Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देवी पूजा : विज्ञान किअन्धविश्वास ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक ८ २०७८
  • 5.4K
    SHARES

कुरा सन् १९६० तिरको हो । नासामा ‘मंगल ग्रह मिसन’ शुरू भएको थियो । मंगल ग्रहमा जीवन छ कि छैन ? यो पत्ता लगाउन विशेष उपकरणहरूको डिजाइन भइरहेको थियो । यसको जिम्मा पाएका थिए अमेरिकी वैज्ञानिक जोन लभलकले ।

पृथ्वीमा के कारणले जीवनको अस्तित्व सम्भव भयो ? शुरुआतमा लभलक यही प्रश्नमा केन्द्रित भए । अध्ययनका क्रममा उनलाई खगोल विज्ञानको एक तथ्यले आकर्षित गर्‍यो – पृथ्वीमा जीवनको शुरुआत भएयताका चार विलियन वर्ष सूर्यको तापक्रम २५ प्रतिशतले बढेको छ । तर पृथ्वीको तापक्रम भने जीवनलाई सहज हुने तहमा स्थिर छ ।

लभलकको मनमा जिज्ञासा पैदा भयो- के साँच्चै पृथ्वीले एउटा जिउँदो प्राणीले जस्तै आफ्नो तापक्रमलाई स्वनियमन गरिरहेको छ ? लामो खोज र विमर्श पछि लभलक यो निष्कर्षमा पुगे कि पृथ्वी निर्जीव ढुङ्गा-माटो र हावापानीले बनेको मृत थुप्रो होइन, बरु यो त जीवित ब्रहृमाण्डको जीवित इकाइ हो । पृथ्वीले ब्रहृमाण्डीय प्रणालीसँग सहकार्य गरेर आफ्नै ‘पहल’ मा जीवन सृष्टि शृंखला चलाइरहेको रहेछ ।

सन् १९६९ मा लभलकले ‘पृथ्वी स्व-सञ्चालित प्रणाली’ नामको प्रतिवेदन नासामा प्रस्तुत गरे । लभलकले भने- पृथ्वी सबैखाले जीवन र वातावरणहरू एकआपसमा संयुक्त भएर ‘स्व-सञ्चालित’ जटिल प्रणाली सहितको जिउँदो इकाइ हो । निर्जीवबाट सजीव पैदा भएको होइन, जीवन नै जीवनको निर्माता हो । जिउँदो ब्रहृमाण्ड र जिउँदो पृथ्वीबीचको सहकार्यबाट पृथ्वीमा तापक्रम सन्तुलन कायम भइरहेको छ । यसको परिणाम पृथ्वीमा जीवनचक्र चलिरहेको छ । पृथ्वीमा जीवन रहेको परिघटना निरपेक्ष परिघटना हो ।

लगत्तै उनका साथी तथा उपन्यासकार विलियम गोल्डिङले लभलकको निष्कर्ष ‘गाया’ (ब्रहृमाण्ड देवी) नामको प्राचीन ग्रीक मिथकसँग मिल्ने भएकोले आफ्नो सिद्धान्तलाई सोही मिथकको सम्मानमा ‘गाया सिद्धान्त’ (गाया हाइपोथेसिस) नाम दिन सुझाव दिए । लभलकले पनि कृतज्ञतापूर्वक साथीको सुझावलाई स्वीकार गरे ।

वातावरण अध्ययनको कोणबाट लभलक जुन निष्कर्षमा पुगे, त्यो प्रसिद्ध जीवशास्त्री लिन मार्गुलिसको जीवशास्त्रीय सिद्धान्त ‘सहजीवन’ (सिमवायोसिस) सँग ठ्याक्कै मेल खायो । तब लभलक-मार्गुलिसको ‘संयुक्त मोर्चा’ बन्यो । उनीहरूले विज्ञानका शास्त्रीय धारणामाथि प्रहार गर्न थाले ।

