Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपरथी पाण्डेको जन्ममिति विवादमा छानबिन गर्न अख्तियारको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २३ २०८०
  • 3K
    SHARES

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको उमेर विवादमा छानबिन गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । आयोग स्रोतका अनुसार, सञ्चारमाध्यममा आएका विवरण र आयोगमा समेत उजुरी परेपछि पाण्डेको उमेर विवादमा छानबिन गर्न तीन दिनअघि रक्षा मन्त्रालयलाई पत्राचार गरिएको हो ।

प्रारम्भिक अध्ययनपछि छानबिन गर्न जरुरी देखिएकाले के कसो भएको भनी छानबिन गरेर त्यसको विवरण पठाउनु भनेर मन्त्रालयलाई पत्र लेखिएको छ आयोग स्रोतले भन्यो, ‘रक्षा मन्त्रालयमार्फत जंगीअड्डामा समेत छानबिन अघि बढाउन पत्र पुगिसकेको छ ।

रक्षा मन्त्रालयका स्रोतका अनुसार, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का पनि विवाद आएपछि यसमा छानबिन गरेर मात्र अघि बढ्नुपर्ने पक्षमा छन् । पाण्डेले परीक्षा नियन्त्रण कार्यालयको ढड्डामै केरमेट गरेर झण्डै दुई वर्ष उमेर घटाएको विवरण १६ कात्तिकमा सार्वजनिक गरेको थियो ।

लगत्तै यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो ।

परीक्षा नियन्त्रण कार्यालय स्रोतबाट  प्राप्त गरेको जन्ममितिको मार्क रजिस्टरमा सुरुमा उनको जन्ममिति १२ माघ २०२१ उल्लेख छ । तर, पछि त्यसलाई केरेर २३ मंसिर २०२३ बनाउँदै उमेर घटाइएको छ ।

त्यसअनुसार पाण्डेको जन्ममिति १२ माघ २०२१ कायम हुँदा उनले १ वर्ष ९ महिना अघि अवकाश पाउनुपर्थ्यो । किनकि, उपरथीको अवकाशको उमेरहद ५७ वर्ष छ ।

पाण्डेलाई रथी बढुवामा सिफारिस गर्न जंगीअड्डाले २९ असोजमा सूचना जारी गरेको थियो । सूचना जारी भएको ७ दिनपछि बढुवा सिफारिस सम्बन्धी पत्र रक्षा मन्त्रालय हुँदै मन्त्रिपरिषद्सम्म पुगेर निर्णय हुनुपर्ने थियो ।

यद्यपि, दशैंबिदा र लगत्तै भएको प्रधानसेनापति प्रभुराम शर्माको चीन भ्रमणका कारण सिफारिस अघि बढेको थिएन ।

स्रोतका अनुसार, प्रधानसेनापति शर्मा १६ कात्तिकमा फर्किएलगत्तै उपरथी पाण्डेलाई रथी बढुवामा सिफारिस गर्न पत्र पठाउने तयारी थियो ।

तर, छानबिनविना प्रस्ताव आए फाइल फर्काउने संकेत रक्षा मन्त्रालयले दिएपछि जंगीअड्डा तत्काल सिफारिस पठाउन हच्किएको थियो ।

‘मार्क रजिस्टर’मा केरमेट

पाण्डेले तनहुँको चुँदीस्थित चन्द्रवती माध्यमिक विद्यालयबाट २०३८ सालमा प्रवेशिका परीक्षा दिएका थिए । प्रवेशिका परीक्षा दिँदा उनको जन्ममिति १२ माघ २०२१ उल्लेख थियो ।

तर, त्यो जन्ममितिलाई उनले चार वर्षपछि २५ चैत २०४२ मा सच्याएर जन्ममिति घटाएको परीक्षा नियन्त्रण कार्यालयको विवरणमा देखिन्छ । जबकि, जन्ममितिमा कैफियत भए प्रवेशिका परीक्षा दिएको ६ महिनाभित्र सच्याइसक्नुपर्ने प्रावधान उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७ मा थियो ।

परीक्षा नियन्त्रण कार्यालयको ‘मार्क रजिष्टर’ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भनेका छन्, ‘नियमावली अनुसार जन्ममिति सच्याउनलाई ६ महिनाभित्र दरखास्त दिनुपर्ने व्यवस्था थियो, २०८० सालमा भएको तेस्रो संशोधनपछि अहिले बल्ल यसलाई बढाएर ५ वर्ष पुर्‍याइएको छ ।’

