सरकारले इम्बोस्ड नम्बर प्लेट लिन सरकारी सवारीसाधनका लागि विभागमा जाने व्यवस्था मिलाएको छ । निजी चारपाङ्ग्रे सवारीसाधनलाई टेकुस्थित भेहिकल फिटनेस सेन्टर र मोटरसाइकलका लागि गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा जानुपर्ने छ । निजी सवारीसाधनमा इम्बोस्ड लिनेको सङ्ख्या अझै कम रहेको विभागले जनाएको छ । विभागले यसको प्रयोग बढाउन नयाँ दर्ता हुने सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको उहाँले बताउनुभयो ।
प्रगति कम भइरहेमा यो लटसम्म वा यो मितिसम्म लिनुपर्छ भनी अनिवार्य गरिने तयारी भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो मितिसम्म गर्नुैपर्छ भनेर मात्रै धेरैले गर्नेछन् ।” भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले गत साउन १० मा यसको वितरण शुरु गर्नुभएको थियो ।
सरकारले डिजिटल प्रविधिमा गएर स्मार्ट कार्डका रुपमा रहेको सो नम्बर प्लेट देशभरका सबै सवारीसाधनमा वितरण गर्ने योजना बनाएको छ । सवारी धनीले सो नम्बर प्लेटका लागि तोकिएको बैंकमा राजश्व बुझाउनुपर्ने विभागले जनाएको छ । दुईपाङ्ग्रे सवारीसाधनका लागि रु दुई हजार पाँच सय, चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि रु तीन हजार दुई र ठूला सवारीका लागि रु तीन हजार ६०० राजश्व जम्मा गर्नुपर्नेछ ।
सवारीको कर चुक्तासम्बन्धी अद्यावधिक कागजात, नम्बर प्लेटवापतको रकम जम्मा गरेको बैंक भौचर र अनलाइन फाराम भरेको प्रिन्ट गरिएको कागजात तोकिएको कार्यालयमा जम्मा गर्नुपर्ने बताइएको छ ।