मूलतः उनीहरूले डार्बिन सिद्धान्तमाथि प्रहार गरे । डार्बिन भन्थे- ‘स्थूल भौगोलिक अवस्थाले नै पृथ्वीमा जीवन पैदा हुने अवस्था सिर्जना गरेको हो । जनावर र वनस्पतिहरू एक किसिमका ‘यात्रु’ हुन्, जो भौगोलिक विकासको खास मौकामा उद्विकास भएका थिए ।

लभलक र मार्गुलिसले यसको ठीक विपरीत कुरा गरे । उनीहरूले भने- आफ्नो अस्तित्वका लागि आवश्यक वातावरण जीवन आफैंले सिर्जना गर्दछ । पृथ्वीका चिजहरूलाई सजीव र निर्जीवमा विभाजन गर्नु बेकार छ । सबै चिज जीवन हो । पृथ्वी मात्र होइन, सिङ्गो ब्रहृमाण्ड नै जिउँदो छ । खास वातावरणले जीवन सृष्टि गरेको होइन, जीवन स्वयम्ले जीवन सृष्टि गरेको हो । पृथ्वी र ब्रहृमाण्ड अन्तरसम्बन्धित पृष्ठपोषण संयन्त्रमा बाँधिएका छन् । पृथ्वीमा जीवनको अस्तित्व रहेको परिघटना पृथ्वी केन्दि्रत ‘स्थानीय परिघटना’ नै होइन । यो त स्वयं-सृजित ‘ब्रहृमाण्डीय परिघटना’ हो ।

गाया सिद्धान्तका अनुसार प्रकृति ‘जिउँदो देवी’ हुन् । जसरी शरीरको कुनै अंगमा चोट लाग्दा सारा जीवनलाई पीडा हुन्छ, त्यसरी नै पृथ्वीको कुनै एक तत्वलाई चलाउँदा सम्पूर्ण ब्रहृमाण्डीय प्रणाली नै प्रभावित हुन्छ

लभलक-मार्गुलिसले ‘विज्ञानहरूको स्वतन्त्र विधा हुन्छ’ भन्ने शास्त्रीय मान्यतालाई पनि प्रहार गरे । उनीहरूले विज्ञानहरू पनि अन्तरसम्बन्धित छन् भन्ने कुरामा जोड गरे । यो तथ्य लभलक र मार्गुलिस बीचको सहकार्यले नै देखाइरहेको थियो ।

रमाइलो के भयो भने लभलक र मार्गुलिसका कुरा शुरुआतमा वैज्ञानिकहरूले नै बुझ्न सकेनन् । गाया सिद्धान्तले यो ब्रहृमाण्ड कुनै ‘सृष्टिकर्ता’ ले उद्देश्यमूलक ढंगले सृष्टि गरेको भन्न खोज्यो भनेर उनीहरूले विरोध गरे । आलोचनाका क्रममा यस्ता प्रश्न सोधिए- के आगामी वर्षको तापक्रमको टुङ्गो गर्ने भनेर कुनै दिन पृथ्वीका प्रजातिहरूको कुनै कमिटीको बैठक बसेको थियो ?

यस्ता आलोचनालाई लभलकले सरल तरिकाले सम्बोधन गरे । यसका लागि उनले एउटा गणितीय मोडेल तयार पारे । जसलाई ‘डाइजिवल्र्ड’ भनिएको छ । यो कम्प्युटर सिमुलेसन हो । यसले ‘गाया सिद्धान्त’ का गहिरा रहस्यहरूलाई सरल तरिकाले गणित र संकेतमा देखाउँछ ।

यस पद्धति मार्फत लभलकले पृथ्वीको तापक्रमको नियमन ब्रहृमाण्डीय प्रणालीको यस्तो गतिशील प्रक्रिया हो, जुन कुनै ‘सृष्टिकर्ता’ को उद्देश्य विना, बरु ब्रहृमाण्डीय जीवन र वातावरण बीचको पृष्ठपोषण संयन्त्रद्वारा स्वचालित ढंगले प्रकट हुन्छ भन्ने देखाए ।

