Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ए डिभिजन लिगको तेस्रो चरणका विशेषता : ५३ सेकेन्डमै गोल, पहिलो ह्याट्रिक


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २३ २०७८
  • 3.7K
    SHARES

काठमाठौं । शहीद स्मारक ए डिभिजन लिगको तेस्रो चरण अर्थात म्याच विक थ्री का खेलहरू सकिएका छन् । तेस्रो चरणका सात खेल पनि त्रिपुरेश्वरस्थित दशरथ रंगशालमै खेलाइयो ।

तेस्रो चरणमा गोलको संख्या बढ्नेदेखि पहिलो आत्मघाती गोलसमेत देखियो । यस्तै यस सिजनको पहिलो ह्याट्रिक पनि तेस्रो चरणमा भयो ।

लिग सहभागी जुनसुकै क्लबले जुनसुकै क्लबलाई चुनौती दिन सक्ने अवस्थासमेत देखिएको छ । जसले गर्दा ठूला क्लबहरुलाई समेत जित हात पार्न कठिन बनेको छ ।

तेस्रो चरणमा प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलहरू भए । ५३ सेकेण्डभित्रै गोल हुनेदेखि लिएर खेल सकिन ३० सेकेन्डअघि गोल हुनेसम्मका क्षणहरू पनि यही चरणमा देखिए ।

तेस्रो चरणमा देखिएका केही विशेष क्षणहरू :

सातदोबाटोको उडान

सातदोबाटो युथ क्लब ए डिभिजनको लागि नयाँ टिम हो । बी डिभिजन च्याम्पियन भएर बढुवा भएको सातदोबाटोले ए डिभिजन लिग डेब्युमै उत्कृष्ट सुरुआत गरेको छ । यसअघि बी डिभिजनबाट बढुवा भएका क्लबहरू रेलिगेसन टार्नमै प्रयासरत देखिन्थे । तर यसपटक भने सातदोबाटो उत्कृष्ट लयमा छ ।

सुरुआती तीन खेलमा अपराजित सातदोबाटोले दुई खेल जितिसकेको छ र ७ अंक जोडेर अंकतालिकामा शीर्ष स्थानमा छ । उद्घाटन खेलमै फ्रेण्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको सातदोबाटोले दोस्रो खेलमा थ्री स्टारलाई स्तब्ध पारेको थियो । तेस्रो चरणमा सातदोबाटोले एपीएफ फुटबल क्लबलाई ४-१ ले हरायो । सातदोबाटो एकै खेलमा सर्वाधिक गोल गर्ने टिम समेत बन्यो । तेस्रो चरणपछि सातदोबाटोसँगै साविक विजेता मछिन्द्र फुटबल क्लब र सर्वाधिक ८ पटकको विजेता मनाङ मर्स्याङ्दीले पनि ७ अंक नै जोडेको छ । तर गोल अन्तरमा सातदोबाटो नै अघि छ ।

मार्टिनको ह्याट्रिक

ह्याट्रिक गरेका अजयी मार्टिन्स सेलिब्रेसन गर्दै ।

म्याचविक थ्री मा सातदोबाटोले एपीएफलाई फराकिलो जित हात पार्दा विदेशी खेलाडी अजयी मार्टिन्सले ह्याट्रिक गरे । उनी जारी लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडीसमेत बने ।

नाइजेरियाका यी खेलाडी एपीएफका लागि घातक बने । मार्टिनसँगै नाइजेरियाकै पिटर सेगुन यसै सिजन सातदोबाटोमा अनुबन्धित भएर खेलिरहेका छन् ।

पहिलो आत्मघाती गोल

तेस्रो चरणमा आएर लिगको पहिलो आत्मघाती गोल भयो । र पहिलो आत्मघाती गोल गर्ने खेलाडी बने सातदोबाटो युथ क्लबका करण रावत ।

तेस्रो चरणको पहिलो खेलमै एपीएफविरुद्ध ४-१ ले जित हात पार्दा सातदोबाटोका करणले एपीएफलाई आत्मघाती गोल उपहार दिएका थिए ।