यो प्रावधान पनि ०८० सालपछि परीक्षा दिएका विद्यार्थीहरुको हकमा लागू हुने हो । बोर्ड अध्यक्ष शर्मा थप्छन्, ‘जन्ममिति लगायतको विवरण सच्याउन पनि प्रमुख जिल्ला अधिकारीलाई दरखास्त दिएर त्यहाँबाट प्रमाण हेरेर पठाएपछि मात्र विवरण सच्याउने व्यवस्था छ । जन्ममिति सच्याउनेबारे नियमावलीको नियम ३ उपनियम (२) मा प्रमुख जिल्ला अधिकारीले सम्बन्धित विद्यार्थीसँग भएको प्रमाणसँगै आवश्यकता अनुसार साक्षी सरजमिन समेत बुझेर फैसला गर्ने भनिएको छ ।

त्रिविको विवरणमा पनि देखिन्छ कैफियत

त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रेसन कार्डमा पनि उपरथी पाण्डेको जन्ममिति १२ माघ २०२१ उल्लेख रहेको देखिन्छ । २२ साउन २०७६ मा परीक्षा नियन्त्रण कार्यालय, बल्खुले दिएको रजिष्ट्रेसन कार्डको सक्कल प्रतिको प्रतिलिपिमा उनको जन्ममिति १२ माघ २०२१ रहेको उल्लेख छ ।

भक्तपुरस्थित सुपिङ बहुमुखी क्याम्पस प्रविणता तहको सेसन २०३९÷०४१ को दर्ता किताबमा पनि पाण्डेको जन्ममिति १२ माघ २०२१ देखिन्छ । त्यसबेला उनको ठेगाना काठमाडौं–४, महाराजगञ्ज उल्लेख छ ।

यद्यपि, पाण्डेले २६ वैशाख २०४३ सालमा आफ्नो ‘चारित्रिक प्रमाण पत्रमा ठेगाना फरक पर्न गएको’ भन्दै नागरिकता अनुसार स्थायी ठेगाना सच्याइदिन भन्दै निवेदन दिएको देखिन्छ । त्यसबेला ‘चारित्रिक प्रमाण–पत्र साथै अफिसको रेकर्ड नागरिकताको प्रमाण–पत्र अनुसार मिलाइदिने’ भन्दै तोक आदेश भएको देखिन्छ ।

परीक्षा नियन्त्रण कार्यालयमा रहेको प्रवेशिका परीक्षा सम्बन्धी विवरणमा उनको ठेगाना सतिश्वरा–१, तनहुँ उल्लेख छ । ८३८५२ बी सिम्बोल नम्बर भएका पाण्डेले द्वितीय श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेको देखिन्छ ।

त्यसअनुसार पाण्डेको जन्ममिति १२ माघ २०२१ कायम हुँदा उनले उपरथीको अवकाश उमेर हद ५७ भएकाले १ वर्ष ९ महिना अघि पाउनुथ्र्यो । सैनिक अधिकृतहरुका अनुसार, डेढ वर्षअघि अवकाश दिने कुरा पनि ‘सेफ ल्याण्डिङ’ गराउने विषय मात्र हो ।

‘१२ माघ २०२१ जन्ममिति कायम हुँदा उनले २०४३ सालमा अधिकृत क्याडेटमै भर्ना हुन पाउँथेनन्’, एक सैनिक अधिकृतले भने, ‘किनकि सेनामा अधिकृतमा भर्ना हुन १८ देखि २१ वर्षको समयसीमा छ ।

यस्तै विवादमा मुछिएपछि नेपाल प्रहरीमा महानिरीक्षक बन्ने प्रतिष्पर्धामा रहेका अशोक सिंहले प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाटै १० फागुन २०७९ मा राजीनामा दिएका थिए ।

२०४३ सालमा भर्ना हुनै समस्या हुने भएपछि उपरथी पाण्डेले त्यसबेलै जन्ममिति कीर्ते गरेर जागिर खाएको हुनसक्ने अधिकृतहरु आशंका गर्छन् । त्यसमाथि छानबिन गर्न भन्दै प्रधानसेनापतिको कार्यालय, संसद्को राज्य व्यवस्था तथा सुशासन समिति, रक्षा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत उजुरी परेको छ ।

उजुरीमा उपरथी पाण्डेले जन्ममिति कीर्ते गरेर जागिर खाएको भन्दै नागरिकता र शैक्षिक प्रमाण पत्रमा भएको फरक–फरक जन्ममितिको छानबिन गर्न माग गरिएको छ ।

नागरिकता र शैक्षिक रेकर्डमा फरकफरक जन्ममिति ।

सैनिक अधिकृतहरुका अनुसार, सेनामा विगतमा यस्तो विवाद हुँदा जुन मितिले पहिले अवकाशमा जान्छन्, त्यो कायम गरेर अवकाशमा पठाउने गरिएको थियो ।

