जनमतबाट बहिष्कृत मान्छे जनप्रतिनिधिको स्थानमा जाने लालसा राख्दै पार्टीबाट निर्णय गराउनुले उनको चाहना दिनको घामझैं झलमल्ल भएको छ । त्यसो त तत्कालीन नेकपाको आन्तरिक बेमेलमा कहिले यता कहिले उता चहार्नुले पनि उनको नियत प्रष्ट भएको छ । उनका कारण राजनीतिमा हुने उतारचढावले एक इमानदार कम्युनिष्ट भोटरको विश्वासमा पनि गहिरो चोट लागेको छ । उनी पद, पावर र शक्तिका लागि आमालाई पनि बन्धक राख्न पछि पर्दैनन् ।
- जनताले रुचाएको मान्छे नै नेतृत्वमा छन् त ?
गत वर्ष गणतन्त्र दिवसको दिनमा काठमाडौंस्थित खुलामञ्चको प्याराफिटमा उभिएर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको परिभाषा दिए । उनले तीनवटा तरिकाबाट हामीलाई गणतन्त्रको परिभाषा घोकाए । जसअन्तर्गत तेस्रो नम्बरको परिभाषामा उनले भनेका थिए- ‘जनताले रुचाएको र रोजेको व्यक्तिबाट मुलुकको शासन व्यवस्था सञ्चालन हुने प्रणाली गणतन्त्र हो ।’
आज उनैले भनेको परिभाषाको गणतन्त्र उनीबाटै घाँटी निमोठिएको छ । जसका कारण पार्टी प्राइभेट लिमिटेड कम्पनीमा परिवर्तन भएको छ भने दुई तिहाइको नजिक रहेको सरकार हेर्दाहेर्दै सडकमा झरेको छ ।
- रछ्यानको दम्भले भरिएको हाम्रो राजनीति हो र ?
वर्तमान अवस्थामा नेपालको राजनीतिक सत्ता, शक्ति र दम्भले उनीहरूको आँखा टालिएको छ । त्यसैले आफ्नैभित्रको कुरा बाहेक उनीहरूले केही देख्दैनन् । त्यसैले त सबैले भन्ने गरेका छन्- राजनीति फोहोरीहरूको खेल हो अर्थात् रछ्यान डुब्नका लागि गरिने प्रतिस्पर्धा । त्यसैले त पटक-पटक जनताबाट बहिष्कृत व्यक्तिहरू जनताकै नेतृत्वमा पुुग्ने गरेका छन् । यसको ज्वलन्त उदाहरणका पात्र हुन्- माधवकुमार नेपाल । उनले दुई स्थानबाट चुनाव हारे । स्वयम् पुष्पकमल दाहाल सर्लाहीको निर्वाचन क्षेत्रमा गणितमा मात्रै विजयी भए । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ गोरखामा पराजित भए भने वामदेव बर्दियामा । यस्ता उदाहरण अरू पनि छन् । यी सबै कानूनी गणितमा सक्षम तर स्थानीय जनस्तरबाट बहिष्कृत पात्र हुन् । शायद उनीहरू सबैलाई त्यही फोहोरी खेल नै मन परेको होला ।
- आफ्ना लागि आफैं गोल गर्न अब्बल वामदेव हुन् ?
आजका दिनमा पनि प्रष्ट वक्ताको रूपमा वामदेव नेकपा राजनीतिको केन्द्रमा रहेका छन् । त्यसैले त नेकपाले हान्ने एक गोलमा उनैले बाजी मारे । आफैंले गोल गरे । अर्का खेलाडी प्रचण्ड र केपीको पासमा । गोलपोष्टमा थिए अर्थविद् युवराज खतिवडा, जो देशको अर्थतन्त्र जोगाउन पनि अक्षम नै देखिए । वामदेवको गोलका कारण खतिवडा जनताको गाली खाँदै बाहिरिए । वामदेव सत्ता बाहिर रहँदा पनि उत्तिकै शक्तिमा रहन्छन् । त्यसैले त आफ्नै प्रयासले जोडे दुई ध्रुवका कम्युनिष्टहरू । तर आफ्नो सत्ता मोहको कारण उनले पटकपटक यो जोडाइलाई चर्काउने धम्की दिए । र अन्ततः उनैका कारण तहसनहसको अवस्थामा पुग्यो । पूर्णरूपमा काम गर्ने समय अब डेढ वर्ष पनि छैन तर पनि किन त यस्तो लोभ र मोह पदको ? अहिले सबैको दिमागमा उठेको प्रश्न यही हो वामदेव गौतमप्रति ।
राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेलले एउटा सञ्चारमाध्यममा अन्तर्वार्ता दिंदै वामदेवलाई पींध नभएको लोटाको उपमा दिए । यसको अर्थ उनमा पद बाहेक अरू कुनै पनि कुराको अडान छैन । पदको लागि जता पनि पल्टन सक्छन् । पछिल्ला समयमा उनले गरेका क्रियाकलापलाई हेर्ने हो भने उनी नेपाली राजनीतिक इतिहासका सबैभन्दा ढुलमुले व्यक्ति हुन् । उनी जत्तिको ढुलमुल सामान्य एक गिलास रक्सीमा आफ्नो मत बेच्ने नेपालीको पनि देखिंदैन । भोटरले त जसको नाममा रक्सी खान्छ उसैलाई भोट दिन्छ । यत्तिको विधि र इमानदारी पनि देखिएन वामदेवमा ।
- को हुन् त वामदेव ?
