Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रियसभा उपनिर्वाचन : माधव समूहको भोट बादल कि खिमलाललाई ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ३१ २०७८
  • 5.6K
    SHARES

काठमाडौँ । तिक्ततापूर्ण सम्बन्धमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच सहमतिको प्रयत्न अगाडि बढेको छ ।

बिहीबार अध्यक्ष ओली र नेता नेपालबीच लामो सम्वाद भएपछि एमाले मिल्ने बाटोतिर उन्मुख देखिएको छ । प्रतिनिधिसभा सदस्यहरुको सामूहिक राजीनामा दिने तयारीमा रहेका नेपाल समूह एकाएक यूर्टन भएपछि ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । ओली र नेपाल समूहबीच वार्ता अगाडि बढेको छ ।

ओली र नेपालबीचको सम्बन्ध सुधारतर्फ उन्मुख भइरहँदा ६ जेठमा हुने राष्ट्रियसभा उपनिर्वाचनलाई चासोका साथ हेरिएको छ । किनभने, बागमती प्रदेशमा हुने उपनिर्वाचनमा एमालेकै दुई उम्मेदवार चुनावी मैदानमा छन् । अध्यक्ष ओलीले गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाएका छन् भने नेता नेपालका तर्फबाट डा. खिमलाल देवकोटा उम्मेदवार छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षको समर्थन पाएका देवकोटा कलम चिह्नबाट प्रतिस्पर्धामा छन् ।

एमाले विभाजन उन्मुख हुँदा विपक्षी दलहरुको साझा उम्मेदवार बनेका देवकोटा मात्रै होइन, मतदाता पनि अलमलमा परेका छन् । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्छन् । ‘पार्टी एकताको विषयमा केन्द्रमा छलफल जारी छ । एक/दुई दिनमा थप प्रष्टता आउँछ । यही बीचमा उपनिर्वाचनको विषयमा पनि छलफल हुन्छ’, नेता नेपाल निकट बागमती प्रदेशसभा सदस्य अरुण नेपाल भन्छन् ।

उनी डा. देवकोटा आफ्नो उम्मेदवार भएको बताउँछन् । अर्का बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल कसलाई मतदान गर्ने भन्ने निर्णय केन्द्रबाटै आउनुपर्ने बताउँछिन् ।

नेता नेपाल निकट सिग्देल भन्छिन्, ‘केन्द्रमा छलफल गरिरहनुभएको छ । चुनाव आउन केही दिन बाँकी छ । पार्टी विवाद समाधान गर्नेगरी सहमति भए कसलाई भोट दिने भनेर केन्द्रबाटै निर्देशन आउँछ ।’

एमाले अध्यक्ष ओली इतर गठबन्धनबाट उम्मेदवारी दिएका देवकोटाले भने पछाडि नहट्ने अडानमा छन् । ‘निष्ठा र इमान्दारिताको राजनीतिप्रति मेरो गहिरो लगाव छ । राजनीतिक दलहरुले म प्रति गर्नुभएको विश्वास र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु । संविधानप्रदत्त स्थानीय र प्रदेशका अधिकारहरु विना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु । मेरो उम्मेदवारी पनि यही विचारबाट अभिप्रेरित छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

ओली र नेपालबीच सम्बन्ध सुधार उन्मुख हुँदा काँग्रेस, माओवादीलगायत दललाई पनि अप्ठ्यारो परेको छ । किनभने माधव नेपाललाई विश्वास गरेर माओवादीको प्रस्ताव र कांग्रेसको समर्थनमा देवकोटाले उम्मेदवारी दिएका थिए ।

‘देवकोटा माधव नेपाल पक्षको उम्मेदवार हो । हामी, माओवादी र जसपाले समर्थन गरेको छ । अब एमाले पार्टी विवाद मिलाउँदा माधव नेपाल पक्षले जसलाई भोट हाल्छ उसैले चुनाव जित्ने भयो’, कांग्रेसका राष्ट्रिय सभा संसदीय दलका नेता राधेश्याम अधिकारी भन्छन् ।

उपनिर्वाचनमा बागमती प्रदेशका ११० प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी २३८ जनाले मतदान गर्दैछन् ।

के होला लुम्बिनीमा ?

वाग्मतीमा जस्तै लुम्बिनीमा पनि १७ जेठमा राष्ट्रियसभाको उपचुनाव हुँदैछ । उपनिर्वाचनको कार्यतालिका स्वीकृत भएपनि उम्मेदवारी परिसकेको छैन ।

यदि एमाले मिलेमा यहाँ पनि माधव समूहले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने छैनन् । जबकी कांग्रेस, माओवादी, जसपा र माधव समूहले दृगप्रसाद पाण्डेयलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने तय गरिसकेका थिए । एमाले अध्यक्ष ओलीले भने माओवादी केन्द्र छोड्दा पदमुक्त भएका चन्द्रबहादुर खड्कालाई अघि सार्ने सम्भावना छ ।

निर्वाचन आयोगले ७९ प्रदेशसभा सदस्य र २१७ जना स्थानीय तहका प्रमुख/उपप्रमुख मतदाता रहने नामावली सार्वजनिक गरेको छ । लुम्बिनीमा आठ जना प्रदेश सदस्य र स्थानीय तहका एक जनाको पद रिक्त छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४