Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘पूर्वमाओवादी र १० बुँदे पक्षधरसँग समझदारी गरौं, अरू चुनाव लडौं’


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ८ २०७८
  • 3.2K
    SHARES

काठमाडौं । दशौं महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेमा अध्यक्षसहित पदाधिकारीमा सहमति–सहमति भन्दाभन्दै चुनावको सम्भावना बढेको छ । अध्यक्ष केपी शर्मा ओली स्वयंले आफूले सहमतिका लागि आग्रह गर्दा पनि दबाव हुने भएकाले केही नभन्ने बताएका छन् ।

तर चुनाव हुँदा १० बुँदे सहमति गरेर एमालेमा बसेका नेताहरू र पूर्व माओवादीहरू बाहिरिने हो कि भन्ने चिन्ता पनि छ । ओली निकट केन्द्रीय सदस्य महेश बस्नेत भने विधान संशोधन गरेर दुई उपाध्यक्ष, एक उपमहासचिव, दुई सचिव मनोनीत गर्नुपर्ने बताउँछन् । त्यसो भएमा पूर्वमाओवादी र १०बुँदे सहमति गरेर पार्टीमै बसेकाहरूको व्यवस्थापन हुने भन्दै भन्छन्, ‘बाँकी अन्यको हकमा खुला प्रतिस्पर्धा गरेर जानुपर्छ ।

प्रस्तुत छ, एमाले केन्द्रीय सदस्य बस्नेतसँग जन न्युज नेपाल खबरकर्मीले गरेको कुराकानीको सम्पादित अंशः

  • भीम रावलको उम्मेदवारीपछि एमालेको नेतृत्व चयन मतदानबाट हुने निश्चित भयो ?

भीम रावल कमरेडको पार्टीको पछिल्लो एकता प्रक्रियामा केही असन्तुष्टि र असमझदारी थियो । त्यसलाई सम्बोधन गर्ने प्रयास पनि भएको हो । उहाँले सोचे जस्तो चित्तबुझ्दो परिणाम आएन होला । त्यही कारणले दाबी गर्नुभएको होला । तर नेतृत्व तहमा समझदारी हुँदा सहमति हुन्छ ।

  • निर्विरोध नेतृत्व चयनको विकल्प अझै बाँकी छ ?

अझै पनि निर्विरोधको सम्भावना बाँकी छ किनभने पार्टीभित्र सबैको अस्तित्व स्वीकारेर एकताको सन्देश दिन जरूरी छ । लोकतन्त्र भनेको जिम्मेवारी बाँडेर शक्तिशाली हुनु हो । जिम्मेवारी खोसेर शक्तिशाली भइन्न । उहाँ (भीम रावल)ले पार्टीभित्र आफ्नो भूमिका खोज्नुभएको हो भने पार्टी अध्यक्ष लगायत कमरेडहरूले सहज ढंगले अगाडि बढाउनुपर्छ ।

होइन, फरक मत राखेर राजनीतिक विसर्जनको दिशामा अगाडि बढ्ने र अध्यक्षको उम्मेदवारी भनेर सामाजिक र राजनीतिक मञ्च प्रयोग गर्ने सोच हो भने सहमतिको प्रयत्न कामयावी बन्दैन । तर छलफल र संवादबाटै समझदारी होला ।

  • तपाईंले राजनीतिक विसर्जन भन्नुभयो, तर भीम रावलले त एकताबद्ध पार्टी निर्माणका लागि अध्यक्षमा उम्मेदवारी भन्नुभएको छ नि ?

पार्टीभित्र राम्रो क्षमता राख्ने र आशावादी नजरबाट हेरेको, विपक्षले पनि एमालेको क्षमता भएको नेताका रूपमा हेरेको छ, उहाँलाई । तर कहिलेकाहीं भावुक राष्ट्रवादको कुरा गर्नुहुन्छ, त्यो कहिलेकाहीं अराजकताको रूपमा समेत पुग्ने गरेको देखिन्छ । आफ्नो असन्तुष्टि छरपस्ट रूपमा राख्ने गर्नुहुन्छ । त्यसले कार्यकर्ताको मन जित्नेभन्दा उनीहरूको मनलाई विभाजित गर्ने गरेको छ । यी केही पक्षलाई उहाँले आफूलाई मिलाएर लैजाने हो भने उहाँ राम्रो सम्भावना बोकेको नेता हो । तर कहाँ के मिलेको छैन । मेरो आग्रह– उहाँले अध्यक्षको घोषणा नगरी पार्टीभित्र आफ्नो योग्यता, क्षमता अनुसार जिम्मेवारी लिनु राम्रो हो ।

  • अध्यक्ष बाहेकको पद उहाँलाई उपयुक्त हुन्थ्यो ?

