Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तीज गीतमा छैन उत्साह, कलाकार भन्छन् : निरन्तरताका लागि मात्र


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १४ २०७८
  • 3.9K
    SHARES

काठमाडौं । निषेधाज्ञाको समयमा गायक पशुपति शर्मा गृहजिल्ला स्याङ्जामा थिए । अघिल्लो सातासम्म यो वर्ष तीजको गीत गाउन पाइन्छ कि पाइँदैन भन्ने अन्योल थियो उनमा । असार ७ गतेदेखि निषेधाज्ञा खुकुलो भएसँगै भने उनी काठमाडौं फर्किएर गीत रेकर्डिङमा सक्रिय भए । तीनवटा तीज गीत रेकर्डिङ भएका छन्’ उनले जन न्युज नेपाल खबरसँग भने, ‘अब ती गीतको भिडियो छायांकन गर्ने तयारीमा छु ।’ पशुपति तीजका अरु गीत पनि बजारमा ल्याउने तयारीमा छन् ।

गायिका राधिका हमालले यसवर्षको तीजका लागि आधा दर्जन भन्दा बढी गीत रेकर्ड गराइसकेकी छिन् । त्यसमध्ये केही गीतको भिडियोसमेत छायांकन भइसकेको छ । अन्य गीतको छायांकन हुने तयारी छ भने केही गीतहरु रेकर्डिङको क्रममा छन् । जसमध्ये कोरोना महामारीसँग सम्बन्धित गीत ‘मरिन्छ कि साइँलो’ मंगलबार विहान सार्वजनिक हुँदैछ । उनले जन न्युज नेपाल खबरसँगको टेलिफोन कुराकानीमा भनिन्, ‘निषेधाज्ञा खुकुलो भएसँगै तीज गीतको तयारीले छोएको छ । आज पनि गीत रेकर्डिङ गर्दैछु ।’

गायक खुमन अधिकारीले निषेधाज्ञा खुकुलो भएसँगै आधा दर्जन तीज गीत गाइसकेका छन् । दुईवटा तीज गीतको छायाँकन समेत पूरा गरिसके । अझै दुईवटा गीत रेकर्डिङ गराउने तयारी रहेको उनले सुनाए । तीज गीतमा रुचाइएकी गायिका हुन् सुनीता दुलाल । उनले यसवर्ष दुईवटा तीज गीत ल्याउने तयारी रहेको बताइन् ।

‘एउटा गतवर्ष रेकर्डिङ भएको गीत छ । राजेन्द्र थापाको शब्द र राजनराज शिवाकोटीको संगीतमा रहेको त्यो गीत ल्याउँदैछु’ उनले भनिन्, ‘त्यो बाहेक अर्को एउटा मौलिक खालको गीत गाएकी छु ।’

लोकगायक खेम सेञ्चुरीले भने निषेधाज्ञा खुकुलो भएसँगै आधा दर्जन तीज गीतको रेकर्डिङ र छायाँकन समेत सकिसकेका छन् । उनका अझै केही तीज गीत रेकर्डिङ र छायाँकनको क्रममा छन् । गतवर्ष उनका ‘सोचेझै जिन्दगी रैन‘छ’, ‘लरिलरिलै’ जस्ता तीज गीत निकै रुचाइएका थिए । यसवर्ष ती गीतको ‘भाग २’ ल्याउँदैछन् उनी ।

‘माहोल विगतको जस्तै भएकाले यसवर्ष गतवर्षकै केही गीतको ‘भाग २’ ल्याउन लागेको हुँ । ती गीत ल्याउन स्रोता एवं दर्शकहरुको पनि आग्रह थियो’ उनले जन न्युज नेपाल खबरसँग भने, ‘तीबाहेक पनि समसामयिक, रमाइला एवं तीजको मौलिकतासँग जोडिएका केही गीतहरु पनि आउँदैछन् ।’