आज ‘गाया हाइपोथेसिस’ विज्ञान जगतमा लोकपि्रय सिद्धान्त हो । गाया सिद्धान्तका अनुसार प्रकृति ‘जिउँदो देवी’ हुन् । जसरी शरीरको कुनै अंगमा चोट लाग्दा सारा जीवनलाई पीडा हुन्छ, त्यसरी नै पृथ्वीको कुनै एक तत्वलाई चलाउँदा सम्पूर्ण ब्रहृमाण्डीय प्रणाली नै प्रभावित हुन्छ ।

  • धर्म र विज्ञान

आज हामी विज्ञानले नयाँ-नयाँ आविष्कार गर्‍यो भन्दछौं । तर विज्ञानले कुनै नयाँ काम गरिरहेको हुँदैन । पुरानै कुरालाई पुनरावृत्त गरिरहेको हुन्छ । जुन कुरा पूर्ववर्ती पुस्ताले कुनै न कुनै तरिकाले थाहा पाएकै हुन्छ । हजारौं वर्ष अघिदेखि धर्म वा परम्पराका माध्यमबाट त्यो चेतना पुस्तान्तर हुँदै आएको हुन्छ । विज्ञानले नयाँ बनाएको चिज शायद सूक्ष्म भौतिक प्रविधि (सफ्टवेयर) मात्रै हो । वैज्ञानिक सिद्धान्तहरू त पुरानै हुन् ।

आज हामी धर्मलाई पुरानो भन्दछौं । तर धर्मका कुरा पुराना हुँदैनन् । अति आधुनिक भनिएको विज्ञानमा ती कुरा प्रकट भइरहेका हुन्छन् । वैज्ञानिकहरूका नयाँ-नयाँ खोजहरूमा ती दोहोरिरहेका हुन्छन् । धर्मको पुरानो चिज शायद ‘धर्मशास्त्र’ मात्रै हो । त्यसभित्रको दृष्टिबोध त बिल्कुलै नयाँ हो ।

संस्कृतमा एउटा शब्द छ- ‘सनातन’ । जुन चिजलाई नयाँ र पुरानो दुवै भन्न मिल्दैन, त्यस्तो चिजलाई ‘सनातन’ भनिन्छ । धर्म र विज्ञान, दुवै नयाँ पनि होइनन्, पुराना पनि होइनन् । परम्परा पनि होइनन्, आधुनिक पनि होइनन् । धर्म र विज्ञान ‘सनातन’ हुन् ।

धर्म र विज्ञान दुवैको उद्देश्य एउटै हो, सत्यको खोज । विज्ञानले वस्तुगत अवलोकनका माध्यमबाट यो खोज गर्दछ । धर्मले स्व-अवलोकनका माध्यमबाट । दुवैमा अनुसन्धान अनिवार्य छ, विश्वास वर्जित छ । धर्मले ‘योग’ र विज्ञानले ‘प्रयोग’ मा यो प्रक्रियालाई अगाडि बढाउँछ ।

संसारलाई सृष्टि-सृष्टिकर्ताको द्वैतमा बुझ्नु वा पदार्थीय द्वैतमा बुझ्नु, पदार्थीय द्वैत नै सबथोक हो भनेर बुझ्नु, सांसारिक द्वैतहरू विपरीत तत्व हुन् भनेर बुझ्नु, वस्तु जगतलाई सर्वकालिक मान्नु र पृथ्वीलाई निर्जीव पदार्थको थुप्रो मान्नु, यी सबैखाले बुझाइ अन्धविश्वास हुन् ।

धर्मले हजारौं वर्ष अघिदेखि भन्दै आएको छ- शून्यबाट संसार सृष्टि भएको हो । शून्य ‘स्थिर’ हुन्छ, संसार गतिशील हुन्छ । शून्य शाश्वत र संसार क्षणिक हो । शून्य मूल र संसार त्यसको छायाँ हो । शून्य ‘नर्तक’ हो, संसार उसको ‘नृत्य’ हो । यसैको सारका रूपमा भनियो- ‘ब्रहृम सत्य, जगत मित्थ्या’ ।

