूची बनाउँदा पनि ध्यान पुर्‍याइएको छैन । घनेन्द्र बस्नेत, केदार न्यौपानेजस्ता तीसको दशकमा नेता भइसकेकाहरुको नाम समानुपातिकको दुई र तीनमा पठाइयो, प्रमेश हमालजीलाई अगाडि राख्ने काम हुन्छ यहाँ । त्यो पनि मलाई जानकारी नगराई भएको हो । अनि स्थायी कमिटीका कतिपय मान्छे र प्रदेश इन्चार्जलाई नै थाहा नदिई यस्तो काम गर्ने हो साथीहरुले ?

कम्युनिस्ट पार्टीमा यस्तो चलिरहन्छ नि, होइन ?

झापामा सीपी मैनालीले यस्तै अपारदर्शी गरे, व्यक्तिवादी भयो भनेर यो बाटो छाडौं भनियो । केपी ओलीजीहरुले समेत साथ छाडेकै हो नि ! व्यक्तिवादी हुन भएन भन्दाभन्दै फेरि ओलीजीको विरोध गर्नुपर्ने स्थिति आयो । तर ओली हुन नपाएर पो पार्टी फुटाएका हुन् कि हाम्रा साथीहरुले ? आजभोलिको परिस्थिति हेर्दा त्यस्तै लाग्छ । एकीकृत समाजवादी भित्रको विधि पद्दति के हो ? एमालेको २७ लाखजति भोट नाघ्न आँटिसक्यो, हाम्रो तीन लाख पुर्‍याउनै यत्रो धौ धौ छ । खोई हाम्रो समीक्षा ?

यस्तै कारणले गर्दा माओवादीसँग एकता गर्ने छलफल चलिरहेको हो ?

त्यही दुईवटा अध्यक्ष बनाउने, अनि चलाउने भन्ने होला । त्यो चल्दैन । नेकपा बनेकै बेला दुईवटा अध्यक्ष बनाउने भनेपछि स्थायी कमिटी बैठकमा मैले पन्चतन्त्रको भारुण्ड पंछीको कथा सुनाइदिएको थिएँ ओली र प्रचण्डलाई । टाउका दुईटा, जीउ एउटा गर्दा हामी समेतको पखेटा सबै झर्नेछ भनेको थिएँ । अहिले त्यस्तै भयो । त्समाथि माओवादीसँगको एकता पब्लिकले समेत रुचाउँदैनन् । मैले पहिल्यै पार्टीमा यो कुरा राखेको थिएँ । तर चुनावपछि माओवादीसँग एकता गर्ने भनेर सकुर्लर पठाएछन् । हुन त जसको बुद्धि जति छ, त्यसले त्यति नै गर्ने हो ।

माओवादीसँग पहिले मिल्दा हुने, अहिले मिल्न किन नहुने हुन्छ र ?

एउटा देश, एउटा कम्युनिस्ट पार्टी हुनुपर्छ भन्छु म । त्यसरी गर्ने हो भने ठिकै छ । नत्र एमालेलाई किन बाहेक गर्ने ? उसलाई एकतामा ल्याउने हो भने मेरो समर्थन हुन्छ ।

तपाईंको फरक मत हुँदाहुँदै एकता भयो भने ?

साथीहरु कसरी जान्छन्, हेरौं न । म चाहिँ माओवादीसँग जानेवाला छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४