यही विषयमा एउटा आर्टिकल लेख्न मन लागेको कुरा हिजो मात्रै सामान्य चियापसलमा कुरा गरेको एक जना अघिल्लो चुनावमा हारेका उम्मेदवारले भने- ‘थाङ्नोलाई के पिट्नुहुन्छ ।’
सोच्दैछु- ‘के मैले विश्वास गरेको पात्र उनैले भनेको जस्तै थाङ्नो हो त ?’ अनि जंगलमा बुलेटसँग खेल्दै गरेको समूहलाई मूल राजनीतिक धारमा ल्याउने एक मात्रै व्यक्ति साँच्चिकै थाङ्नो हुनसक्छ । अनि एमाले र एमाओवादीलाई एकठाउँमा ल्याएर नेकपा बनाउने आँट भएको मान्छेको लागि थाङ्नोको पदवी ठीकै होला त ?
मेरा यी तमाम जिज्ञासाको उत्तरमा उनले एक शब्दमा भने- ‘आज भरेसम्मका सामाजिक सञ्जालमा उनी बारेमा लेखिएका अभिव्यक्तिको विश्लेषण गर्नुस् ।’ सामाजिक सञ्जालमा उनैले भने जस्तै वामदेवका सत्ता मोहको कटाक्ष र व्यङ्ग्य गर्दै पोष्ट गरेका छन् । कतिले त उनलाई रछ्यानको कीरा नै भएको अभिव्यक्ति पनि दिएका छन्- उनले नाँचेको फोटो, भिडियो र अक्षरका माध्यमबाट । लाग्दैथियो- वामदेव जनमतको होइन मनमतको हितमा र सम्मानमा काम गर्दैछन् । त्यसैले त उनलाई जसले जे भने पनि कुनै पर्वाह छैन ।
- मध्यरातमा वामदेवलाई हुने ऐंठन प्रधानमन्त्री पद हो र ?
वामदेव कुनै बुद्ध, महावीर, गान्धी वा मण्डेला होइनन् । त्यसैले उनमा प्रधानमन्त्रीको पदवी भिर्ने उत्कट इच्छा थियो, कारण उनका सबै साथीहरू प्रधानमन्त्री भइसके, आफू चाहिं नभइकन मरिन्छ कि क्या हो ? पछिल्लो समयमा वामदेवलाई निद्रामा पनि ऐंठन हुने विषय यही हो ।
२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा पराजय भएपछि उनी घाइते बाघ जस्तो भएका थिए । जसले जे भन्छ, त्यहीं झम्टिहाल्ने अनि सहमति जनाइहाल्ने । कारण एक मात्रै थियो- उनी सरकारमा सामेल हुनु । त्यसैले त कहिले डोल्पा, कहिले कास्की, कहिले प्युठान त कहिले काठमाडौं ।
उनको सरकार भित्र छिर्न खोज्ने चाहनाले कम्युनिष्ट आन्दोलन र योद्धाहरूमा एक खालको दाग लगाएको छ । अब चियापसलहरूमा पनि कुरा उठ्ने छ कम्युनिष्टहरूका कुनै पनि व्यक्ति पद, पैसा र शक्ति बाहिर बस्न सक्दैनन् । त्यसैले एमाले विभाजनका लागि भएको खेलमा वामदेव नलागेको भए उनको प्रतिष्ठा अझ माथि पुग्नेथियो । त्यसो त पछिल्लो समयमा म माधव नेपालतिर र म केपीतिर भनेर पुनः सरकारको मह चाट्ने दाउमा आफ्नो प्रतिष्ठा सौदाबाजी नगरेको भए जाती नै हुनेथियो । यदि उनी विश्लेषकहरूले भने झैं पींध भएको अवस्थामा रहन सकेको भए के थाहा, नेकपा आज जस्तो तीन चिरामा हुने थिएन कि ?
यसै पनि वामदेव तीनपटक उपप्रधानमन्त्री भई उपप्रधानमन्त्रीमा ‘हृयाटि्रक’ गरिसकेको मान्छेले जीवनमा एकपटक प्रधानमन्त्री हुने इच्छा राख्नु अस्वाभाविक हुँदैन । आˆना सबै आन्दोलन गरेका र एउटै दलका समकालीनहरू केपी ओलीे, माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई प्रधानमन्त्री हुने, वामदेव किन नहुने ? मानवीय मनोविज्ञान, लोभ, महत्वाकांक्षा उत्पन्न हुनु स्वाभाविकै थियो । तर उनीमा थियो जनमतको अविश्वास । जनमतको कदर गर्ने र लोभ, मोह, क्रोध भावहरूमाथि महामानवहरूले मात्र विजय प्राप्त गर्न सक्दछन्, सामान्य राजनीतिकर्मीको आँखा अगाडि नाँच्ने भनेको पदको लोभ नै हो ।
उमेर सँगसँगै राजनीतिबाट डाँडामाथिको घाम बनेका वामदेवको लागि यो समय तमाम जनआक्रोशलाई मत्थर पार्दै वास्तविक जननेतामा परिणत हुने सुनौलो अवसर पनि थियो विधि र पद्धतिका लागि । उनको लागि यो अवसर अग्निकुण्ड हो आफ्नो जनभावना प्रमाणित गर्ने । त्यसैले आजका दिनसम्म जसले जसरी वामदेव गौतमको व्याख्या गरे पनि सच्चा कार्यकर्ता र एउटै थर/गोत्र भएका कारण सच्चा राजनीतिज्ञ महामानव वामदेव गौतमको चेलो/भाइ/भतिज भन्दा गर्व लाग्ने बनिदिनुस् ।