निषेधाज्ञा खुकुलो भएसँगै गायक दुर्गेश थापा पनि तीज गीतको तयारीमा लागेका छन् । गत वर्ष तीजमा ‘बीच्चबीच्चमा २’ र ‘बीच्च बीच्चमा ३’ गीत ल्याएका उनी यसवर्ष ‘बीच्च बीच्चमा ४ र ५’ ल्याउने तयारी गरिरहेका छन् । त्यस्तै गतवर्षकै ‘एउटा फोटो खिच’ बोलको गीतको फिमेल भर्सन ल्याउने तयारीमा छन् उनी ।

‘अहिले स्टुडियोमा छु’ दुर्गेशले सुनाए ‘एउटा फोटो खिचको फिमेल भर्सन समीक्षा अधिकारी र अस्मिता अधिकारीले गाउँदै हुनुहुन्छ ।’ ‘बीच्चबीच्चमा ४ र ५’ पनि रेकर्डिङको तयारीमा रहेको दुर्गेशले सुनाए । म्युजिक भिडियो निर्देशक प्रकाश भट्टलाई हिजोआज फुर्सद मिलेको छैन् ।

निषेधाज्ञा खुकुलो भएसँगै उनले ८ वटा तीज गीतको निर्देशन गरिसकेका छन् । ‘आज ९ औं तीज गीत निर्देशन गर्दैछु’ छायाँकनकै काममा रहेका भट्टले टेलिफोनमा भने । उनीसँग निर्देशन गर्नुपर्ने तीज गीतको केही सेड्युल पनि छन् ।

तीज गीतको भिडियोमा ब्यस्त मोडलमध्येमा पर्छिन् करिष्मा ढकाल । उनले यसवर्ष एउटा तीज गीतको भिडियोमा काम गरिसकेकी छिन् । झण्डै एक दर्जन तीज गीतको भिडियोमा काम गर्ने तयारी रहेको छ । ‘भोलिदेखि सुटिङको सेड्यूल छ’ उनले सुनाइन् । निषेधाज्ञा खुकुलो भएसँगै लोकदोहोरी क्षेत्रका थुप्रै कलाकारहरु तीज गीतको काममा व्यस्त बनिरहेका छन् ।

  • गायक–गायिका भन्छन् : निरन्तरताका लागि मात्रै

हिन्दु नेपाली महिलाहरुको ठूलो पर्वका रुपमा तीजलाई लिन्छन् । यता, लोकदोहोरीसँग सम्बन्धित कलाकारको लागि तीज विशेष अवसर मानिन्छ । त्यसैले तीज आउन तीन-चार महिनाअगाडीदेखि कलाकारहरु गीतको तयारीमा लाग्थे । र, साउनदेखि त उनीहरुलाई देश–विदेशमा हुने तीज विशेष कार्यक्रममा भ्याइनभ्याइ हुन्थ्यो । तर, कोरोना महामारीयता देश–विदेशका स्टेज कार्यक्रम ठप्प रहे । त्यसैले कलाकारहरुमा उत्साह भने देखिएको छैन ।

गतवर्ष पनि धेरै कलाकारहरुले स्रोता-दर्शकको माग एवं निरन्तरताका लागि तीज गीत सार्वजनिक गरेका थिए । यसवर्षको माहोल पनि त्यस्तै छ । यसवर्ष पनि स्रोता एवं दर्शकको माग र निरन्तरताको लागि तीज गीत गाइरहेको गायक–गायिकाहरु बताउँछन् ।

सामान्य अवस्थामा गायक पशुपति शर्माका दर्जन बढी तीज गीत आउँथे । गतवर्ष उनका ३ वटामात्र तीज गीत सार्वजनिक भए । यसवर्ष पनि धेरै गीत नहुने उनी बताउँछन् । ‘कोरोनाका कारण मानिसहरु पीडामा छन् । त्यसैले पहिलेको जस्तो जोश-जाँगर छैन’ उनले भने, ‘गतवर्ष पनि निरन्तरताका लागि तीज गीत ल्याएको थिएँ । यसवर्ष पनि निरन्तरताकै लागि तीज गीत ल्याउने तयारी गरेको हुँ ।’ उनी राम्रा गीतहरु बजारमा ल्याउने प्रयासमा रहेको बताए ।