धर्मले भन्छ- सांसारिक द्वैतहरू विपरीत तत्व होइनन्, परिपूरक हुन् । पृथ्वी तत्व हामी मनुष्य जातिका लागि ‘मातृशक्ति’ र ‘मृत्युशक्ति’ दुवै हो । यसको गतिशील सन्तुलनबाट मात्र जीवन सार्थक हुन्छ । द्वैतता भन्दा माथि उठ्न सक्दा मात्र जीवनको सार्थकता रहन्छ ।

हिजो शास्त्रीय विज्ञानका लागि यो कुरो असंगत थियो । आज यही बुझाइ धार्मिक र वैज्ञानिक दुवै हो । धर्मले यो कुरा हजारौं वर्ष अगाडि ‘योग’ का माध्यमबाट थाहा पायो । विज्ञानले यही कुरा केही वर्षअघि ‘प्रयोग’ का माध्यमबाट थाहा पायो । समयको अन्तराल मात्र फरक हो । धर्म र विज्ञानको अभिमुखीकरण एकै दिशामा छ । धर्म र विज्ञान विरोधी छैनन्, आपसमा परिपूरक छन् ।

भर्खरै दशैं सकियो । लगत्तै तिहार आउँदैछ । यी दुवै पर्वमा मातृशक्ति (देवी) को उपासना गरिन्छ । दशैंमा नौ किसिमका देवीहरूको पूजा गरिन्छ । तिहारमा गाई र धनकी देवी (लक्ष्मी)को पूजा गरिन्छ । दुवै पर्वका कथा छन् । दशैंमा देवी र दानव, राम र रावणको लडाईंको कथा छ । तिहारमा बलि राजाको कथा छ ।

दशैं पर्वको अवसरमा पूजा गरिने देवीका नौ रूप कुनै भयावह त कुनै मनमोहक छन् । तिहारमा पूजा गरिने लक्ष्मीको रूप मनमोहक छ । देवीको मनमोहक रूप सबैलाई स्वाभाविक लाग्ला । तर किन देवीकै नाममा भयावह रूप र बिम्ब रचना गरियो ? यस्ता बिम्बका पछाडि कस्तो विज्ञान छ ? यस सम्बन्धमा ओशो भन्दछन्-

‘तिमीले देखेको होला कालीको प्रतिमा । काली अति सुन्दर छिन्, तर काली हुन् । सौन्दर्य अपूर्व छ, तर औंसीको रात जस्तो । काली आमा हुन्, आमाकी प्रतीक हुन् । समस्त मातृत्वकी प्रतीक हुन् । आमाको अर्थ हुन्छ- जसबाट पैदा भयो । तर काल मृत्युको पनि नाम हो । त्यसैले काली मृत्युको पनि प्रतीक हुन्, जसमा सबै लीन हुनेछ । यसैले माँ कालीको घाँटीमा मनुष्यका टाउकाको माला छ । हातमा मनुष्यको भर्खरै काटेको खोपडी छ । तप्तप् चुहिंदै गरेको रगत छ ।

यो प्रतीक बहुत महत्वपूर्ण छ । यसमा हामीले जीवन र मृत्युलाई साथ साथ खडा गर्ने कोशिश गरेका छौं । स्त्री जीवनको प्रतीक हुन् । जीवन उनीबाट प्रकट हुन्छ । भूमि हुन् र मृत्युको प्रतीक पनि । यस्तो हिम्मत दुनियाँमा कहिल्यै कुनै अर्को क्षेत्रमा गरिएन कि आमामा मृत्यु देखियोस् । आमामा जन्म त सबैले देख्छन्, तर भारतको खोज यस्तो छ कि जहाँ जन्म भयो त्यहीं नै मृत्यु हुनेछ । जहाँबाट आयो त्यहीं फर्केर जानुछ । त्यसैले आमा जन्म पनि हुन्, जन्मदात्री पनि र मृत्यु पनि । काली पनि हुन्, काल पनि ।

