काठमाडौं । प्रत्येक वर्ष आधा लाखभन्दा बढी मानिसले मिर्गौलाको पत्थरीको समस्या भोगिरहेका हुन्छन् । दशमध्ये एक व्यक्तिमा जीवनमा कुनै न कुनै समयमा मिर्गौलामा पत्थरी हुने विज्ञहरुको अनुमान छ । यो आम समस्या बन्नुको पछाडि अव्यस्थित जीवनशैली र खानपान नै मुख्य कारण हो ।
पत्थरी भैसकेपछि सबैभन्दा पहिला त्यसले गरेको असरमै ध्यान दिनुपर्छ । त्यसले मिर्गौलालाई असर गरेको छ भने इमरजेन्सी उपचार गर्नुपर्ने हुन्छ किनभने त्यसले मिर्गौलालाई कालान्तरमा काम नगर्ने बनाउन सक्छ । यदि मिर्गौलालाई असर गरेको छैन भने, तल्लो कोठामा बसेको छ छने, केही समय कुरेर पनि उपचार गर्न सकिन्छ । पत्थरको प्रकृति हेरेर विभिन्न उपचार प्रकृया अपनाउनुपर्छ । सामान्य २ सेन्टिमिटरसम्मको पत्थरलाई २ देखि ३ सेसनमा बाहिरबाट एउटा रेजले फुटाएर धरलो पारी (लिथोट्रप्स) निकाल्न सकिन्छ । यसका लागि बिरामीलाई बेहोस नपारी २ घण्टामा निकालिन्छ । यो प्रकृयाबाट पत्थर फुट्छ भन्ने ग्यारेन्टी हुँदैन । फुटिसकेपछि पनि दुख्ने, पिसाबमा रगत जाने हुन्छ । उच्च रक्तचाप, रगत जाने समस्यामा वा मिर्गौला अन्यत्र बसेको अवस्थामा यो विधि अपनाउन सकिदैन ।
२ सेन्टिमिटरभन्दा ठूलो पत्थरी भएमा पिसीएनएल प्रविधि अपनाउन सकिन्छ । मिर्गौलाको पत्थरीलाई फोकस गरेर एउटा सानो सुइरोले सानो प्वाल पारेर विस्तारै ठूलो बनाउदै कलम छिर्ने प्वाल बनाइ त्यसबाट मेसीनभित्र छिराइ पत्थरलाई टुक्रा पारी वास गरि बाहिर निकालिन्छ । यो प्रविधिद्वारा पत्थर पूर्णरुपमा बाहिर निकालिन्छ ।
त्यसै गरि मुत्र नलीबाट गएर मिर्गौलाको पत्थरलाई लेजरले धुलो बनाई निकाल्न सकिन्छ । यो मझौला खालको पत्थरीका लागि बढी प्रभावकारी मानिन्छ । तर, यो प्रविधि महंगो त छँदैंछ, इन्फेक्सन हुने संभावना पनि हुन्छ ।
पत्थरी निकालियो अब म ठिक छु भनेर बस्नु हुँदैन । यसरी निकालिएको पत्थरी जाँच गरि कुन प्रकारको हो पहिचान गरि त्यसैअनुसार खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । खानपानमा ध्यान दिन सकिएन भने पुनः पत्थरी बन्ने सम्भावना हुन्छ ।
मिर्गौलाले रगतलाई सफा गर्ने क्रममा त्यसमा भएको अनावश्यक तत्वलाई हटाएर पिसाबको माध्यमबाट शरीर बाहिर फाल्छ । तर रगतमा शरीरलाई आवश्यक नपर्ने खनिज तत्वको मात्रा अत्यधिक बढ्छ र मिर्गौलाले ठीकसँग काम गर्न सक्दैन । ती अनावश्यक तत्व पिसाबबाट बाहिर जान सक्दैन र ढुंगा बनेर बस्छ । जसकारण मिर्गौलामा पत्थरी हुन्छ ।
पत्थरीका कारण
पानी कम पिउनु
पिसाबमा विभिन्न किसिममा खनिज तत्व हुन्छन् । पानी पिएपछि खनिज छानिंदै पिसाबबाट निस्किन्छ जब पिसाबमा पानीको मात्रा कम भई खनिजको मात्रा बढी थिग्रिन्छ । त्यसपछि त्यहाँ ढुंगाको विकार बन्छ । त्यसलाई मिर्गौलामा पत्थरी भएको मानिन्छ ।
जन्मजात समस्या
कसैमा जन्मजात रगतमा समस्या हुन्छ । जसले गर्दा पिसाबमा खनिज मात्रा बढी हुन्छ । जसले मिर्गौलामा पत्थरी बन्ने सम्भावना बढ्छ । यस्तोमा पानी धेरै पिएमा पनि ठीक हुँदैन ।