अहिलेको परिवेशमा अध्यक्षमा त जित्ने सम्भावना छैन । त्यसैले अध्यक्ष बाहेक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष लगायतमा जिम्मेवारी लिनु उचित हुन्छ । सचिव भन्ने पद त पदाधिकारीमा नयाँ पंक्तिको प्रवेशका रूपमा राख्नुपर्छ । नत्र सधैं पार्टी परम्परागत र रुढिवादी नेतृत्वमा रहन्छ । त्योभन्दा माथिको पदमा नेतृत्वसँग समझदारी बनाउँदा राम्रो हुन्छ । आम प्रतिनिधिको पनि यसमा फरक मत हुँदैछ जस्तो लाग्छ ।

  • सचिव पदमा चाहिँ अहिले भएका नेताहरू हुनुहुँदैन ?

दुई कार्यकालभन्दा बढी एउटै पदमा दोहोर्‍याउन हुन्न भनेर विधानमै भनेको छ । नयाँ पुस्ताले पनि अभियान चलाएको छ, चार कार्यकाल केन्द्रीय सदस्य भइसकेपछि फेरि केन्द्रीय सदस्य किन हुने ? यद्यपि विधानमा त्यस्तो छैन । सचिव भइसकेका र त्यो माथि पुगेका कमरेडहरूले माथिल्लो पदमै दाबी गर्नुपर्छ । सचिव पद सहजताका साथ छोड्नुपर्छ ।

  • सबैले सचिव भन्दा माथिको पदमा दावी गर्दा निर्विरोध नेतृत्व चयनमा समस्या हुन्न र ?

निर्विरोध गर्ने नाममा पार्टीको गति स्थगन हुने खालको परिस्थिति पनि बनाउनुहुँदैन । इतिहास बोकेका सम्मान गर्नुपर्ने नेताहरू पनि पार्टीमा समेट्नैपर्छ, जोश–जाँगर र ऊर्जा बोकेका नयाँ पुस्ता पनि पदाधिकारीदेखि स्थायी कमिटीसम्म आउनुपर्छ । समावेशितालाई पनि ध्यान दिनुपर्छ, विविध पक्षलाई समेट्नुपर्छ । पाको, बीचको अनुभवी र नयाँ पुस्ताको संयोजन हुन सकेन भने पार्टी गफ गर्ने चौतारीमा परिणत हुन्छ । राजनीतिक बहस गर्ने क्लब बन्छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को अभिभारा पूरा गर्दै दलाल नोकरशाही पूँजीवादी तत्वहरूलाई तह लगाउन सक्ने, साम्राज्यवादी अवसरवादी तत्वहरूलाई तह लगाउन केपी ओली जतिको इनर्जेटिक नेतृत्व र उहाँलाई सहयोग गर्ने कामकाजी, जोश–जाँगर र ऊर्जा भएका युवा साथीहरूलाई पनि पर्याप्त मात्रामा केन्द्रीय कमिटीमा ठाउँ दिनुपर्छ ।

  • तर आकांक्षी धेरै छन् । अध्यक्षले सहमति गर्न नसकेको भनेर भीम रावलको उम्मेदवार आएको छ । तपाईंले भने जस्तो टीम बन्न सजिलो होला र ?

कम्युनिष्ट पार्टी जनवादी केन्द्रीयताको आधारमा संगठन निर्माण गर्छ । त्यो भनेको सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी हो । अध्यक्ष आफैंमा सर्वेसर्वा होइन । उहाँले पनि सामूहिक नेतृत्वको भावना अनुसार पार्टीको मूल फिगरका रूपमा, सुप्रिम कमाण्डरका रूपमा प्रस्तुत गर्ने हो । यद्यपि उहाँको उँचाइ चाहिं ‘फादर अफ द नेशन’को रूपमा छ । समकालीन राजनीतिमा उहाँ उँचाइ बोकेको नेता हुनुहुन्छ । अध्यक्षलाई सफल बनाउने भनेको त भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण बिष्ट लगायतको पंक्ति हो । उहाँहरूले नै यसको चाँजोपाँजो मिलाउने हो । सबै केपी कमरेडको टाउकोमा हाल्ने होइन नि ! केपी कमरेडलाई अहिले सर्वमान्य नेता बनाएर दोस्रो पुस्ताका नेताहरूले सबै कुराको संयोजन गर्नुपर्छ । त्यसपछि उहाँहरूले हामीलाई काम लगाउनुपर्छ ।