पशुपतिजस्तै गायक खुमन पनि आफूमा उत्साह नभएको बताउँछन् । उनी पनि स्रोता दर्शकको आग्रह र निरन्तरताका लागि तीज गीत ल्याउने तयारी गरेको बताउँछन् । कुनैबेला खुमनले २८ वटासम्म तीज गीत रेकर्डिङ गराएका थिए । गतवर्ष १४ वटा तीज गीत रेकर्डिङ गराएका थिए । यसवर्ष त्यो संख्यामा पनि कमी आउने खुमनले बताए । उनी यसवर्ष स्रोता एवं दर्शकलाई संख्यात्मक रुपमा धेरै भन्दा पनि राम्रा तीज गीत दिऔं भन्नेमा लागेको बताए ।

गायिका सुनीता दुलाल अरुका गीत कमै गाउने गायिका हुन् । उनी हरेक वर्ष आफनै तीज गीत ल्याउँदै आएकी छिन् । उनी तीजमा विदेशकै कार्यक्रममा बढी व्यस्त हुन्थिन् । कोरोनायता भने कार्यक्रम ठप्प छन् । यसवर्ष पनि कार्यक्रम हुने शंभावना छैन् । तरपनि स्रोता दर्शकको माग र निरन्तरताका लागि तीज गीत ल्याउन लागेको सुनीताले बताइन् ।

यता, गायक खेम सेञ्चुरीले यसवर्ष नवोदित गायिकाहरुसँग धेरै गीत गाएका छन् । ‘गायनमा सम्भावना बोकेर आउनु भएकाहरुसँग पनि यसवर्ष धेरै गीत गाएको छु । त्यसकारण पनि संख्यात्मक हिसाबले धेरै हुन सक्छन्’ उनले सुनाए । उनी पनि तीजका राम्रा सिर्जनाहरु ल्याउने प्रयास गरेको बताउँछन् ।

मोडल करिष्मा ढकालले कुनै वर्ष ८० वटासम्म तीज गीतमा काम गरेको अनुभव संगालेकी छिन् । सामान्य अवस्थामा यतिबेला दिनरात छायांकनमा ब्यस्त हुन्थिन् । तर, कोरोनाका कारण गतवर्षदेखि सो क्रम कम भएको छ ।

गतवर्ष करिष्माले एक दर्जन तीज गीतमा काम गरेकी थिइन् । यसवर्ष दुई दर्जन तीज गीतमा काम गर्ने अपेक्षा उनले लिएकी छिन् । ‘सामान्य अवस्थामा त यतिबेलासम्म धेरै भिडियोमा काम गरिसकेकी हुन्थे । तर, कोरोनाका कारण स्टेज कार्यक्रम छैनन् । पहिले स्टेजका लागि पनि धेरै गायक–गायिकाले गीत गाउनुहुन्थ्यो । स्टेज कार्यक्रम नभएपछि लगानीको जोखिम हुने कारण गायक–गायिकाहरु पनि गीत निकाल्न डराइरहनुभएको छ’ उनले भनिन् ।

निर्देशक प्रकाश भट्ट पनि गायक–गायिकाहरु निरन्तरताका लागि तीज गीत गाइरहेको बताउँछन् । यद्यपी उनी गत वर्षभन्दा तीज गीतको संख्यामा धेरै कमी नआउने अनुमान गर्छन् । ‘पहिले–पहिले जस्तो धेरै गीत त नआउलान् । रहर गर्नेहरुले कमै गाउलान्’ भट्टले भने । उनी निषेधाज्ञाका कारण असारसम्म काम हुन नपाएका कारण पनि निषेधाज्ञा खुकुलो भएसँगै धमाधम काम भइरहेको बताउँछन् । उनी कोरोनाको जोखिमका कारण टिम भने सानो बनाएर भिडियो छायांकन गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४