काठमाडौँ । रामेछाप र सिन्धुली जिल्ला जोड्ने सुनकोसी र तामाकोसी खोलामा रहेको खुर्काेटको मोटेरेवल पुल बाढीले बगाएको छ । निरन्तरको दुइ दिन सम्म परेको झरीले सुनकोसी नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने खुर्काेटमा रहेको मोटेरेवल पुल शनिवार मध्यान्हको समयमा बगाएको स्थानीय बासीले बताएका छन् ।
यो पुल निर्माण भएपछि रामेछाप र दोलखाका नागरिकलाई राजधानी काठमाडौँ जाने आउने दुरी छोटो भएको थियो । यो पुल बगाएसँगै अब रामेछापका नागरिकहरूलाई सित्खाको बाटो वा दोलखाको चरिकोट हुँदै खाडिचौरको बाटो भएर राजधानी काठमाडौँ आऊ जाऊ गर्नुपर्ने भएको छ ।
यो पुल एसियाली विकास बैङ्कको अनुदानमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाको १७ करोड रुपैयाँ भन्दा बढी लगानीमा आर्थिक वर्ष २०७१ – ०७२ मा अनक, बाइपि तुण्डी जेभीले निर्माण गरेको थियो । यो पुल बनेपछि रामेछाप सदरमुकाम मन्थलीबाट काठमाडौँ जान झन्डै ७५ किलोमिटर दूरी कम भएको थियो ।
आज यो पुल बगाए संगै फेरी यात्रुलाई पहिले झैँ सास्ती हुने भएको छ। अब तत्कालै अर्को ब्यबस्था हुने सम्भावना कम देखिएको छ ।