उहाँहरूले अघिल्लो पंक्तिको नेताहरूलाई गाली गरेर आफूलाई स्थापित गराउने रणनीतिमा जानु चाहिं ठीक होइन । किनभने यो असफल भएको रणनीति हो । त्यही कारणले आज झलनाथ, माधव र वामदेव कमरेडहरू हामीबाट टाढिनुभयो । त्यही कुरा पुनरावृत्ति गर्ने नेता र नेतृत्व त हामीलाई किन चाहियो र ? भीम रावल र घनश्याम भुसाल कमरेड त्यो भन्दा फरक ढंगले गए हुन्छ ।

  • त्यो भनेको ?

एउटा समझदारी गरौं । अध्यक्ष पछाडिको पदहरूमा नेताहरूबीच समझदारी गर्ने हो भने सबैले स्वीकार्छन् नि !

  • तपाईंले संयोजन गर्नुपर्छ भनेको दोस्रो पुस्ता पनि अध्यक्षकै इशारा र संकेत कुरेर बस्ने अवस्था देखिंदैछ नि ?

दुई वटा मनोविज्ञान देखिंदैछ । एउटा, जनतामा भिजेको, काम गरेको र कमाण्ड गरेको पंक्ति निर्वाचनको विधिबाट जान पनि तयार छ । अर्को, जो धेरै फिल्डमा भिजेको छैन, कार्यकर्तासँग घुलमिल पनि छैन । नेताको वरिपरि घुम्छ र सत्ता हुँदा सत्ता कब्जा गर्छ । सत्ता नहुँदा केन्द्रीय कार्यालय लगायत स्थान कब्जा गर्छ । उनीहरू चाहिं चुनावमा जान डराइरहेका छन् । सर्वसहमतिको मीठो कुरा गरिरहेका छन् । अध्यक्ष वा निश्चित नेताहरूले घोषणा गरिदिए हुन्छ भन्ने अपेक्षा गर्छन् । किन भने कार्यकर्ताको मतमा जाँदा रिङआउट हुन्छु भन्ने डर छ, अध्यक्ष वा निश्चित नेताहरूले घोषणा गर्दा आफू पर्छु भन्ने विश्वास गर्छन् ।

दुई वटा मनोविज्ञान देखिंदैछ । एउटा, जनतामा भिजेको, काम गरेको र कमाण्ड गरेको पंक्ति निर्वाचनको विधिबाट जान पनि तयार छ । अर्को, जो धेरै फिल्डमा भिजेको छैन, कार्यकर्तासँग घुलमिल पनि छैन । नेताको वरिपरि घुम्छ र सत्ता हुँदा सत्ता कब्जा गर्छ । सत्ता नहुँदा केन्द्रीय कार्यालय लगायत स्थान कब्जा गर्छ । उनीहरू चाहिं चुनावमा जान डराइरहेका छन् ।

अध्यक्ष वा निश्चित नेताहरूले घोषणा गर्ने विधि चाहिं लोकतान्त्रिक होइन । दावेदारहरूको बीचमा सर्वसहमत गर्न सक्दा चाहिं वैज्ञानिक विधि हो । दावेदारहरूलाई नै वास्ता नगरिकन निश्चित नेताहरूले घोषणा गर्दा चाहिं आजको नेकपा एमाले सर्वसहमत हुन्छ भन्ने हुँदैन ।

  • तपाईं चाहिं निर्वाचन चाहनुहुन्छ ?

दावेदार र नेताहरूबीचको समझदारीबाट सर्वसहमत हुँदा सहज स्थिति हुन्छ । होइन भने निर्वाचनको विधिलाई सबैले स्वीकारेर जानु नै राम्रो हुन्छ । निर्वाचनमा पदाधिकारी पराजय हुँदा केन्द्रीय सदस्य हुने पार्टी विधानले व्यवस्था गरेको छ । केन्द्रीय कमिटीमा पराजय हुने साथीहरू प्रदेश तहको संगठनमा रहनुहुन्छ । प्रदेश पदाधिकारी त केन्द्रीय सदस्यभन्दा कम हुँदैन । पराजय बेहोरेका साथीहरूलाई पनि काम गर्न पर्याप्त स्पेश रहन्छ ।

  • तर प्रतिनिधि चयन हुनुअगाडि त अध्यक्षले उच्चस्तरको सहमति नै उच्च तहको लोकतन्त्र भन्नुभएकाले पनि धेरै नेता अलमलमा देखिएका हुन् ?