गौरवशमशेर राणा, राजेन्द्र क्षेत्री, पूर्णचन्द्र थापा सेना प्रमुख भएका बेलामा तत्कालीन उपरथी जगदिशचन्द्र पोखरेल, देवकुमार सुवेदी, दिपक भारती, तत्कालीन सहायक रथी प्रदीप अधिकारी, रवीन्द्रदास श्रेष्ठ, ज्ञानेन्द्र रायमाझीसहित अन्य कर्णेलहरुलाई यही अनुसार अवकाश दिइएको थियो ।

स्रोतका अनुसार, उपरथी पाण्डेको जन्ममितिका विषयमा पूर्णचन्द्र थापा प्रधानसेनापति भएका बेला पनि प्रश्न उठेको थियो । थापाले जन्ममिति विवादमा परेका थुप्रै जर्नेलहरुमाथि छानबिन गरेर कैफियत देखिएकाहरुलाई अवकाशमा पठाएका थिए ।

तर, उनले छानबिनमा त्यसबेला आफू निकटहरु भने जोगाएको देखिएको एक सैनिक अधिकृतले दाबी गरे ।

‘राजेन्द्र क्षेत्री सेना प्रमुख हुँदा पनि तनहुँका भएकाले उनलाई सहज भयो, पूर्णचन्द्र थापाको पालामा पनि लमजुङ र तनहुँको भेगीय नाता लाग्यो’, ती अधिकृतले भने, ‘तत्कालिन प्रधानसेनापति थापानिकट जर्नेल पवनबहादुर पाँडे लगायतसँग निकट भएका कारण पनि पाण्डे जर्सा’ब छानबिनबाट जोगिएका थिए ।

जंगीअड्डाका उच्च सैनिक अधिकृतहरुका अनुसार, तत्कालीन सेना प्रमुख थापा पाण्डेको जन्ममितिमा भएको कैफियताबारे जानकार थिए । तर, निकटस्थहरुको जोडबलमा पछि चिफ हुने बेला जेसुकै होस् भन्दै उपरथीमा बढुवा गरिएको अधिकृतहरु बताउँछन् ।

सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारी भने उपरथीसम्म आउँदा पाण्डेको जन्ममितिको विषयमा पटकपटक निर्क्यौल भइसकेको दाबी गरेका थिए ।

‘हरेक तहको बढुवामा सैनिक सचिव विभागबाट कागजातको सक्कल प्रमाण–पत्र जाँचपछि मात्र बढुवाको निर्णय हुन्छ, त्यो सबै जाँचेरै उहाँ यो दर्जासम्म आइपुग्नुभएको हो’, भण्डारीले भनेका थिए, ‘त्यसमाथि यो विषय पहिल्यै सम्बन्धित शिक्षण संस्थाबाट यकिन गरिसकेको कुरा हो, अहिले आएर निस्किएको कुरा होइन ।

विवादित उपरथी

उपरथी पाण्डे जन्ममिति विवादमा मात्र नभइ, कूटनीतिक आचरण विपरीत कार्य गरेको विषयमा पनि आलोचित छन् । एक पूर्वउच्च सैनिक अधिकृतका अनुसार, उनले गएको जेठ अन्तिम साता संयुक्त राष्ट्रसंघको एउटा कार्यक्रमपछि रात्रिभोजमा गरेको हर्कतलाई लिएर गम्भीर प्रश्न उठेको थियो ।

‘अन्य अधिकृतहरु भए कोर्ट मार्सल भइसक्नुपर्थ्यो, तर जंगीअड्डाले उनलाई साथ दियो’, ती अधिकृतले भने, ‘नभए उनको व्यवहार देशकै प्रतिष्ठामाथि प्रश्न उठ्ने खालको थियो ।’

स्रोतका अनुसार, त्यसबेला काठमाडौंको होटल सोल्टीमा आयोजित रात्रीभोजमा उपरथी पाण्डे नेपालस्थित भारतीय दूतावासमा कार्यरत सैनिक सहचारी अमित शर्मासँग अशिष्ट रुपमा प्रस्तुत भएका थिए ।

नेपालीस्थित भारतीय दूतावासका ‘डिफेन्स विङ’का कर्णल शर्मालाई उनले दुर्व्यवहार गरेको कार्यक्रममा सहभागीहरु बताउँछन् ।

भारतीय सेनाप्रति लक्षित गर्दै उनले अपमानजनक टिप्पणी समेत गरेको सैनिक स्रोत बताउँछ । विवादास्पद पृष्ठभूमि र जन्ममितिमा स्पष्ट कैफियत देखिएका कारण छानबिन गरेर मात्र उनलाई बढुवाका लागि सिफारिस गर्नुपर्ने माग उठिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४