अक्सिजनको अभावमा कतिपय अस्पतालमा बिरामी छटपटाइरहेको र कतिको ज्यानै जान थालेपछि स्थानीय तह आफैले अक्सिजन प्लान्ट सञ्चालनको तयारी गर्न थालेका हुन् ।
आआफ्नो पालिकाभित्र भएका ठूला प्रकृतिका अस्पतालसँग सहकार्य गरेर स्थानीय तहले अक्सिजन प्लान्ट सञ्चालन गर्न लागेका हुन् । अहिले उपत्यका काठमाडौँ, ललितपुर महानगरपालिका र मध्यपुर थिमी नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएका छन् ।
काठमाडौँ महानगरपालिकाले शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन उत्पादन गर्न थालिसकिएको छ । काठमाडौँ महानगरपालिकाको दुई करोड ७५ लाख रुपियाँ लागतमा अक्सिजन प्लान्टको स्थापना गरिएको महानगरपालिकाले जनाएको छ ।
उक्त अक्सिजन प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमता रहेकोे छ । यसमध्ये गङ्गालालमा दैनिक करिब ९० सिलिन्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिने गरी अक्सिजन प्लान्ट स्थापना गरिएको महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।