अध्यक्ष कमरेडले उच्चस्तरको सहमति त भन्नुहुन्छ, तर भित्रै मनदेखि भनेको हो जस्तो लाग्दैन ।
अर्कातिर धेरै सर्वसहमत भनिरहेका साथीहरू नै चुनावको आन्तरिक तयारीमा जुट्नुभएको छ । आन्तरिक टीमहरू बनाइरहनुभएको छ । अध्यक्ष सहित नेताहरूले सर्वसहमत गर्दा धेरै राम्रो हो । तर सर्वसहमतको नाममा यो र त्यो पक्ष भनेर तर अध्यक्ष किन विवादमा पर्नु ! अध्यक्षलाई सबैले सर्वमान्य ढंगले स्वीकार गरिरहेको सन्दर्भमा त्यसैगरी हेर्नुपर्छ ।

एकता प्रक्रियाबाट आउनुभएका पूर्वमाओवादी कमरेडहरू र १० बुँदे सहमति गरी पार्टीमै रहनुभएका कमरेडहरूको चाहिं सहज कार्यविधि र समझदारी बनाएर जाँदा राम्रो हुन्छ । बाँकी अन्यको हकमा खुला प्रतिस्पर्धा गरेर जानुपर्छ ।

  • अध्यक्ष, माओवादीबाट आएका र १० बुँदे पक्षधरलाई जोगाएर बाँकी प्रतिस्पर्धामा उत्रने ?

उहाँहरूको हकमा एकप्रकार समझदारी बनाउन सकिन्छ । चुनावमा जाँदा उहाँहरू हट्ने स्थिति पनि हुनसक्छ । विधान सम्मेलन गर्दा ध्यान नपुगेको पनि हुनसक्छ ।

एउटा विधि के हुनसक्छ भने हामीले पदाधिकारी १५ जना भनेका छौं । त्यसमा दुई उपाध्यक्ष, एक उपमहासचिव, दुई सचिव मनोनीत गर्ने व्यवस्था गर्नुपर्थ्यो । केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनीत गर्ने व्यवस्था छँदैछ ।

  • माओवादी र १० बुँदेबाट आएकालाई समेट्न त्यो विधिको अझै सम्भावना देख्नुहुन्छ ?

विधान महाधिवेशन राष्ट्रिय महाधिवेशनको मातहत हुन्छ । विधान महाधिवेशनका कतिपय निचोड र निष्कर्षहरूले राष्ट्रिय महाधिवेशन सच्याउन सक्छ । नेतृत्व चयनका सन्दर्भमा जटिलता आयो भने बाधा अड्काउ फुकाउका रूपमा हुनसक्छ । यदि हामीले मनोनीतको व्यवस्था गर्‍यौं भने निर्वाचनमा कतिपय पक्षमा अन्याय हुँदा नेतृत्वले विवेक पुर्‍याउन सक्छ । लोकतान्त्रिक अभ्यासका नाममा शतप्रतिशत निर्वाचनको विधिमा जाने कुरा पनि कहिलेकाहीं पूर्ण लोकतान्त्रिक अभ्यास नहुन सक्छ । अन्य पार्टीबाट आउनेहरूका लागि पनि यो विकल्प सजिलो हुन्छ ।

एकता प्रक्रियाबारे त हामी लचिलो पनि छौं । जस्तो– पार्टीमा १० वर्ष काम गरेकाले प्रतिनिधि बन्ने भन्ने प्रावधान नयाँ प्रवेशी कोमल वली लगायतको हकमा लागू भएन । त्यसैले मनोनीतको व्यवस्था गरिदियौं भने समाजमा विशिष्ट योगदान पुर्‍याएकाहरू आउने ढोका पनि खुला हुन्छ ।

  • तपाईंले सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । तर अगडि जाम त ठूलै छ, छिचोल्नुहोला ?