प्रथम जहाँबाट हामी शुरु भयौं, अन्त्यमा त्यहीं फिर्ता जानेछौं । एक लहर उठेको छ सागरमा फेरि सागरमा नै झर्नेछ र समाप्त हुनेछ । त्यसैले जीवन र मृत्यु विपरीत हो, हाम्रो हेराइमा । तर यदि परमात्माको दृष्टिबाट हेर्‍यौं भने सहयोगी हो । जसरी दुई पखेटा नहुँदा पक्षी उड्न सक्दैन । जसरी दुई खुट्टा नहुँदा तिमी हिंड्न सक्दैनौ । यस्तै अस्तित्वको पनि जीवन र मृत्यु, दुई खुट्टा छन् । (ओशो, एस धम्मो सनन्तनो, प्रवचन ९७)

  • देवी बिम्बकै सम्बन्धमा सद्गुरु भन्दछन् –

‘आज पनि मूर्तिकलाहरूले शिवको छातीमा टेकिरहेकी कालीको बिम्ब देखाइरहेको हुन्छ । यो शक्तिशाली बिम्ब हो । यी काली वा देवी हुन् जसले शिवलाई जडतातर्फ वा गतिशीलता तर्फ लैजान पनि सक्छिन् । यो विपरीत लिङ्गी बीचको लडाईं होइन । कालीको मूर्ति दुई आयामहरूको अन्तरनिर्भरताको एउटा दृश्य बिम्ब हो । यो एउटा संकेत हो कि जबसम्म स्त्रीलिंगी हुँदैन तबसम्म पुलिङ्गी पनि जीवनहीन हुन्छ ।

त्यसैले शिवले डमरु बोकेका छन् । डमरु भनेको दुई त्रिभूजको मेल हो । दुई त्रिभूज भनेको पुलिङ्गी र स्त्रीलिङ्गी आयाम हो जसलाई शिवले एक ठाउँ समाहित गर्दछन् । उनले दुवैको मिश्रण बनाउँछन् किनकि यी दुई विना जीवन सौन्दर्यहीन तथा अर्थहीन हुनेछ । यदि स्त्रीलिङ्गीलाई सम्बोधन गरिएन भने अस्तित्व एक आयामीय हुनेछ । शिवको डमरुले शताब्दीयौंदेखि यो संकेत गरिरहेको छ कि यी दुई आयामहरू विपरीत तत्व होइनन् । तिनीहरू परिपूरक हुन् ।’ (सद्गुरु र सुब्रमण्यम्, आदियोगी, द सोर्स अफ योगा, पृष्ठ ९१)

  • दानवीय दृष्टि
यति हुँदाहुँदै लालबुझक्कडहरूले भने जस्तो देवी र दानवको कथा जातीय द्वन्द्वको कथा भने होइन । देवी पूजा अन्धविश्वास पनि होइन । अनि दशैं चाड जनजातिले बहिष्कारै गर्नुपर्ने खालको जनजाति विरोधी चाड पनि होइन

हाम्रा चाडपर्वसँग जोडिएर आउने बिम्ब र कथाहरूलाई आजसम्म प्रायः दुईखालको दृष्टिकोणबाट हेरिएको छ । एक खालका मानिसहरू परम्परावादी छन् । उनीहरू यसलाई ‘देवताका पालाका वास्तविक घटना’ भन्दछन् । उनीहरू यस्ता कथालाई वास्तविक इतिहास नै मान्दछन् ।

अर्कोथरि लालबुझक्कडहरू छन् । यिनीहरू पनि यी कथालाई इतिहास नै मान्दछन् । फरक यति हो यिनीहरू यस्ता कथालाई इतिहासको वर्गसंघर्ष वा जातीय द्वन्द्व वा शोषणको जाल आदि भन्दछन् । भारतीय ‘महापण्डित’ राहुल सांकृत्यायनदेखि नेपाली विद्वान् मोदनाथ प्रश्रतिसम्मका लेखन, यसैका उदाहरण हुन् । (हेर्नुहोस्, सांकृत्यायन, दर्शन दिग्दर्शन/प्रश्रति, देवासुर सङ्ग्राम)