खानपान
पालुंगो साग, रातो मासु, गुलियो परिकार, गेडागुडी, काजु, बदाममा उच्च मात्रामा अक्जोलेट हुन्छ । अक्जोलेट भएका खानेकुरा अत्यधिक खाँदा त्यो पिसाबमा जम्मा भएर ढुंगाको रुप लिन्छ । त्यस्तै, क्याल्सियम, कार्बोहाइड्रेट, प्रोटिन, खनिज र बोसो भएको खानेकुरा शरीरलाई आवश्यक भन्दा बढी खाने तर फाइबरयुक्त खानेकुरा पटक्कै नखाने बानीले पनि मिर्गौलामा पत्थरी हुन सक्छ ।
युरिक एसिड
युरिक एसिड भएकाहरुलाई पनि मिर्गौलाको पत्थरी हुने सम्भावना बढी हुन्छ । युरिक एसिडको स्तर बढेमा पिसाबमा खनिज बढी हुन्छ, जसले मिर्गौलामा पत्थरी गराउँछ । त्यस्तै, अध्यधिक मोटोपन पनि मिर्गौला पत्थरीको लागि जिम्मेवार मानिन्छ ।
मदिराले पत्थरी जाने भ्रम
शरीरमा पत्थरी हुँदा मदिरा सेवन गरेमा जान्छ भन्ने गलत भ्रम रहेको पाइन्छ । जस्तोसुकै पेयले ढुंगा बगाउन सक्दैन । यसले तरल पदार्थ बढाइदिन्छ जसले गर्दा पिसाब लाग्ने मात्र हो । यसले ढुंगालाई झन् बढाउँछ ।
लक्षण
मिर्गौलामा बन्ने पत्थरी मूत्रबाहिनी नलीमा आएर अड्किन सक्छ । यस्तोमा कोखा दुख्ने र सो दुखाइ पछाडि पिठ्यूँमा सर्ने हुन सक्छ ।
पत्थरीको आकार सानो भएमा लक्षण नदेखिने र त्यो पिसाब गर्दा आफैं पनि जान सक्छ । यद्यपि, मध्यम तथा ठूलो साइजका पत्थरीले सामान्यतया दुःख दिन्छ ।
कसैलाई सहन नसक्ने गरी कोखा दुखेर पिसाब नै बन्द हुन सक्ने समस्या देखिन सक्छ । पत्थरी कुन भागमा छ र आकार कति ठूलो छ भन्ने आधारमा पनि लक्षणहरु फरक हुन्छन् ।
पहिचान तथा उपचार
पिसाब जाँच, भिडियो एक्सरे र सिटिस्क्यानबाट मिर्गौलामा पत्थरी भएको निर्क्योल गरिन्छ । त्यसपछि उपचार प्रक्रिया अघि बढाइन्छ । पत्थरीको प्रकार, आकार, स्थान र संरचनाअनुसार मिर्गौलाको पत्थरीको उपचार गर्ने थुप्रै तरिका छन् ।
६-७ मिलिमिटरभन्दा सानो ढुंगा भएमा औषधि खाएपछि पिसाबसँगै आफैं बाहिर निस्कन्छ । त्यसबेला शल्यक्रियाको आवश्यकता पर्दैन । तर एक सेन्टिमिटरभन्दा ठूलो ढुंगा भएमा वा अवरोध र दुखाइको कारणले शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । मिर्गौलाको पत्थरीको शल्यक्रियाको लागत उपचारको प्रकारमा निर्भर गर्छ ।
त्यस्तै, अहिले आधुनिक प्रविधिबाट बिना चिरफार दूबीन तथा लेजर प्रविधिबाट पनि पत्थरीलाई निकालिन्छ । उपचार नै नगराई अरुको सल्लाहमा जथाभावी ढुंगा गलाउने भन्दै औषधि खाने गरिन्छ, जुन गलत अभ्यास हो । कुनै पनि औषधिले पत्थरीलाई गलाउन सक्दैन मात्र ढुंगालाई झार्न सक्छ ।
पत्थरी बल्झिने सम्भावना ५० प्रतिशत
पत्थरी एकपटक भइसकेपछि बल्झिने सम्भावना ५० प्रतिशत रहन्छ । जसमध्ये २० प्रतिशतमा शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । तर मिर्गौलाको उपचारपछि आफ्नो दैनिक जीवनशैली, आहार, व्यायामका कुरामा परिवर्तन ल्याएमा बल्झिने सम्भावना कम हुन्छ । साथै, मूत्ररोग विशेषज्ञसँग सल्लाह लिन आवश्यक छ ।