उनले खेलको ४९औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

तेस्रो चरणकै अन्तिम खेलमा जावलाखेल युथ क्लबका सिमान्ता थापाले साविक विजेता मछिन्द्रविरुद्ध २-० ले पराजित हुँदा आत्मघाती गोल गरेका थिए ।

५३ सेकेण्डमा गोल

खेलको सुरुमै गोल हुँदा खेलमा रोमाञ्चकता थपिन्छ । हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीचको भएको लिगको २०औं खेलमा एक मिनेटभित्रै गोल सम्भव भयो ।

हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले खेल सुरु भएको ५३ सेकेण्डमै गोल गरे । उनले भारतीय खेलाडी मोइनुद्दिनको पास सदुपयोग गर्दै गोल गरेका थिए । जारी सिजन यो लिगकै सबैभन्दा छिटो गोल हो ।

तर शेर्पाले अग्रता जोगाउन सकेन । ६०औं मिनेटमा पुलिसका सुमन लामाले बराबरी गोल फर्काएपछि शेर्पाले पुलिससँग अंक बाँडेको थियो । हिमालयन शेर्पाका उलरिच सिवे ५७औं मिनेटमा घाइते हुँदै मैदान बाहिर आएका थिए । उनको स्थानमा अर्को खेलाडी मैदान प्रवेश नगर्दा शेर्पा १० खेलाडीमा रहेको बेला पुलिसले गोल फर्काएको थियो ।

३० सेकेण्ड बाँकी रहँदा गोल

खेलको सुरुमै गोल बेहोर्दा पछि गोल फर्काउने सम्भावना हुन्छ । तर खेलको अन्तिम समयमा गोल हुँदा त्यसले नतिजामा फरक पार्छ । म्याच विक थ्री अन्तर्गत भएको लिगको १७औं खेलमा त्यस्तै भयो । संकटा क्लबले दुई पटक अग्रता लिए पनि मनाङले पुनरागमन गर्दै दुवै पटक बराबरी गोल फर्काएपछि खेल २-२ को बराबरीमा सकिएको थियो ।

मनाङका फ्रांकलिन क्वेटे टालाले खेल सकिन ३० सेकेण्ड बाँकी रहेको अवस्थामा गोल गर्दै मनाङको हार टारेका थिए भने संकटालाई जितबाट बन्चित गराए । संकटा २-१ को जित नजिक रहेका बेला उनले उत्कृष्ट गोल गर्दै मनाङलाई १ अंक दिलाएका थिए ।

अन्तिम समयमा गोल हादा मनाङ खुशी थियो भने संकटाले हातमै आएको आफ्नो हातैमा आउन लागेको २ अंक पनि गुमायो ।

आर्मीको पहिलो जित

साविक उपविजेता अनी यस सिजन उपाधिको दाबेदार मध्ये एक टिम त्रिभुवन आर्मी फुटबल क्लबले तेस्रो चरणमा आएर पहिलो जितको स्वाद चाखेको छ ।

आर्मीले सुरुआती दुई खेलमा बलिया प्रतिद्वन्दीविरुद्ध खेल्नुपर्दा बराबरीमा रोकिएको थियो । तर तेस्रो चरणमा भने आर्मीले ब्रिगेड ब्वाइजलाई १-० ले पराजित गर्दै ३ अंक जोड्न सफल भयो । कप्तान भरत अवासले खेल सकिन पाँच मिनेट अघि गोल गर्दै आर्मीलाई सिजनको पहिलो जित दिलाए । यसअघि आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा साविक विजेता मछिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो ।

एपीएफ र जावालखेलको लगातार तेस्रो हार

तेस्रो चरण सकिँदा सातदोबाटो, मछिन्द्र र मनाङसँगै संकटा, पुलिस र आर्मी अपराजित छ । थ्री स्टार, ब्रिगेड र च्यासलले मिश्रित नतिजा निकालेका छन् । बाँकी पाँ क्लबले भने अझै जित हात पार्न सकेका छैनन् ।