तर माथिका दुवैखाले निष्कर्ष धार्मिक वा वैज्ञानिक होइनन् । इतिहासमा देवता र दानव, सुर र असुर नामका कुनै जाति नै थिएनन् । देवी र दानवको लडाईंको कथा इतिहास वा सामाजिक घटना नै होइन । यो इतिहासको जातीय द्वन्द्व नै होइन ।

हाम्रा चाडपर्वसँग जोडिएर आउने कथा त ‘प्रतीक-विज्ञान’ हुन् । प्राचीनकालका ऋषिहरूले तपस्चर्याका माध्यमबाट जीवन र जगतबारे जुन गहिरो तथ्यबोध गरे, त्यो गणितमा वा साधारण बोलीचालीको भाषामा अभिव्यक्त गर्न सम्भव भएन । त्यसकारण त्यतिबेलाको लोकलाई बुझाउन अनेकन् बिम्ब/प्रतीकको सहारा लिइयो । फलस्वरूप विभिन्न मूर्ति, काव्य तथा महाकाव्यहरू रचना गरियो ।

पूर्वीय सभ्यताको सारा मूर्तिकला र पुराण साहित्य यही क्रममा जन्मियो । कालान्तरमा तिनै मूर्तिकला र पुराण कथाका आधारमा चाडपर्वको परम्परा बस्यो । नौ देवीको पूजा यस्तै विज्ञान हो, जसको उद्देश्य प्रकृतिको स्वभाव र मनुष्यभित्रको मनोद्वन्द्वका अनेकन् आयामलाई अभिव्यक्त गर्नु हो ।

तर हाम्रा लालबुझक्कडहरू अन्धविश्वास र धर्मबीचको भेद बुझ्दैनन् । तब चाडवाडसँग जोडिएका कथालाई लालबुझक्कड शैलीमा ‘इतिहासको जातीय द्वन्द्व’ भनिदिन्छन् । धर्म भनेकै अन्धविश्वास हो भनिदिन्छन् ।

यिनीहरू धर्म शब्दको पाश्चात्य परिभाषालाई नै सबथोक मान्दछन् । धर्म (रिलिजन) को पाश्चात्य मान्यता अनुसार यो संसार कुनै बुद्धिपरक शक्ति (ईश्वर) ले निर्माण गरी र सञ्चालन गरिरहेको छ । ईश्वर यो सृष्टिको ‘कारण’ र संसार उसको ‘कार्य’ हो । यसरी सृष्टि र सृष्टिकर्ताको द्वैतमा संसारलाई बुझ्ने तरिकालाई नै पाश्चात्यहरू धर्म (रिलिजन) भन्दछन् । पाश्चात्यहरूको यो बुझाइ अन्धविश्वास नै हो ।

तर पूर्वका धर्महरूको दृष्टिबोध यस्तो छैन । पूर्वीय धर्महरू ‘सृष्टिकर्ता’ को अस्तित्व नै स्वीकार गर्दैनन् । अभौतिक शून्यबाट संसार अकारण पैदा भएको मान्दछन् । पूर्वका धर्ममा आउने ‘भगवान’ वा ‘ईश्वर’ शब्दको अर्थ पाश्चात्य धारणाको ठीक विपरीत छ । पाश्चात्यहरू ईश्वरलाई एक ‘बीजरूपा-संरचना’ मान्दछन् जसले अतीतमा यो संसार सृष्टि गर्‍यो । तर पूर्वीय धर्मले ईश्वर वा भगवानलाई ‘फलरूपा-प्रक्रिया’ मान्दछन्, जुन मिहिनेत गरेको खण्डमा व्यक्तिले भविष्यमा हासिल गर्नेछ ।

पाश्चात्यहरू कुनै बुद्धिपरक शक्तिले संसारभन्दा अलग बसेर संसार चलाइरहेको मान्दछन् । संसारलाई निर्जीव र सजीवमा विभाजन गर्दछन् । पूर्वीय धर्मले त्यस्तो बुद्धिपरक शक्तिको अलग अस्तित्व पनि स्वीकार गर्दैनन्, प्रकृतिलाई निर्जीव र सजीवमा विभाजन पनि गर्दैनन् ।

