Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गाउँघरबाट लोप हुँदै पानीघट्ट


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन १९ २०८०
  • 3.6K
    SHARES

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङकी देउकुमारी तामाङलाई पानीघट्टमा पिसेको पिठोको ढिँडो खान औधी मन पर्छ । घरमा खानका लागि उहाँले कोदोको पिठो सधैँ घट्टमै पिस्छिन्। उनी मात्र नभएर सिदिङ गाउँका अधिकांश कोदो पिसाउन घट्टमै धाउँछिन् । पछिल्लो समयमा पानी नपुग्ने तथा भएका घट्टको संरक्षण नहुँदा देउकुमारी चिन्तामा छिन् ।

आफूले थाहा पाउने समयमा गाउँमै तीन घट्ट भएकामा अहिले एउटा मात्र चालु अवस्थामा रहेको उहाँले सम्झनुभयो । ‘पहिले गाउँले सबैले घट्ट प्रयोग गर्थे । अहिले मिल आएको छ । त्यसले गर्दा यसको महत्व घट्दै गएको छ’, देउकुमारीले भने, ‘हाम्रै गाउँमा पनि तीन घट्ट थियो । अहिले एउटा भत्किसक्यो । अर्को चल्दैन । अब एउटा बाँकी छ । यो पनि कहिलेबाट नचल्ने हुन्छ ।

सिदिङकी सरस्वती अधिकारीको परिवारले अझैसम्म पानीघट्ट सञ्चालन गरेका छन् । परिवारको प्रमुख आयस्रोत पानीघट्टबाट हुने आम्दानी रहेको उनले बताइन् । ‘गाउँमा जग्गा/जमिन धेरै हुनेले खेती गर्छन्, हामीले घट्ट चलाउँछौँ’, अधिकारीले भनिन्, ‘प्रतिपाथी पिसेको अन्नको ज्यालाबापत तीन पाथीको दुई माना अन्न राख्छौँ, यसैबाट हाम्रो परिवार धानेका छौँ ।’

परम्परागत रुपमा अन्न पिसानीका लागि घट्ट, जाँतो, ओखल तथा ढिकी प्रयोग हुने गर्थ्यो। पुर्खाले प्रयोग गरेको पानीघट्टले पिसेको पिठो स्वादिलो हुने र पौष्टिक तत्व खेर नजाने भएकाले आफूहरुले पनि यसलाई निरन्तरता दिएको उनको भनाइ थियो ।

प्रविधिको विकाससँगै बिजुलीबाट चल्ने मिलमा पिस्न छिटो हुने भएकाले पानीघट्टप्रतिको आकर्षण घटेको उनले बताइन् ।   विकास र प्रविधिको पहुँचसँगै संरक्षणमा चासो नदिँदा कास्कीका ग्रामीण भेगबाट रैथाने सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका पानीघट्ट लोप हुने अवस्थामा पुगेका छन् ।

कतिपय ग्रामिण भेगमा घट्ट लोप भइसकेको बताउँदै घट्ट सञ्चालिका अधिकारीले यसको संरक्षणका लागि सरकारी पक्षबाट योजना बनाउनुपर्नेमा जोड दिइन् । पछिल्लो समय आफूले आयस्रोतका लागि भन्दा पनि रैथानै सीप र प्रविधि जगेर्ना गर्ने उद्देश्यले घट्ट चलाइरहेको उनले बताइन् ।

यो सञ्चालनका क्रममा धेरै समस्या भोग्नुपरेकाले यसको संरक्षण गरी निरन्तरताका लागि सरकारले सहयोग गरिदिए आभारी हुने उनको भनाइ थियो ।

‘हाम्रो गाउँमा भएका तीन घट्टमध्ये अहिले हामीले मात्र चलाएका छौँ । यसमा पनि कहिले पानी पुग्दैन । काठको मदानी छ बेलाबेलामा भाँच्चिन्छ’, अधिकारीले भनिन्, ‘पानीका लागि पाइप अनि फलामको मदानी पाइन्छ कि भनेर वडामा भनेका छौँ । फलामको मदानी किन्न अनुदान पाइन्छ कि भन्ने आशा छ तर अहिलेसम्म पाएका छैनौँ ।’

अघिल्लो जनप्रतिनिधिका समयमा अनुदानका लागि वडामा गएको भन्दै पनि नयाँ जनप्रतिनिधि आएपछि नगएको उनले सुनाइन् । पानीघट्ट भावी पुस्ताको जानकारीका लागि पनि संरक्षण गर्नु आवश्यक रहेको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर अधिकारीले बताए ।

उनले घट्ट सञ्चालकलाई आवश्यक अनुदानको व्यवस्था गरेर रैथाने सीपको संरक्षण गर्नुपर्नेमा जोड दिए । वडाभित्र रहेका घट्ट सञ्चालनका लागि पानीको स्रोत सुनिश्चितता गर्ने योजना रहेको उहाँले जानकारी दिए ।

वडाले फलामको मदानी दिने योजना बनाइरहेको भन्दै पानीको स्रोत, फलामको मदानीलगायत आवश्यक सामग्रीका लागि सहयोग गरिने वडाध्यक्ष अधिकारीले बताए । ‘हाम्रो वडामा भएका तीन वटै घट्ट सञ्चालनमा ल्याउनका लागि पानीको सुनिश्चितता गर्ने योजना बनाएका छौँ’, उनले भने, ‘हिउँदमा पनि चलाउन सकुन् भनेर पानीका लागि पाइपको व्यवस्था गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४