त्यसमध्ये एपीएफ र जावलाखेल युथ क्लबले लगातार तेस्रो हार बेहोर्‍यो । हिमालयन शेर्पा र फ्रेण्ड्सले पनि खेल जित्न अझै बाँकी छ ।

तेस्रो चरणमा एपीएफ सातदोबाटोसँग ४-१ ले पराजित भयो । त्यसअघि एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३-२ र दोस्रो खेलमा च्यासल युथ क्लबसँग १-० ले पराजित भएको थियो । एपीएफ खेलेको दुई खेलमा ५-५ गोल भएको छ र यस लिगको एकै खेलमा भएको धेरै गोलमा पर्छ ।

उता जावलाखेलले लगातार तीन खेल हार्दा एक गोल समेत गर्न सकेको छैन । तेस्रो चरणमा जावलाखेल साविक विजेता मछिन्द्रसँग २-० ले पराजित भयो । त्यसअघि जावलाखेल मनाङ मर्स्याङ्दी र पुलिसँग समान १-० ले पराजित भएको थियो ।

एपीएफ र जावलाखेलले अझै अंकको खाता खोल्न बाँकी छ । जावलाखेलले त गोलका लागि नै संघर्ष गरिरहेको छ ।

एकै चरणमा १८ गोल

लिगको पहिलो चरणमा ७ खेलमा १६ गोल भएको थियो । तर दोस्रो चरणमा गोल संख्या झरेर ७ मा आयो । जसमा ८ क्लबले गोल नै गर्न सकेका थिए ।

तर तेस्रो चरणमा फेरि गोल संख्या बढ्यो । जहाँ सिजनकै पहिलो ह्याट्रिक देखि आत्मघाती गोलसम्म भए । तेस्रो चरणमा कुल १८ गोल भयो । जुन २ : ५७ को औसत हो ।

तेस्रो चरणमा ब्रिगेड र जावलाखेल बाहेक १२ वटा क्लबले गोल गरे । ब्रिगेड आर्मीसँग १-० तथा जावलाखेल मछिन्द्रसँग २-० ले पराजित भयो ।

सातदोबाटो युथ क्लबका अजयी मार्टिन्सले ह्याट्रिक गर्दा एपीएफविरुद्ध ४-१ को फराकिलो जित हात पार्‍यो । संकटा र मनाङबीचको रोमाञ्चक बराबरी हुँदा चार गोल भयो ।

तीन खेलमा स्पष्ट नतिजा आउँदा ४ खेल बराबरीमा सकिएको थियो । फ्रेण्ड्स र थ्री स्टार, च्यासल र एनआरटी अनी हिमालय शेर्पा र नेपाल पुलिसले समान १-१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।

तेस्रो चरणको खेलको नतिजा

फ्रेण्ड्स १ : १ थ्री स्टार

सातदोबाटो युथ क्लब ४ : १ एपीएफ

संकटा २ : २ मनाङ

च्यासल १ : १ एनआरटी

ब्रिगेड ब्वाइज ० : १ आर्मी

हिमालयन १ : १ पुलिस

जावलाखेल ० : २ मछिन्द्र

तेस्रो चरणको गोलकर्ता

प्रकाश बुढाथोकी, फ्रेण्ड्स

मिक्छेन तामाङ, थ्री स्टार

अजयी मार्टिन्स (ह्याट्रिक), सातदोबाटो

सुशिल राई, सातदोबाटो

करण रावत (आत्मघाती गोल), एपीएफ

निरज बस्नेत, संकटा

उत्तम राई, संकटा

दयानन्द सिंह, मनाङ

फ्रांकलिन क्वेटे टाला, मनाङ

रुमेश बर्तौला, च्यासल

दिपेश घले, एनआरटी

भरत खवास, आर्मी

विश्वास श्रेष्ठ, हिमालयन शेर्पा

सुमन लामा, पुलिस

रन्जित धिमाल, मछिन्द्र

सिमान्त थापा (आत्मघाती गोल), जावलाखल

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४