पूर्वीय धर्ममा प्रकृतिको अभौतिक तथा निरपेक्ष आयामतर्फ संकेत गर्न ईश्वर वा भगवान जस्ता शब्द प्रयोग गरिन्छन् । तर ईश्वर वा भगवानलाई यहाँ शून्य बिम्बमा हेरिन्छ । शून्य र संसार द्वैत होइन भन्ने बुझाउन शून्यलाई ‘नर्तक’ र संसारलाई उसको ‘नृत्य’ को बिम्बमा हेरिन्छ ।

हिजो शास्त्रीय विज्ञानका लागि यो कुरो असंगत थियो । तर आज यही कुरा आधुनिक विज्ञानले स्वीकार गरिसकेको छ । त्यसैले ‘शून्यबाट संसार’ को बुझाइ धार्मिक र वैज्ञानिक दुवै हो ।

तर लालबुझक्कडहरू पाश्चात्यहरूका शास्त्रीय कुरामै अडिएर बसेका छन् । उनीहरूका लागि एरिस्टोटल, फ्रान्सिस बेकन, डेकार्ट र न्यूटनका कुरा नै पर्याप्त छन् । त्यसयता विज्ञानमा के के परिवर्तन आए भन्ने कुरा यिनीहरूलाई थाहै छैन । यही कारण उनीहरू के अन्धविश्वास र के विज्ञान हो भन्ने कुराको भेउ पाउँदैनन् ।

एरिस्टोटलले भनेका थिए- जगतमा जति पनि द्वैतता देखिन्छ, तिनीहरू विपरीत तत्व हुन्, मनुष्य र प्रकृति पनि विपरीत तत्व हो, प्रकृतिसँग मानिसको संघर्ष हुन्छ ।

यो कुरालाई फ्रान्सिस बेकनले अझ कडा स्वरमा दोहोर्‍याए । उनले भने- ‘प्रकृतिको परिभ्रमणलाई निरन्तर पछ्याउनुपर्दछ । यसलाई आफ्नो सेवामा बन्धक बनाएर दास बनाउनुपर्दछ । यसलाई प्रतिबन्धित गरिदिनुपर्दछ । वैज्ञानिकको उद्देश्य प्रकृतिलाई यातना दिएर यसका रहस्यहरूलाई उजागर गर्न विवश बनाउनुपर्दछ ।’ (फ्रिटजोफ काप्रा, भौतिकका सतपथ पृ.३९२, उद्धृत गरिएको)

यहींबाट ‘प्रकृतिसँग संघर्ष’ र ‘प्रकृतिसँग विजय’ को मान्यता स्थापित भयो । यो मान्यतासँग अर्का पाश्चात्य चिन्तक रेने डेकार्टले शरीर र मनको सम्बन्धलाई पनि मिसाए । उनले शरीर र मन पनि विपरीत तत्व हुन्, जीवनका लागि शरीर मूल र मन सहायक हो भनिदिए ।

बेकनको भौतिकी र डेकार्टको तर्कले जब न्यूटनको गणित पायो, तब एककिसिमको ‘दर्शन’ को उदय भयो । अनि मात्र संसारलाई यान्त्रिक दृष्टिकोणले हेर्न थालियो । हब्स, लक, रुसोदेखि हेगेल र मार्क्ससम्मले यसैलाई शाश्वत सत्य माने ।

आधुनिक विज्ञानको कसीमा हेर्दा यही कुरो अन्धविश्वास हो । धार्मिक दृष्टिले हेर्दा यही दानवीय सोच हो । तर हाम्रा लालबुझक्कडहरू आजसम्म पनि यस्तै कुरा पछ्याएर हिंडिरहेका छन् । यिनीहरू आफैं अन्धविश्वासी भइसके, अरूलाई अन्धविश्वासी भनेर गाली गरिरहेका छन् ।

