काठमाण्डौ पौष १२ – नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ आइतबार राजधानीमा भव्य रुपमा सम्पन्न भएको छ । म्यूजिक खबरको प्रस्तुति एवं शुभकामना मिडिया सोलुशनको आयोजनामा भएको नवौं म्यूजिक खबर म्यूजिक अवार्डमा वरिष्ठ गीतकार राजेन्द्र थापालाई म्यूजिक खबर दीर्घ साधना सम्मान अर्पण गर्दै सम्पन्न भएको हो ।
संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको प्रमुख आतिथ्यतामा राजधानीको लैनचौरस्थित लैनचौर बैंकटको हलमा भएको उक्त कार्यक्रममा थापालाई ३०५५५ रुपैयाँ नगद राशिसहित दोसल्ला र सम्मानपत्रद्वारा दीर्घ साधना सम्मान अर्पण गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ गायक रामप्रसाद खनाललाई म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गरिएको थियो भने लोकप्रिय गायक हेमन्त शर्मा र लोकप्रिय गायिका सीता थापालाई म्यूजिक खबर दशकको स्रष्टा सम्मान प्रदान गरिएको थियो । त्यस्तै गायक राजु ढकाललाई म्यूजिकखबर युवाप्रतिभा संगीत सम्मान प्रदान गरिएको थियो भने बालगायिका सफलता श्रेष्ठलाई म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान प्रदान गरिएको थियो ।
सोही कार्यक्रममा गायक सुमित खड्कालाई म्यूजिक खबर संगीत सम्मान प्रदान गरिएको थियो भने कवि तथा गीतकार युवराज अधिकारी र गीतकार अनु शाहलाई म्यूजिक खबर स्रष्टा सम्मानबाट सम्मानित गरिएको थियो । त्यस्तै फोटोग्राफर च्याङ्बा लामालाई म्यूजिक खबर फोटोग्राफी सम्मानबाट सम्मानित गरिएको थियो ।
उक्त कार्यक्रममा स्थायी घर दाङ्ग भएकी तर जुनसुकै गीतहरुमा पनि आफ्नो स्वर भर्न पोख्त गायिका सिर्जु अधिकारी र राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष तथा समाजसेवी निर्माता सबैको प्यारो मान्छे काभेका बिक्रम जङ्ग शाहलाई सर्वोत्कृष्ट काँठे गायक तथा गायिकाको तर्फबाट अवार्ड प्रदान गरिएको थियो । उनीहरुले लोक दोहोरी गीत खोला खाल्छी हे माया, बोलको गीतबाट अवार्ड प्राप्त गर्न सफल भएका हुन् ।
कार्यक्रममा अधिकारी कै बहिनि अनु अधिकारी पनि अवार्ड प्राप्त गर्न सफल भएकी छिन् । उनले सर्वोत्कृष्ट नवप्रतिभा सुगम संगीत तर्फ चड्कन दिनुपर्नेलाई बोलको गीतबाट अवार्ड हात पार्न सफल भएकी हुन् ।
कार्यक्रममा गायिका पूर्णिमा लामा र गायक सरोज कोइराला सर्वोत्कृष्ट गायक गायिका बन्न सफल भएका थिए । गायिका लामाले एक पल्ट भनन गीतबाट अवार्ड चुमेकी थिइन् भने गायक कोइरालाले माया केवल मायाबाट अवार्ड चुम्न सफल भएका थिए ।
https://youtu.be/r7QwTp_6cVA
![]()