युवा संघ र विद्यार्थीको पृष्ठभूमिका झण्डै ५०० प्रतिनिधि आउनुभएको छ, जो मेरो भावनात्मक सम्बन्ध भएका प्रतिनिधिहरू हुन् । उहाँहरूको राय मैले सचिवमा उम्मेदवारी दिनुपर्छ भन्ने छ । त्यसैले सचिवमा उम्मेदवारी दिंदैछु ।

सर्वसहमतिको कुरा पनि छ, तर सचिवसम्म चाहिं प्रतिस्पर्धा गर्न दिनुपर्छ । किन भने मैले भनिसकें– पदाधिकारीमा प्रवेश गर्ने पद हो, त्यो । प्रवेश ढोका नै बन्द हुनुहुँदैन । यसरी त नयाँ पुस्ता कहिले आउँछ त ? आउँदैन नि ! त्यसैले मापदण्ड पुगेका नयाँ पुस्तालाई यो पदमा प्रतिस्पर्धा गर्ने अवसर सिर्जना गरिनुपर्छ । नत्र त एमाले जोश–जाँगर र ऊर्जा बोकेको पार्टी नभएर ज्येष्ठ नागरिकहरूको पार्टी बन्न जान्छ । कांग्रेसमा गगनजी र विश्वप्रकाश शर्माहरूले महामन्त्रीमा दाबी गरिरहँदा एमालेमा चाहिं त्यो पुस्ताका नेता इन्ट्री नपाउने भन्ने त हुँदैन नि ! हिजो कांग्रेसभन्दा एमाले युवामैत्री हो भन्ने थियो, अब कांग्रेस भन्दा एमाले युवामैत्री होइन भन्ने सन्देश त दिनुभएन ।

  • तर मतदानकै प्रक्रियामा जाँदा पनि जिताउनुपर्नेलाई नेतृत्वले आन्तरिक लिस्ट बाँडिहाल्छन् भन्ने आशंका देखिन्छ नि ?

आजको सूचना र प्रविधिको जमानामा २०३६ सालभन्दा अगाडिको पुस्ताले मात्रै पदाधिकारीमा रहने अनि नयाँ पुस्ता घुस्न पाएन भने त एमालेले थप जोश कसरी पाउँछ ? त्यसैले नेताहरूले यसमा दबाव दिनुहुँदैन भन्ने आग्रह पनि हो ।

  • तपाईंले भने जस्तै निर्वाचनकै माध्यमबाट नेतृत्व चयन गर्दा एमाले एकताबद्ध रहँदैन भन्ने चिन्ता पनि देखिन्छ । तपाईंलाई के लाग्छ ?

निश्चय नै हामीभित्र असंख्य अन्तरविरोध छ, हिजो संस्थागत ढंगले गुटबन्दी गर्ने ढंगले प्रकट हुन्थ्यो भने अहिले स्वतन्त्र ढंगले प्रकट भइरहेको छ । विपरीत ध्रुवहरूको संघर्ष र एकता नै माक्र्सवादीको मूल मर्म पनि हो । त्यसैले धुरीका रूपमा हामीले केपी ओलीलाई स्वीकारिसकेपछि अन्तरविरोधहरूलाई मित्रवत् ढंगले हल गर्नुपर्छ । यसतर्फ नेतृत्वले ध्यान दिनुपर्छ । हामीले पदाधिकारीका रूपमा प्रवेश पाउँदा यसतर्फ काम गर्न सक्छौं । जो, विगतमा यो पाटोमा काम भएन । केपी ओली कमरेड अध्यक्ष र प्रधानमन्त्रीका रूपमा धेरै व्यस्त हुनुभयो । अब दोस्रो पुस्ताले छलफल गराउने, नेताहरूको बीचमा अन्तरक्रिया गराउने, मन्त्रालय र पार्टीभित्र समानुपातिक ढंगले जिम्मेवारी दिने पाटोमा ध्यान पुगेन । जो कमरेडहरू नेतृत्वको नजिक रहेर काम गर्नुभयो, उहाँले यो पाटोमा ध्यान दिनेभन्दा गलत सूचनाहरू सम्प्रेषण गर्ने र झोलीको देउता बनाउने गतिविधि गर्नुभयो । माओवादीसँगको एकता विखण्डित हुने कुरा होओस् वा हाम्रो पार्टी विभाजन भयो ।

हामी अहिले एकताबद्ध पार्टी निर्माण गर्ने गरी महाधिवेशन गर्दैछौं । महाधिवेशनपछि ठूलो मात्रामा ऊर्जा पैदा हुनेछ । केही मात्रामा निराशा र अन्तरविरोध पनि देखिन सक्छ । त्यसलाई हल गर्न मध्यमार्गी पंक्ति पनि निर्माण गर्न जरूरी छ । त्यस्तो भूमिका हामी तलै रहेर पनि गर्‍यौं, भोलि पदाधिकारीको जिम्मा पाउँदा पखेटा फिजाएर गर्न सक्छौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४