Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शिक्षक उदार बन्दा कक्षा १२ को नतिजामा भारी सुधार !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २६ २०७७
  • 6.7K
    SHARES

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले केही दिनअघि कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण फरक मोडालिटीमा लिइएको परीक्षामा विद्यार्थीको नतिजामा भने भारी सुधार देखिएको छ । यसलाई जानकारहरु पढाइको गुणस्तर सुध्रिएर भन्दा पनि उदार शिक्षकले परीक्षण गर्दाको नतिजा हो भन्छन् ।

१२ कक्षाका विद्यार्थीहरूको मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, कागजात र प्रमाणपत्र लिने प्रक्रिया बोर्डले सार्वजनिक गरिसकेको छ । १२ कक्षाका विद्यार्थीहरूको ग्रेड आंशिक रूपमा ११ कक्षामा पाएको ग्रेडको आधारमा मूल्यांकन हुनेछ । त्यस्तै, विद्यालयले गर्ने आन्तरिक मूल्याकंनबाट पनि विद्यार्थीहरूले २० प्रतिशत ग्रेड पाउँछन् ।

धेरै शिक्षाविद्, विद्यार्थी र शिक्षकहरुले भने फेरिएको परीक्षा प्रणालीको मूल्यांकनको स्वच्छतामाथि प्रश्न उठाएका छन् । १२ कक्षाको परीक्षाको नतिजा सार्वजनिक भएसँगै शिक्षाविद्, शिक्षक, विद्यार्थी र परीक्षा बोर्डका अधिकारीहरूले नतिजाको विश्लेषण गरिरहेका छन् । यीमध्ये अधिकांशले मूल्यांकन स्वच्छ रूपमा नभएको बताएका छन् । तर, केहीले भने यो मूल्यांकन सही भएको बताएका छन् ।

क्र.सं. जीपीए कुल विद्यार्थी संख्या (२०२०) कुल विद्यार्थी संख्या (२०१९)
१ ३.६ देखि ४.० ६,९१६ ३,०६७
२ ३.२ देखि ३.६ ३८,४८० १६,२०४
३ २.८ देखि ३.२ ७६,८४१ ३१,०६२
४ २.४ देखि २.८ १०९,३१२ ५६,५०३
५ २.० देखि २.४ ५२,४२७ ८६,२२७
६ १.६ देखि २.० ७,१६४ ६२,६१९
७ १.२ देखि १.६ ३३३ १९,५८५
८ ०.८ देखि १.२ ४ ३,५२४
९ ० देखि ०.८ १८,८३९ १३,३६२
१० कुल ३१०,३१६ २९२,१५३

राम्रो नतिजा, कमजोर मूल्यांकन

विद्यार्थीले पाएको नतिजाको आधारमा हेर्ने हो भने यस वर्ष विद्यार्थीहरूले पाएको नतिजा अघिल्ला वर्षको तुलनामा राम्रो छ । अघिल्लो वर्षको तुलनामा परीक्षा दिने विद्यार्थीको संख्या ६.२१ प्रतिशत बढ्दा ३.६ जीपीएभन्दा धेरै ग्रेड पाउनेको संख्या भने १२५ प्रतिशत बढेको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या पनि १३७ प्रतिशत बढेको छ ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल भन्छन्, ‘परीक्षा सामान्य अवस्थामा हुनेभन्दा निकै ढिला भएकाले विद्यार्थीहरुले पढ्नको लागि धेरै समय पाएकोले नतिजा सुधारिएको हुन सक्छ ।’

त्यस्तै, अभिभावक पनि कोरोना माहामारीमा काममा नगएकाले छोराछोरीलाई पढ्न थप दबाब दिएकोले नतिजामा सुधार आएको हुन सक्ने उती बताउँछन् ।

पूर्व परीक्षा नियन्त्रक सन्तोष अर्याल भने पौडेलसँग सहमत छैनन् । उनका अनुसार नियमित विद्यार्थीको नतिजालाई छुट्टै राख्ने हो भने स्पष्ट रूपमा यो मूल्यांकन सही नभएको उनको बुझाइ छ ।

‘यस वर्ष कम ग्रेड ल्याउने विद्यार्थीहरूको संख्या घटेको छ । अर्कोतर्फ उच्च ग्रेड ल्याउने विद्यार्थीहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ’, अर्यालले भने, ‘व्यापक मात्रामा देखिएको यो परिवर्तनले स्पष्ट रूपमा वास्तविक मूल्यांकन भएको छैन भन्ने देखाउँछ ।’

वरिष्ठ शिक्षाविद् विद्यानाथ कोइराला सैद्धान्तिक रूपमा यस वर्षको १२ को परीक्षा सञ्चालनको लागि बोर्डले ल्याएको नयाँ मोडालिटी सकारात्मक भए पनि प्रयोगात्मक रूपमा भने यो अर्कै बाटोतर्फ गएको बताउँछन् ।

शिक्षाविद् मात्र होइन, विद्यार्थीहरु पनि यो नतिजाप्रति खुसी छैनन् । काठमाडौंको एक विद्यालयबाट १२ उत्तीर्ण गरेका रविन शाही भन्छन्, ‘बोर्डले हाम्रो कापी परीक्षण गरेको भए त्यो मूल्यांकन स्वच्छ हुन्थ्यो किनकी परीक्षकले व्यक्तिगत रूपमा विद्यार्थीलाई चिन्दैनथे ।’