देवी दृष्टि

प्रकृति मनुष्यको शत्रु होइन, मनुष्य स्वयं प्रकृति हो । प्रकृतिलाई दास बनाउनु भनेको स्वयं आफैंलाई दास बनाउनु हो । प्रकृतिलाई यातना दिनु भनेको आफैंलाई यातना दिनु हो । प्रकृति र मनुष्यको बीचमा केवल सहकार्य सम्भव छ । संघर्ष र विजय असम्भव छ ।

प्रकृति देवी हुन् । प्राकृतिक र मानसिक द्वैतता उनीबाटै पैदा हुन्छ । जस्तो कि उज्यालो र अँध्यारो, जन्म र मृत्यु, सृष्टि र संहार, राग र द्वेष, मोह र घृणा, ‘देवता’ र ‘दानव’ सुख र दुःख आदि । तर प्रकृति बुद्धिपरक छैनन् । त्यसैले उनी पक्षधर छैनन् ।

मनुष्य जाति बुद्धिपरक छ । उसले द्वैतमध्ये कुनै एकको छनोट गर्न वा दुईको बीचमा सन्तुलन बनाउन सक्छ । जसले जीवनका हरेक द्वैत आयामलाई सहज स्वीकार गर्दछ, तिनीहरू बीचमा गतिशील सन्तुलन कायम गर्दछ र सारा द्वैतताभन्दा माथि उठ्ने प्रयास गर्दछ, उसैको जीवन सार्थक हुन्छ ।

प्रकृतिलाई ‘मातृशक्ति’ र ‘मृत्युशक्ति’, सकार र नकार, दुवै रूपमा स्वीकार गरेर ‘पूजा’ गर्दा मात्र मनुष्यको पनि ‘पूजा’ हुन्छ । कुनै एक पक्षमा मात्र जोड गर्दा त्यही दुःखको कारक हो । त्यही ‘दानवीय’ सोच हो ।

हाम्रा चाडपर्वमा पूजा गरिने देवीका अनेकन् बिम्बहरूले यही कुरा भनिरहेका छन् । तर आजसम्म आउँदा बिम्बहरूको गलत व्याख्या भएको, बिम्ब र कथाको सहारामा शासकहरूले आफ्नो राजनीतिक स्वार्थ अनुसारका चाडपर्व सिर्जना गरेको, यस्तै बिम्बका माध्यमबाट जातीय उत्पीडन गरिएको कुरा सत्य हो ।

यति हुँदाहुँदै लालबुझक्कडहरूले भने जस्तो देवी र दानवको कथा जातीय द्वन्द्वको कथा भने होइन । देवी पूजा अन्धविश्वास पनि होइन । अनि दशैं चाड जनजातिले बहिष्कारै गर्नुपर्ने खालको जनजाति विरोधी चाड पनि होइन ।

देवी पूजा पूरा विज्ञान हो । यसले जनजाति र गैरजनजातिबीच भेद गर्दैन । बरु सबै मुनष्य जातिकोे गलत विश्व दृष्टिकोण सच्याउन प्रेरित गर्दछ । जीवनलाई सार्थक बनाउने उपाय देखाउँछ । उन्नत समाज व्यवस्थाका मूल्यमान्यता सिकाउँछ ।

टीका लाउनु वा नलाउनु व्यक्तिको निजी मामिला हो । टीका लाउँदा ठीक, नलाउँदा गलत हुने वा टीका नलाउँदा ठीक र लाउँदा गलत हुने पनि होइन । यस्ता परम्परालाई कर्मकाण्डका रूपमा होइन, विज्ञानका रूपमा बोध गर्न सक्नु चाहिं ठूलो कुरा हो ।

आजको आवश्यकता चाडपर्वलाई धर्मबाट अलग गर्नु होइन, बरु यसको ठीक उल्टो, चाडपर्वहरूलाई धर्म वा धार्मिक सन्देशसँग जीवन्त बनाउनुपर्दछ । चाडपर्वका माध्यमबाट पैदा भएका हानिकारक ‘दानवीय’ संस्कृतिलाई चाहिं परित्याग गर्नुपर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४