नवलपरासीको नमुना माध्यमिक विद्यालयका चन्दा पौडेललाई ११ को नतिजाबाट ४० प्रतिशत मूल्यांकन हुनाले आफ्नो १२ को ग्रेड खस्किएको जस्तो लागिरहेछ । उनी भन्छिन्, ‘अरू स्कुलका विद्यार्थीहरुले राम्रोसँग पढेर भन्दा पनि चोरेर राम्रो नतिजा ल्याउँदा भने नराम्रो लाग्दोरहेछ ।’ पौडेल शिक्षकले विभेद गर्दा आन्तरिक मूल्यांकनबाट पाइने अंक सबैभन्दा अस्वस्थ बन्न पुगेको बताउँछिन् ।

शिक्षक र विद्यालय उदार

नयाँ परीक्षा प्रणालीले विद्यालयलाई परीक्षा आफ्नै विद्यालयमा लिन पाउने छुट दिएको छ । साथै, उत्तरपुस्तिका पनि सोही विद्यालयका शिक्षकले जाँच्न पाउँछन् । यसअघि विद्यार्थीहरूले अर्कै केन्द्रमा गएर परीक्षा दिनुपर्थ्यो र उत्तरपुस्तिका पनि परीक्षा बोर्डमा पठाइन्थ्यो ।

यसपटक विद्यार्थीहरूको वास्तविक परीक्षाबाट केवल ४० प्रतिशत अंकको मूल्यांकन गरिएको छ । ४० प्रतिशत ग्रेड ११ कक्षाको नतिजा र बाँकी २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा दिइएको छ । आन्तरिक मूल्यांकन पनि आफ्नै विद्यालयका शिक्षकले दिएका छन् ।

काठमाडौंको एक विद्यालयकी शिक्षिका प्राप्ति थापा २० प्रतिशत आन्तरिक मूल्यांकन र आफ्नै विद्यालयमा भएको परीक्षाले विद्यार्थीहरूलाई केही फाइदा भएको बताउँछिन् । उनले विद्यालय र शिक्षकले जारी महामारीलाई ध्यानमा राख्दै विद्यार्थीहरूलाई केही हदसम्म ‘विचार गरेको’ स्वीकार गरिन् ।

परीक्षा बोर्डका अध्यक्ष पौडेलले पनि विद्यार्थीहरुलाई अंक दिने क्रममा शिक्षक र विद्यालय उदार देखिएको आफूले पाएको बताए ।

शिक्षाविद् कोइराला भन्छन्, ‘बोर्डले नै यस्तो भनिसकेको छ भने मैले अरू केही भनिरहन पर्छ जस्तो लाग्दैन । हाम्रा शिक्षकहरू दानी छन् । यो कुरा एसईईको नतिजा र अहिलेको १२ को नतिजाले पनि देखाइसकेको छ ।’ कोइरालाका अनुसार अभिभावक, विद्यार्थी र विद्यालय पनि यो मामलामा जिम्मेवार देखिएका छैनन् । उनीहरू राम्रो ग्रेड चाहन्छन्, राम्रो मूल्यांकन होइन ।

भविष्यको चिन्ता

परीक्षा बोर्डका अध्यक्षको आगामी वर्ष यो प्रणालीले निरन्तरता नपाउन पनि सक्छ भन्ने अभिव्यक्ति नै यो परीक्षा प्रणाली स्वच्छ छैन भन्ने प्रमाण हो ।

‘यो प्रणाली महामारीको कारण उत्पन्न परिस्थितिको कारण यस वर्षको लागि मात्र ल्याइएको हो’, उनले भने, ‘आगामी वर्षको परीक्षा यसअघिको प्रणालीमा नै हुनेछ ।’

अर्याल पनि बोर्डले फरक फरक केन्द्रमा पूरै सय पूर्णङ्कको परीक्षा लिनुपर्ने र कापी जाँच्ने, मूल्यांकन गर्ने र ग्रेड दिने काम पनि आफैं गर्नुपर्ने बताउँछन् । अर्कोतर्फ कोइराला भने विद्यार्थीको स्वच्छ मूल्यांकनको लागि ‘विशिष्टीकृत परीक्षा’ को नयाँ प्रणाली ल्याउनुपर्ने बताउँछन् ।

‘विशिष्टीकृत परीक्षाबाट म आफ्नै परीक्षा लिन सक्छु, तपाइँले पनि मेरो परीक्षा लिन सक्नुहुन्छ’, उनले भने, ‘यो परीक्षामा विद्यार्थीहरुले आफ्नो वास्तविक मूल्यांकन भयो कि भएन भनेर जाँच्न सक्नेछन् र अभिभावकहरूले पनि आफ्ना छोराछोरीको परीक्षाको बारेमा त्यस्तै सोच्नेछन् । त्यसका साथै यसले शिक्षक र विद्यालयलाई धेरै उदार बन्नबाट पनि रोक्नेछ ।’

यसैबीच थापाको भने छुट्टै तर्क छ । उनी भन्छिन्, ‘गृहकार्य, आन्तरिक परीक्षा, अन्य गतिविधिहरू र हाजिरीको आधारमा गरिएको आन्तरिक २० प्रतिशतको मूल्यांकनलाई निरन्तरता दिनुपर्छ । यसले विद्यार्थीहरुलाई वर्षैभरि जिम्मेवार बनाउँछ । बाँकी रहेको ८० प्रतिशत मूल्यांक भने बोर्ड आफैंले गरेको परीक्षाबाट हुनुपर्छ ।’

#कक्षा १२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४